७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

अयोध्याधाम गुरुयोजनासहित डीपीआर तयार



अ+ अ-

माडी। चितवनको माडीमा अयोध्याधाम निर्माण गर्न गुरुयोजना सहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । डेकोर स्टुडियो प्रालिले अयोध्याधामको गुरुयोजना सहितको डीपीआर बनाएको सो संस्थाका निर्देशक मनोज गुप्ताले जानकारी दिनुभयो । “प्रधानमन्त्री कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र माडी नगरपालिकाको समन्वयमा गुरुयोजना सहितको डीपीआर तयार गरिएको हो”, उहाँले भन्नुभयो ।

त्यहाँ निर्माण हुने मन्दिरहरूको नक्सासमेत बनाइएको उहाँले जानकारी दिनुभयो । अयोध्याधामको गुरुयोजनाअनुसार काम सम्पन्न गर्न दुई अर्ब ५० करोड रुपियाँदेखि तीन अर्ब रुपियाँसम्म खर्च लाग्ने प्रक्षेपण गुरुयोजनामा छ । गुरुयोजनाअनुसार काम सम्पन्न भए दुईदेखि तीन वर्ष लाग्ने बताइएको छ । भगवान् श्रीरामको भव्य मन्दिर निर्माणका साथै राजा दशरथले राज्य सञ्चालन गरेको दरबार, धर्मशाला, घोडसार, उद्यान तथा आधुनिक बसपार्क, विवाह मण्डप, वाल्मीकि आश्रम निर्माण गुरुयोजनामा समेटिएको छ । यस्तै लक्ष्मण वाटिका, अशोक वाटिका, जटायु पार्क, वाल्मीकि आश्रम निर्माणलाई पनि गुरुयोजनामा समेटिएको छ ।

नेपालका चारै धाम पशुपति, वराह, मुक्तिनाथ र रिडीको मन्दिर निर्माणलाई पनि गुरुयोजनामा समावेश गरिएको छ । अयोध्याधामको चरणबद्ध विकास गर्ने योजनाअनुरूप पहिलो चरणमा राम, सीता, लक्ष्मणको मन्दिरसँगै गणेश र भगवतीको मन्दिर निर्माण अगाडि बढाउन प्रस्ताव गरिएको छ । २०७८ सालको रामनवमीका दिन भगवान राम, सीता र लक्ष्मणको मन्दिर अनावरण गर्ने गरी निर्माण योजना अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन रहेको माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले जानकारी दिनुभयो ।
“२०७८ सालको चैतमा पर्ने रामनवमीका दिनमा अनावरण गर्ने गरी भगवान् राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति निर्माण कार्यलाई तीव्रता दिइनेछ”, नगर प्रमुख ढकालले भन्नुभयो ।

अयोध्याधाम निर्माणका लागि माडी नगरपालिकाले एक सय बिघा जग्गा हस्तान्तरण गर्ने निर्णय गरिसकेको छ । यस्तै नगरपालिकाको वडा नं। ८ मा रहेको थप ५० बिघा जग्गा पनि अयोध्याधामलाई उपलब्ध गराउने निर्णय नगरपालिकाले गरिसकेको छ । नगरपालिकाले उपलब्ध गराएको जग्गामै अयोध्याधाम बनाउने प्रक्रिया सुरु गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीका अवसरमा गत असार २९ गते बालुवाटारमा आयोजित कार्यक्रममा भगवान् राम नेपालकै माडीको अयोध्यामा जन्मिएको तथ्य प्रमाण रहेको बताएपछि यस विषयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको छ । त्यसपछि माडीमा अयोध्याधाम निर्माणको पहल तीव्र रूपमा अगाडि बढेको हो । गत साउन २४ गते बालुवाटारमा माडी नगरपालिकाका प्रमुख ढकालसहितको प्रतिनिधिमण्डल सँगको भेटमा प्रधानमन्त्री ओलीले अयोध्याधाम निर्माणको योजना अगाडि बढाउन निर्देशन दिनुभएको थियो । गोरखापत्र दैनिक