२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाम्बियाले नेपालको खानी उत्खननमा सहकार्य गर्ने



अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटका क्रममा नेपालका लागि गणतन्त्र जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले नेपालको खानी तथा खनिजजन्य पदार्थ उत्खननमा प्राविधिक सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

उद्योग मन्त्रालयमा आज भएको भेटमा राजदूत चन्दाले नेपाल र जाम्बियाको भौगोलिक बनावट समान रहेको उल्लेख गर्दै दुवै देशबीच खानी तथा खनिज पदार्थ उत्खननका लागि सहकार्य गर्न जाम्बिया सरकार तयार रहेको जानकारी गराउनुभयो ।

मन्त्री भण्डारीले दुवै देश अतिकम विकसित र भू–परिवेष्ठित भएका कारणले दुवै देशका चुनौती र विकासका लक्ष्य समान रहेका जनाउँदै विशेषगरी व्यापार, कृषि, पर्यटन र खानी उद्योगमा दुवै देशको अनुभव आदानप्रदान गर्ने प्रशस्त सम्भावना रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालले खानी अन्वेषणलाई प्राथमिकतामा राखेको तथा जाम्बियामा खानी उद्योगको प्रशस्त सम्भावना रहेको र जाम्बियामा यस क्षेत्रमा थप विकास भएका कारणले नेपालले खानी उद्योगमा जाम्बियासित मिलेर सहयोग आदानप्रदान गर्ने सम्भावना रहेको छ, यसका लागि नेपाल सरकार तत्पर छ ।”

जाम्बियाको अवस्थितिका कारणले अफ्रिकी महादेशमा सम्बन्ध विस्तारका लागि एक महत्वपूर्ण बिन्दु हुनसक्ने मन्त्री भण्डारीको भनाइ थियो । नेपालको बहुआयामिक भूगोल, संस्कृति र सम्भावनाबाट जाम्बियालेसमेत सामाजिक सांस्कृतिक एवं भौगोलिक लाभ प्राप्त गर्नसक्ने उहाँले बताउनुभयो ।

राजदूत चन्दाले जाम्बियामा खानीको उत्खनन वार्षिक कम्तीमा पनि नेपाली रु ६० हजार करोड बराबरको हुने गरेको र जाम्बियामा प्राविधिक जनशक्ति कुशल रहेकाले एकअर्काबीच प्राविधिमा सहकार्य आवश्यक रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा पनि खानी र खनिजको सम्भावना अत्यन्त राम्रो छ, छिट्टै जाम्बिया र नेपालका दुवै सरोकारवाला मन्त्रालयबीच समन्वय गरेर सहयोग आदानप्रदान गर्नुपर्छ ।”

सो क्रममा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले राजदूत चन्दालाई नेपालका खानीबारे जानकारी गराउनुभएको मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिनुभयो । साथै उक्त अवसरमा मन्त्रालयका द्विपक्षीय व्यापार महाशाखा प्रमुख एवं प्रवक्ता बाबुराम अधिकारी र बहुपक्षीय व्यापार महाशाखा प्रमुख देवराज जोशीलगायत सहभागी हुनुहुन्थ्यो । रासस