२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पक्की सडकले सुगम बन्दै खजुराका ग्रामीण बस्ती



अ+ अ-

राँझा । पक्की सडक निर्माणसँगै जिल्लाको खजुरा गाउँपालिकाका ग्रामीण बस्ती सुगम बन्दै गएका छन् । खजुरा–१ मा भारतीय सीमाक्षेत्रसँगै जोडिएको जलपोखरी, सैनिकलगायत राधापुरका बस्तीसम्म पक्की सडक निर्माण भएका छन् ।

परसपुर–गौघाट सडकको विकल्पमा लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको बेलभार–राधापुर हुँदै सीतापुरसम्मको पक्की सडकले खजुरा–१ क्षेत्रको स्वरुप परिवर्तन भएको स्थानीय भीम ओलीले बताउनुभयो ।

“पहिला कच्ची बाटो हुँदा आवतजावतमा कठिनाइ हुने गथ्र्यो, अहिले पक्की सडकले यहाँका गाउँबस्ती पनि सुगम हुँदै गएका छन्”, ओलीले भन्नुभयो, “गौघाट–परसपुर मुख्य सडकअन्तर्गतको किरणनाला पुल भत्किएपछि अहिले यस क्षेत्रका सबैजसो सैनिक–बेलभार सडकबाट आवतजावत गर्ने गरेका छन् ।”

गाउँमा पक्की सडक बनेपछि अहिले चहलपहल बढेको स्थानीय न्याउलीडाँडा निवासी अञ्जली सुनारले बताउनुभयो । निर्माणाधीन परसपुर–गौघाट सडक अलपत्र परेपछि अहिले खजुरालगायत बर्दियाको जमुनी क्षेत्रमा जाने सर्वसाधारणले यही सडक प्रयोग गर्न थालेका छन् । पक्की सडक बनेपछि राधापुरबाट आधा घण्टामा सदरमुकाम नेपालगञ्ज पुग्न सकिने उहाँले उल्लेख गर्नुभयो ।

“राधापुर क्षेत्रका दुर्गम गाउँबस्तीमा फराकिला सडक बनेर सवारीसाधन गुड्लान भनेर धेरैले सोचेकै थिएनन्, अहिले विकासले गति लिएको छ”, सुनारले भन्नुभयो, “बेलभार–राधापुर पक्की सडक निर्माण भएपछि यससँगै जोडिएका गाउँ बस्ती पनि सुगम भएका छन् ।”

आठ वडा रहेको खजुरा गाउँपालिकाको वडा नं १ भारतीय सीमासँग जोडिएको छ । पक्की सडक निर्माणले राधापुरका गाउँबस्ती सुगम भएका गाउँपालिकाका प्रवक्तासमेत रहनुभएका वडा नं २ का वडाध्यक्ष धनीराम ओलीले बताउनुभयो । खजुरामा पूर्वाधार विकासलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ ।

“यहाँका नागरिकको आवागमन सहजताका लागि सडक तथा पुल निर्माणलाई पहिलो प्राथमिकतामा राखीर काम थालेका छौँ, लगातारको प्रयासले अहिले गाउँपालिकामा पक्की सडक बनिरहेका छन”, गाउँपालिका प्रवक्ता ओलीले भन्नुभयो, “गाउँपालिकाको बजेटले मात्रै पूर्वाधार विकास सम्भव नभएकाले प्रदेश र सङ्घीय सरकारसमक्ष योजना पेस गरेका छौँ ।” चालु आर्थिक वर्षमा पनि निर्माणाधीन पक्की सडकका योजनालाई सम्पन्न गर्ने र केही नयाँ सडक कालोपत्र गर्नेगरी योजना निर्माण भएका उहाँले जानकारी दिनुभयो ।