• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८०: एरिका र रोहित वर्ष खेलाडी- फोटो फिचर ★   हिउँ रहे पो हिमालचुली ! फोटो फिचर ★   रंगीन आकाशको पृष्ठभूमिमा धरहरा ★   भोलिको पुस्ता सम्झिएर वातावरण संरक्षणमा लागौँः परराष्ट्रमन्त्री डा राणा ★   प्रधानन्यायाधीशको सिफारिसका लागि थप छलफल गर्ने संवैधानिक परिषदको निर्णय ★   संसद अवरोध सही छ, जारी रहन्छः माओवादी केन्द्र ★   वार्षिक कार्ययोजना पारित गर्दै एमालेले भन्योः युवा सम्मेलन आयोजना गर्छौं ★   सहकारीको रकम अपचलन गरी विदेश फरार २७ जनाको खोजविन गर्न संसदीय समितिको निर्देशन ★   राष्ट्रपति पौडेलबाट वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान ★   हिन्दु राज्य पुन:स्थापना गर्ने मागसहित र्‍याली

तनहुँको भादगाउँमा एक सातादेखि खानेपानी आपूर्ति बन्द



तनहुँ । जिल्लाको व्यास नगरपालिका–१ स्थित भादगाउँमा खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द भएको छ ।

खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले चौध किलोमिटर दूरीमा रहेको व्यास–१३ खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिराले बगाएपछि पानी आपूर्ति बन्द भएको हो ।

असारको अन्तिम सातादेखिको अविरल वर्षाका कारण गएको बाढीपहिरोले खानेपानीको पाइपमा क्षति पुर्‍याएपछि नियमित पानी वितरण रोकिएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार खानेपानीको मुहानसम्म जाने बाटो पहिरोले बगाएपछि मर्मत गर्न ढिलाइ भएको हो ।

“संस्थाका चार र बाहिरबाट नौजना मिलेर पाइन मर्मतसम्भारको काम गर्दै आइरहेका छन् । कतिपय स्थानमा पाइप बाढीपहिराले पूरै पुरिएका छन्”, व्यवस्थापक श्रेष्ठले भन्नुभयो, “सम्भव भएसम्म पुरिएका पाइप खोजी पुन: प्रयोग गर्ने र क्षति भएका पाइपमा नयाँ जडान गर्ने काम भइरहेको छ ।”

डाँडा माथिबाट खसेको पहिरोले कतिपय पाइप सेतीनदी किनारसम्म बगाएको बताउँदै श्रेष्ठले जिआई र एचडिपी गरी करिब ५० मिटर पाइपमा क्षति पुगेको जानकारी दिनुभयो । नियमित पानी आपूर्ति गर्न मर्मत गर्नाका साथै कतिपय स्थानमा नयाँ पाइप जडान भइरहेको उहाँले बताउनुभयो ।

लामो दूरी, भौगोलिक विकटता, जनशक्ति अभाव, प्रतिकूल मौसमलगायत कारणले काम गर्न कठिनाइ हुँदा केही समय लागेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ । सानाठूला गरी चार आयोजनाबाट पानी सङ्कलन गरी व्यास–१ र १२ का दुई हजार छ सय ८० घरमा खानेपानी आपूर्ति गर्दै आइरहेको थियो ।

खिरखाँदी मुहानको पानीको क्षमता प्रतिसेकेन्ड नौ लिटर रहेकामा पहिरोले अवरुद्ध भएपछि पानी वितरणमा समस्या भइरहेको समितिका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिनुभयो । “छाब्दी मुहान, छाब्दी खोलाका दुई बोरिङ र धुपखोला मुहानका पानी प्रयोग गर्दा प्रतिसेकेन्ड १५ लिटर सङ्कलन हुँदै आएको थियो । अहिले पानी सङ्कलनमा समस्या भएपछि वितरण बन्द भएको हो”, उहाँले भन्नुभयो ।

यसअघि बिहान र बेलुका दुई/दुई घण्टा पानी वितरण हुँदै आएकामा पानीको स्रोत घटेकाले समय पनि घटाइएको अध्यक्ष दरैले बताउनुभयो । “खिरखाँदी मुहानको पानी नियमित सङ्कलन नहुँदासम्म आपूर्तिमा सहज हुने देखिएको छैन”, उहाँले भन्नुभयो । रासस

उक्त मुहानको पानी पूर्ण रुपमा सञ्चालनमा ल्याउन केही समय लाग्ने देखिएकाले फारो गरेर पानी प्रयोग गर्न खानेपानी उपभोक्ता समितिले सबैलाई अनुरोध गरेको छ ।