१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

मोबाइल हेर्ने बानी हटाउन बालबालिकालाई सङ्गीत कक्षा

मोबाइल हेर्ने बानी हटाउन बालबालिकालाई सङ्गीत कक्षा
अ अ+ अ-

रामपुर  । अहिले बालबालिकाले मोबाइलमा बढी समय व्यतित गर्न थालेका छन् । उनीहरु समय मिल्नासाथ मोबाइलमा झुम्मिन्छन् । बालबालिका मोबाइलप्रति आकर्षित हुन थालेपछि उनीहरुको बानी ब्रिगन्छ कि भनेर अभिभावक चिन्तित बनेका छन् । आफ्ना बालबच्चालाई मोबाइल हेर्ने बानी कसरी हटाउने भन्ने चिन्ता अभिभावकमा देखिन्छ । धेरैले यो बानी हटाउने उपाय खोजिरहेका छन् । तर, हटाउन भने नसकिरहेको अभिभावकहरु बताउँछन् ।

शैक्षिक क्षेत्रमा रचनात्मक क्रियाकलाप गराउँदै आइरहेको पाल्पा रामपुरको एउटा विद्यालयले भने नयाँ अभ्यास सुरु गरिसकेको छ । बालबालिकालाई मोबाइलमा व्यस्त रहने बानी हटाउन विद्यालयले साङ्गीतिक कक्षाको सुरुवात गरेको छ । रामपुर नगरपालिका–५ स्थित रामपुर आधारभूत विद्यालय अहिले सङ्गीतमय हुन थालेको छ । विद्यालयले सुरुवात गरेको सङ्गीत कक्षाले विद्यार्थी, अभिभावक मात्र नभइ। समुदायका अन्य विद्यालय, सरोकारवालाको ध्यानसमेत तानिरहेको छ । यहाँ बिहानको समयमा सङ्गीत कक्षा चलिरहेको छ । विद्यालय समयमा पढाइ प्रभावित नहोस् भनेर बिहान सङ्गीत कक्षा सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

विद्यार्थी हसिलो मुद्रामा उत्साहित हुँदै सङ्गीत सिकिरहेको दृश्य देख्न सकिन्छ । यो सिकाइले छिमेकी विद्यालय तथा समुदायमा राम्रो प्रभाव पारेको छ । विद्यार्थीलाई घरमा मोबाइल हेर्ने बानी हटाउन, बिदाको दिनमा विद्यार्थीले केही नयाँ कुरा सिकुन भनेर शैक्षिक सत्रको वर्षे बिदा सुरु भएपछि बिहानमा वाद्यवादन सिकाउन थालिएको प्रधानाध्यापक विजय शर्मा बताउनुहुन्छ ।

“घरमा फुर्सदको समय विद्यार्थी मोबाइल, टिभीमा व्यस्त हुने, बिदाको समय सदुपयोग गराउन, मानव जीवनलाई ऊर्जामय बनाउन, विद्यार्थीलाई रचनात्मक कार्य सिकाउन बाद्यवादन कक्षा सुरुवात गरेका हौँ,” उहाँले भन्नुभयो, “बिदाको समय भनेर विद्यार्थीले अनावश्यक समय बिताउन पाइरहेका छैनन्, उनीहरुको समय यतिबेला पढाइ र सङ्गीतमा केन्द्रित बनेको छ, विद्यार्थी सक्रिय भएर बाद्यवादन सिकिरहेका छन्, घरमा मोबाइल हेर्ने बानी कम हुँदै गएको छ” ।

विद्यालयले हार्मोनियम, झ्याली, मादल, झुर्मा, बाँसुरी, मजुरा लगायतका विभिन्न बाद्यवादनका सामग्रीको बन्दोबस्त गरेको छ । बाद्यवादनका सामग्री खरिदका लागि जापानी नागरिक काजुमासा काकीमी (ओकेबाजे) ले रु ५० हजार सहयोग गरेको प्रअ शर्माले बताउनुभयो । ओकेबाजेको सहयोग र विद्यालयको आन्तरिक स्रोतबाट गरी करिब रु एक लाखको बाद्यवादनका सामग्री खरिद गरी सङ्गीत कक्षा थालनी गरिएको उहाँको भनाइ छ । विद्यार्थी तथा अभिभावक, सरोकारवाला निकायले विद्यालय समयमा नै सङ्गीतका लागि छुट्टै कक्षा सञ्चालन गर्न माग आएमा सङ्गीत कक्षा चलाउने प्रअ शर्मा बताउनुहुन्छ ।

सबै विद्यार्थीलाई एकै ठाउँमा राखेर नभइ समूह बनाएर फरक–फरक खालको बाजा बजाउन सिकाउने गरिएको छ । विद्यालयका सङ्गीतद्वय शिक्षक चोलाकान्ती विक र तुल्सी गौतमलाई बाद्यवादन सिकाइको जिम्मेवारी दिएर कक्षा चलाइरहेको छ । बिदाको समयमा हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म सङ्गीत कक्षा सञ्चालन गरिएको छ । बाद्यवादन कार्यमा कक्षा २ देखि ८ सम्मका विद्यार्थी सहभागी छन् । विद्यालयबाट घरमा आएपछि गृहकार्य सकाएर मोबाइल हेर्ने, खेल्ने गरेर समय बिताउने गरेकोमा अहिले विद्यालयले सङ्गीत कक्षा सुरु गरेपछि मोबाइल हेर्ने समय रचनात्मक कार्यमा बिताइरहेको अभिभावक भगवती खनाल बताउनुहुन्छ ।

“बच्चाबच्ची घरमा मोबाइलमै व्यस्त हुने, कति कोसिस गर्दा पनि मोबाइल हेर्ने बानी हटाउन सकिएको थिएन, खाना खाँदा पनि मोबाइल नभइ नहुने बानी बसेको छ, अहिले विद्यालयले बाद्यबादन सिकाउन थालेपछि बच्चाहरु सङ्गीत सिक्नमा आकर्षित भएका छन्, विद्यालयले असाध्यै राम्रो कार्य थालनी गरेको छ” अभिभावक खनालले भन्नुभयो ।

विद्यालयमा आएर मादल, हार्मोनियम लगायतका बाजा बजाउन सिक्दा रमाइलो लागेको कक्षा ६ मा पढ्ने छात्र प्रयास अधिकारीले बताउनुभयो । उहाँले घरमा गृहकार्य सकाएर विद्यालयमा विभिन्न थरीथरिका बाजा बजाउन सिकिरहनुभएको छ । अहिलेको समस्या भनेको बालबालिकालाई मोबाइल हेर्न कसरी छुटाउने भन्ने छ । यो समस्याले अभिभावलाई पिरोलिरहेको हुन्छ । सङ्गीत कक्षाले यो समस्या समाधानमा सहयोग गरेपछि यहाँका अभिभावक खुसी छन् ।

यहाँ सञ्चालन भएको सङ्गीत कक्षा बाद्यबादक भुपराज पौडेलले चलाउनुभएको छ । विद्यालयले यस कार्यलाई निरन्तरता दिँदै जाने जनाएको छ । विद्यार्थीलाई सैद्धान्तिक ज्ञान बाहेक रचनात्मक तथा सीपमूलक कार्यमा जोड दिएर विद्यालय सञ्चालन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद गौतमले बताउनुभयो ।

“कतिपय बाजा तथा गीत, सङ्गीत लोपउन्मुख छन् । लोपउन्मुख कला र संस्कृतिको जगेर्नामा पनि हाम्रो अभियान सहयोगी बन्नेछ” अध्यक्ष गौतमले भन्नुभयो ।