ताइपेई । चीनले ताइवानमा ३९ वटा लडाकु विमानद्वारा घुसपैठ गरेको छ । यो यस वर्ष ताइवानी क्षेत्रमा घुसपैठ गरेको लडाकु विमानहरूको यो सबैभन्दा ठूलो समूह हो।
ताइवानको रक्षा मन्त्रालयले चीनले पठाएको विमानमा २४ ‘जे–१६ लडाकु विमान’ र १० ‘जे–१० विमान’, अन्य सहायक विमान र ‘इलेक्ट्रोनिक’ लडाकु विमान रहेको जनाएको छ।
ताइवानको वायुसेनाले पनि यो गतिविधि पत्ता लागेपछि तुरुन्तै आफ्नो विमान पठायो र वायु रक्षा रडार प्रणाली भएको ‘पिपुल्स लिबरेशन आर्मी’ (चीन)का विमानमा नजर राख्यो।
ताइवान सरकारले विगत डेढ वर्षदेखि नियमितरूपमा यस सम्बन्धमा तथ्याङ्क सार्वजनिक गर्दै आएको छ । उसका अनुसार त्यसयता चिनियाँ पाइलटहरूले लगभग दैनिक ताइवानमा उडान भर्दै आएका छन्। यसअघि गत वर्ष अक्टोबरमा चीनको सबैभन्दा धेरै ५६ विमान ताइवानतर्फ उडेको थियो।
चीनले ताइवानलाई आफ्नो क्षेत्र दाबी गर्दै आएको छ। चीनले ताइवानको लोकतान्त्रिकरूपमा निर्वाचित सरकारलाई मान्यता दिन अस्वीकार गर्दछ।
सन् १९४९ को गृहयुद्धमा ताइवान र चीन छुट्टिएका थिए । चीनले ताइवानलाई अन्तर्राष्ट्रिय सङ्गठनहरूमा सामेल गर्न निरन्तर विरोध गर्दै आएको छ।











