• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली आवश्यकः स्वास्थ्यमन्त्री पौडेल



काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी रहेको बताउनुभएको छ ।

शनिवार वीर अस्पतालको १३५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वीर अस्पताल भित्रका सबै इकाइहरुको समन्वय हुन आवश्यक रहेको पनि बताउनु भयो । उहाँले व्यवस्थापकीय पक्षमा उल्लेख्य सुधार हुन नसकेको जिकिर गर्दै राम्रोसँग सुधार र समन्वय गर्नसके भइरहेको जनशक्तिबाट नै राम्रो परिणाम दिन सकिने बताउनु भयो । उहाँले खरिद प्रक्रियाका बारेमा उठेका प्रश्नहरु परादर्शी बनाउन आवश्यक रहेको बताउनु भयो । वीर अस्पतालको सबै व्यवहार र कारोबार पारदर्शी हुने व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

उहाँले वीर अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न नसकेको गुनासो आइरहेको भन्दै इमर्जेन्सी सेवा, अप्रेसनका लागि वर्ष दिन कुर्नुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । सेवाग्राहीहरुले सेवा लिँदा सन्तुष्टि प्राप्त नगरेको जनगुनासो आएको भन्दै त्यसमा पनि विशेष ध्यान दिन निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘वीर अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न सकेन भन्ने बाहिर जनगुनासो छ । इमर्जेन्सी राम्रो भएन भन्ने जनगुनासो छ । अप्रेशनका निम्ति एक वर्ष पर्खिनुपर्छ भन्ने जनगुनासो छ । सेवाग्राहीहरुले सेवा लिँदा सन्तुष्टि प्राप्त नगरेको जनगुनासो हामीले बाहिर सुनिरहेका छौँ । ति कति सत्य होलान् र कति असत्य होलान् । तर हामीले ति गुनासाहरुलाई क्रमशः सम्बोधन गर्दै जान सक्नुपर्छ । हामी ति गुनासाका कारणले आवेगमा आएर गरिरहेका छौँ के को प्रश्न ? भन्ने स्थिति छैन ।

हामीले अझ बढी कसरी गर्नसक्छौँ, हामी त्यसको निम्ति प्रयत्नशिल रहनुपर्छ । हामी यहाँ प्रशासनिक, चिकित्सक र प्राविधिकहरु १८ सय जनशक्ति भएको जानकारी प्राप्त गरेको छु । त्यो जनशक्ति पूर्ण हो मैले भन्न खोजेको होइन, तर त्यो जनशक्तिको संख्या सानो होइन । त्यसले मेहनत गर्ने हो भने हामीले ठूलो उपलब्धि दिनसक्छौँ । त्यसैले वीर अस्पताल भित्रका सबै इकाइहरुको समन्वय हुन जरुरी छ । एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी छ । एक अर्काको सम्बन्ध समन्वयात्मक ढंगबाट अगाडि बढाउन जरुरी छ ।

त्यसैले यो एकीकृत संस्था एकीकृत ढंगबाट काममा अघि जान जरुरी छ । हामीले व्यवस्थापकीय पक्षमा जेजे सुधार गर्नुपर्ने हो सबै सुधार गर्न सकिरहेका छैनौँ । व्यवस्थापकीय पक्षमा हामीले सुधार र समन्वय राम्रो गर्ने हो भने यही साधन श्रोतभित्र हामीले राम्रो परिणाम दिनसक्छौँ । कतिपय उठेका प्रश्नलाई हामीले आत्मसाथ गरौँ । खरिद प्रक्रिया पारदर्शी छैन, त्यसलाई छैन भने पारदर्शी बनाऔँ । वीर अस्पतालको सबै व्यवहार र कारोबार पारदर्शी हुने व्यवस्था गरौँ ।’

कार्यक्रममा बोल्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा. भूपेन्द्र बस्नेतले वीर अस्पतालले विशिष्ट र अतिविशिष्ट सेवाहरुमा धेरे केन्द्रित गरिरहेको बताउनु भयो । उहाँले वीर अस्पताल अति नै विशिष्टिकृत अस्पताल बनाउने गरी काम गरिरहेको बताउनु भयो । उहाँले बिरामीले सहज र गुणस्तरीय सेवा प्रदान गर्नेकुरामा केन्द्रित भइ काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विशिष्ट र अतिविशिष्ट सेवाहरुमा धेरे केन्द्रित गरेका छौँ । यो वीर अस्पताल अति नै विशिष्टिकृत अस्पताल बनोस् । जसमा बिरामीले आउँदा सहज र गुणस्तरीय सेवा पाउन सकुन् । हामीले वीर अस्पतालको स्तरोन्नतिका लागि केही कामहरु गरेका थियौँ । अहिले पनि विभिन्न चरणमा अघि बढेका छौँ । खासगरी हाम्रा केही समस्या छन् । जसलाई केही समयमै हल गर्न काम गरिरहेका छौँ ।

हाम्रोमा इमर्जेन्सीमा आउने बिरामीहरुलाई समस्या छ, हामी त्यो सेवालाई सय बेडको स्तरोन्नति गर्न यस वर्ष बजेट राखेका छौँ । जुन काम हामी डिजाइन भइसकेको छ । हामी टेण्डरको प्रक्रियामा छौँ । चाँडै अघि बढाउँछौँ । आइसियुको एक सय बेडमा लैजाने गरी हामीसँग क्षमता छ, त्यसलाई चाँडै पूरा गर्छौं । हामीले योग्यता÷क्षमताको आधारमा सय जना नर्स राखेका छौँ ।’

उहाँले इमर्जेन्सी सेवालाई सय शैय्यामा बिस्तार गर्न लागेको र टेण्डर प्रक्रियामा जान लागेको पनि बताउनु भयो । उहाँले हालैमात्र योग्यता÷क्षमताको आधारमा सय जना नर्स राखेको पनि बताउनु भयो ।