• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

उपसभामुखलाई पदबाट हटाउन सम्भव छैन: पूर्वसभामुख सापकोटा



file photo

काठमाडौँ । पूर्वसभामुख तथा नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सम्भव नहुने बताउनुभएको छ ।

शुक्रवार पूर्वसभामुख सापकोटाले राजनीतिक उद्देश्यबाट प्रेरित भएर उपसभामुख रानालाई हटाउन खोजिएको बताउनु भयो । उहाँले सत्तारुढ दलहरुले राजनीतिक कारण उपसभामुखलाई हटाउने कुरा उठाएको भन्दै उपसभामुखलाई हटाउन सम्भव नभएको बताउनु भयो । उहाँले सरकार संवैधानिक परिषद्मा अल्पमतमा परेका कारण उपसभामुखलाई हटाउने कुरा उठाइएको बताउनु भयो । उहाँले संवैधानिक परिषद्मा गरिने निर्णयलाई सहज बनाउनका लागि सो एजेण्डा उठाइएको बताउनु भयो ।

उहाँले  भन्नुभयो – ‘उहाँहरुले(सत्तारुढ दलहरुले) राजनीतिक कारणले यो उठाइराख्नुभएको छ । उपसभामुख संवैधानिक परिषद्को सदस्य हुन्छ । अहिले सरकार अल्पमतमा छ । त्यसकारण त्यो उद्देश्यलाई टार्गेट गरेर उहाँले गरेका त्रुटीका आधारमा, त्रुटीमा टेकेर उहाँलाई हटाउन खोजिएको हो । अहिले त अल्पविराम लागेको छ भन्ने मैले सुनेको छु । यो राजनीतिक कुरा हो । उहाँको गल्ती कमजोरी पनि होला । मैले बुझ्न बाँकी छ । तर पनि प्रथम दृष्टिमै विचार गर्दाखेरी त्यो स्तरको उहाँलाई हटाउने नै खालको त्रुटी भएको बुझिदैन । उहाँहरुको जुन हतारो देखिन्छ, त्यो हतारोले संवैधानिक परिषद्मा निर्णय गर्नका लागि सहज बनाउनका लागि यो एजेण्डालाई अगाडी ल्याएको हो । सबैले बुझेका छन्, यो राजनीतिक उद्देश्यबाट प्रेरित छ । त्यसो भएको हुनाले यो सम्भव पनि छैन ।’

पूर्वसभामुख सापकोटाले सभामुख र उपसभामुखले संसदको गरिमा र ओझ राख्नुपर्ने बताउनु भयो । उहाँले सभामुख र उपसभामुखले संसदको गरिमामा आँच आउने काम गर्नु नहुने बताउनु भयो । न्युज एजेन्सी नेपाल