४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुन:निर्माणको पर्खाइमा जाजरकोट दरबार



अ+ अ-

काँक्रेविहार । विसं १८५२ मा निर्माण भएको ऐतिहासिक जाजरकोट दरबार हाल त्रिपालले ढाकिएको अवस्थामा छ । गत कात्तिक १७ गते रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण दरबारमा क्षति पुगेपछि हाल वर्षाबाट जोगाउन त्रिपालको सहारा लिनुपरेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । यो भन्दा पहिले दुई पटक आएको भूकम्पले पनि दरबारमा क्षति पुगेको थियो ।

डिभिजन वन कार्यालय जाजरकोटको सहयोगमा त्रिपालले ढाकिएको प्रजिअ अधिकारीले बताउनुभयो । अत्यन्तै जोखिम भएपछि त्रिपालले ढाकिएको प्रजिअ अधिकारीको भनाइ छ । यसअघिका दुईवटा भूइँचालोले दरबारलाई क्षति पु(याएपछि दुवैपटक पुन:निर्माण गरिएकोे थियो । यस पटक पुन: भूकम्पले पूर्णरुपमा क्षति पु(याएपनि पुन:निर्माण हुन सकेको छैन ।

दरबार पुन:निर्माणका लागि विसं १९९० पछि भक्तपुरका नेवार तत्कालीन इन्जिनियर नाक्चेलाई ल्याएर यसको पुन:निर्माण गरिएको थियो । यो दरबार ऐतिहासिक तथा पुरातात्विक रुपमा महत्वपूर्ण मानिन्छ । यो जाजरकोटको मात्र नभएर कर्णालीको मुख्य पर्यटकीय गन्तव्य हो । दरबारमा क्षति पुगेपछि जिल्ला प्रशासनलगायतका सेवा प्रवाह प्राङ्गणमा सारिएको छ । केही दशकयता जाजरकोट दरबार भनेर चिनिने यो भवनमा प्रशासन कार्यालय रहेको थियो । प्रशासनसँग समन्वय गरेर काम गर्नुपर्ने अरू केही सरकारी कार्यालय यही भवनमा थिए ।

भित्र जोखिम भएपछि नियमित काम गर्न प्राङ्गणमा अस्थायी संरचना बनाइएको छ । ‘सेतो दरबार’ भनेर चिनिने जाजरकोट दरबारले भूकम्प सहेको यो तेस्रोपटक हो । यो पटक दरबार चर्किएको मात्र छ । केही वर्षअघि सरकारद्वारा सूचीकृत एक सय पर्यटकीय गन्तव्यभित्र सेतो दरबार अर्थात् जाजरकोट दरबार पनि समावेश छ । पर्यटकीय गन्तव्यका रूपमा रहेको ऐतिहासिक दरबार भूकम्पले जोखिम निम्त्याएपछि यसको संरक्षणमा चुनौती थपिएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो । “दुईपटक भत्किसकेको दरबार अहिले उस्तै जोखिममा परेको छ, जिल्लाको इतिहास जोगाउन यसलाई जोगाउनैपर्ने हुन्छ,” उहाँले भन्नुभयो, “जाजरकोट राज्य हुँदा जनताको श्रमबाट पुन:निर्माण गरिएको थियो, अब यसरी समयमै पुन:निर्माण गर्न सहज छैन”।

योभन्दा ९० वर्षअघि विसं १९९० माघ २ गते नेपाल र भारत केन्द्रविन्दु भएर गएको आठ म्याग्निच्युडको भूकम्पले जाजरकोट दरबार पूर्ण रूपमा भत्किएको थियो । तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा खलङ्गा क्षेत्रको सबैभन्दा अग्लो भाग छनोट गरेर दरबारको निर्माण गरिएको इतिहास छ । त्यसअघि सोही क्षेत्रमा रातो दरबार थियो । जसलाई विसं १८२५ सालमा राजा हरि शाहले बनाएका थिए । यो दरबारमा पनि अहिले सरकारी कार्यालय छ । यसअघि जिल्ला विकास समिति र कृषि विकास बैंक रहेको रातो दरबारमा अहिले जिल्ला समन्वय समितिको कार्यालय छ ।

रातो दरबार निर्माण गरेको २७ वर्षपछि राजा इन्द्रनारायणले राज्य सञ्चालनका लागि थप भौतिक संरचनाको आवश्यकता ठानेर सेतो दरबार बनाएका थिए । यो दरबार बनाउँदा जाजरकोटी राजाको आदेशमा जनश्रमदान गरिएको थियो । राजाले जनतालाई श्रमदान गर्ने निश्चित दिन तोकिदिएका थिए ।

जाजरकोट दरबारले दोस्रो पटक भूकम्पीय क्षति विसं २०४५ सालमा भोगेको थियो । उदयपुर केन्द्रविन्दु रहेको उक्त भुकम्प छ दशमलव नौ रेक्टर स्केलको थियो । त्यसले दरबारको पश्चिम भाग ९जसलाई पश्चिम नाल भनिन्थ्यो० मा क्षति पुगेको थियो । उक्त क्षतिको विसं २०५१ मा पुन:निर्माण गरिएको थियो ।

जाजरकोट दरबारबाट इन्द्रनारायण पछिका सात राजाले शासन गरेका थिए । यो दरबारबाट शासन चलाउने अन्तिम राजा प्रकाश विक्रम शाह थिए । इन्द्रनारायणभन्दा अघिका जाजरकोटी राजा हरि शाहदेखि गजेन्द्रनारायण शाहसम्मले रातो दरबारबाट शासन चलाएका थिए । राजेन्द्रविक्रम शाहका अनुसार जाजरकोटको राज्य सञ्चालन हुने सेतो दरबार र रातो दरबारमार्फत् २०१७ सालदेखि सरकारी कामकाज हुँदै आएको हो । २०१७ सालमै प्रकाशविक्रम शाहले नेपाल सरकारलाई ६० हजारमा जाजरकोट दरबारको भवन बिक्रि गरेका थिए । त्यसपछि यो सरकारी सम्पत्तिका रूपमा परिणत भएको थियो ।

खलङ्गाको माथिल्लो थाप्लेमा बनेका व्यक्तिको स्वामित्वमा भएका दुईवटा घरलाई पनि स्थानीयले दरबार भन्ने गरेका छन् । ती दुई घरमध्ये एउटा जाजरकोटी राजा जंगबहादुर शाहका छोराहरू समरध्वज शाह, रणध्वज शाह र सुरबहादुर शाहले विसं १९४२ सालमा जाजरकोटी जनताको सहयोगमा बनाएका थिए । अर्को घर जङ्गबहादुरकै छोरा शक्तिवर्द्धन शाह, अमरबहादुर शाह, नरशम्शेर शाह र नरजंग शाहले विसं १९५० सालमा बनाएका हुन् । दरबारकै रूपमा चिनिने यी घर राज्य सञ्चालनका लागि नभइ राजाका भाइछोरा बस्न भनेर दरबारकै स्वरूपमा बनाइएको थियो । राजाका भाइ–छोराहरू धेरै भएर उनीहरूका आवास व्यवस्थापन गर्न ती घरहरू बनेको शाहको भनाई छ ।

यसअघिका दुवै भूकम्पबाट जोगिएका यी दरबार यसपटक भत्किएका छन् । दरबार आसपासमा बनेका पुराना भौतिक संरचना पनि भूकम्पले तहसनहस छन् ।