• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo
Latest
★   एकीकृत समाजवादीका अध्यक्ष नेपाल स्वदेश फिर्ता ★   गाजा युद्ध १२ औं महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण ★   फराकिलो र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न सकिन्छ : प्रधानमन्त्री ★   नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दो छः अध्यक्ष दाहाल ★   उपल्लो मुस्ताङ पर्यटकका लागि सहज बन्दै ★   सरकारको विरोध गर्नु केही नगरी बहादुरी प्राप्त गर्नु जस्तो भएको छ: केपी ओली ★   काठमाडौं आइपुगे बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी ★   यूएईमा अवैध विदेशीलाई ‘भिसा माफी’: नेपाली कति छन्, कसरी फाइदा लिन सक्छन् ? ★   प्रधानमन्त्रीद्वारा निजामती कर्मचारीलाई पुरस्कार प्रदान ★   यी कर्मचारीले पाए उत्कृष्ट निजामती सेवा पुरस्कार

नर्सरी व्यवसायमा धामी परिवारका तीन दशक



कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ जुडका प्रतापसिंह धामी तीन दशकदेखि नर्सरी व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँका दाजु पानसिंह र भतिज रुपसिंह धामीको पनि छुट्टै नर्सरी छ । उहाँहरूका नर्सरीमा फलफूल, काठ र घर सजावटमा प्रयोग हुने सबै प्रकारका बिरुवा पाइन्छन् ।

तीन जनाले वर्षमा नर्सरी व्यसायबाट रु एक करोडका बोटबिरुवा बिक्री गर्दै आउनुभएको छ । एक जनाले रु ३० लाख देखि रु ५० लाखसम्मका बिरुवा बिक्री गर्नुहुन्छ । उत्पादित बिरुवा बिक्रीबाट एक जनाले रु १० देखि १५ लाखसम्मको आम्दानी गर्दै आएको प्रताप धामी बताउनुहुन्छ ।

एकजना कृषि अधिकृतको सहयोगमा तत्कालीन सुन्दरपुर कृषि तालिम केन्द्रमा तरकारीखेती, बीउबिजन उत्पादन, फलफूलसम्बन्धी एकीकृत १५ दिने तालिम लिएपछि कागतीका बिरुवाको कलमी गरी बिरुवा उत्पादन थालेका उहाँहरूले २०४८ मा नर्सरी व्यवसाय दर्ता गरी व्यावसायिक रूपमा कारोबार प्रारम्भ गर्नुभएको हो ।

कोरोना महामारीअघि नर्सरीबाट उत्पादित बिरुवा वार्षिक रूपमा रु एक करोडका बिक्री हुने गरेका थिए । “दुई वर्ष कोरोना महामारीका कारण व्यवसाय नै चौपट भयो”, प्रतापले भन्नुभयो, “हाल व्यवसायमा गति आएको छ, गत वर्ष रु ५० लाखका बिरुवा बिक्री भए, यस वर्ष रु ५५ लाखका बिरुवा बिक्री भए ।” तीनै जनाको नर्सरीमा दैनिक ज्यालादारीमा चारजनाले रोजगारी पाएका छन् । बिरुवा उत्पादनका २५ जनालाई रोजगारी प्राप्त हुन्छ ।

प्रताप सिंहको डेढ बिघा जग्गामा नर्सरी छ । उहाँ वडाध्यक्षको जिम्मेवारीमा पनि हुनुहुन्छ । साँझ र बिहान कामदारसँगै नर्सरीमा काम गर्नुहुन्छ । यहाँ उत्पादन हुने बिरुवा सुदूरपश्चिमका नौवटै जिल्ला, कर्णाली, लुम्बिनी प्रदेशका विभिन्न जिल्लासँगै निकटवर्ती भारतीय बजारमा बिक्री हुने गरेका छन् । नर्सरीमा आँप, लिची, केरा, एभोकाडो, नरिवल, सुपारी, सपोटा, ल्वाङ, कागती, सुन्तला, अम्बा, कटहर, नासपाती, अनार अमिलोलगायतका फलफूलका बिरुवा उत्पादन हुने गरेका छन् । नर्सरीमा पाँच प्रजातिका लिच्ची र १४ किसिमका आँपका बिरुवा पाइन्छन् । सुपर नेपियर, स्मार्ट नेपियर, बकाइनो, टाँकी, वडहर, भिमल, इपिलइपिल, बडहर, किमु घाँसका साथै बाँस, सिसौ, सिमल, जामुन, टिक, पलोनिया, अगरउड, मलेसियन साल, महागुणी, रुद्राक्ष, रक्तचन्दनका बिरुवा पाइन्छन् ।

नर्सरीमा घर सजावटका बिरुवामा अशोक, बोटलपान, समी, धुपी चाइनापान, इरकापान, एरोकेरिया, पनिस पान, साइकस, निलोना, गुडल, चाँदनी, हेपिकस, हेमेलिया, असारे, लालुपाते गुलाब किन्न गृहिणी आउने गरेका छन् ।