• २७ भाद्र २०८१, बिहीबार
  •      Thu Sep 12 2024
  •   Unicode
Logo
Latest
★   पूर्वी एसियामा लाखौँ मानिस बाढीबाट प्रभावित, २०० भन्दा बढीको मृत्यु ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि ★   रुख काट्ने क्रममा रूखले च्यापेर भिमादमा एक जनाको मृत्यु ★   बागलुङमा बाढीपहिरोमा अठार जनाको मृत्यु, २२ घाइते ★   नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न सुरु ★   सलमानले लगाए २६७ करोडको घडी ★   नेपाल र जापानका कम्पनीबीच सम्झौता: वैदेशिक लगानी उच्च प्राथमिकतामा रहेको मन्त्री भण्डारीको भनाइ ★   कोटिहोमको आय व्यय विवरण सार्वजनिकः आम्दानीभन्दा खर्च बढी भएको हिसाब ★   कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउ ★   विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न प्रधानमन्त्रीको आग्रह

नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा को हुन् ?



काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा आरजु राणा देउवा नेपाली कांग्रेसकी नेत्री हुनुहुन्छ । उहाँ नेपाली कांग्रेसको काठमाडौँमा सम्पन्न १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।

डा राणा कांग्रेस पार्टीका तर्फबाट हाल प्रतिनिधिसभाको सदस्य हुनुहुन्छ । संविधानसभा सदस्यसमेत रहनुभएकी नेत्री डा राणाले प्रतिनिधिसभामा तेस्रोपटक प्रतिनिधित्व गर्दैै हुनुहुन्छ । हाल उहाँ सङ्घीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति हुनुहुन्छ ।

पहिलोपटक मन्त्री बन्नुभएका डा राणा महिला अधिकार र स्वास्थ्यका क्षेत्रमा काम गर्ने एक सक्रिय अधिकारवादी हुन्छ । विशेषगरी महिलाको प्रजनन स्वास्थ्य अधिकार, समान नागरिकताको अधिकार, सम्पत्तिको अधिकार, राज्यका हरेक निकाय तथा राजनीतिमा महिलाको समान एवं समतामूलक प्रतिनिधित्व तथा महिला हिंसाविरुद्धको अभियानलगायत मुद्दामा उहाँले वकालत गर्दै आउनुभएको छ । दक्षिण तथा पूर्वी एसियाका लागि आइयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा दुई कार्यकाल काम गर्नुभएको अनुभव डा राणासँग छ ।

म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल ९म्यान० को पहिलो महिला अध्यक्षका रुपमा निर्वाचित डा राणा गरिबी निवारण कोषको बोर्ड सदस्यसमेत हुनुहन्थ्यो । उहाँले सुरक्षित मातृत्वसम्बन्धी ‘एलाइन्स’ ह्वाइट रिबन एलाइन्सको अध्यक्ष तथा बोर्ड सदस्यका रुपमा सन् २०१० देखि २०१४ सम्म दुई कार्यकाल पूरा गर्नुभएको छ ।

पिता विनोद शमशेर जवरा र माता प्रतिभा राणाको कोखबाट विसं २०१८ माघ १३ गते काठमाडौँमा जन्मिनुभएकी डा राणाले भारतको चन्डीगढस्थित पञ्जाव विश्वविद्यालयबाट सन् १९९० मा संस्थागत मनोविज्ञान विषयमा विद्यावारीधि हासिल गर्नुभएको छ । उहाँले स्नातकोत्तरको अध्ययन पनि सोही विश्वविद्यालयबाट सन् १९८४ मा मनोविज्ञान विषयमा नै सम्पन्न गर्नुभएको हो ।

उहाँले सन् १९९६ मा सेफ मदरहुड नेटवर्क ९सुरक्षित मातृत्व० संस्थाको स्थापना गरी महिलाको प्रजनन तथा समग्र स्वास्थ्य तथा यसका माध्यमबाट महिला अधिकारका विषयमा काम गर्दै आउनुभएको छ । देशव्यापी कार्यसंयन्त्र रहेको सो संस्थासँग नेपालको ७२ जिल्लाका कम्तीमा पनि सात सय ५० गैरसरकारी संस्था आबद्ध छन् । हाल ५२ जिल्लामा शाखा रहेका सो संस्थामा देशभर करिब ५० हजार नागरिक सदस्य छन् ।

त्यसैगरी, उहाँ संस्थापक रही सन् १९९२ मा स्थापना गर्नुभएको ‘साथी’ नामको अर्को गैरसरकारी संस्थामा आबद्ध भई महिला हिंसाविरोधी अभियानमा सक्रिय हुनुहुन्छ । महिलामाथि हुने विभेद तथा विविध प्रकारका हिंसाका विरुद्धमा काम गरी उनीहरुलाई आफ्ना हक अधिकारप्रति जागरुक गराई महिलालाई सशक्तीकरण गर्ने साथी संस्थाको उद्देश्य रहेको छ । यो संस्थाले नेपालको दूरदराजसहित सुगम क्षेत्रका महिलाविरुद्ध हुने हिंसाको अध्ययन गरी निराकरणका लागि राज्यसम्बद्ध निकायसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यस कार्यमा उहाँ आफैँ सक्रिय रही देशका विभिन्न जिल्ला तथा क्षेत्रमा पुगेर महिलाविरुद्धको हिंसा र महिलाको प्रजनन अधिकारबारे अध्ययन गरी महिला अधिकार र महिला सशक्तीकरणका क्षेत्रमा समर्पित हुनुभएको छ ।

उहाँ गुणस्तरीय शिक्षाका पक्षमा वकालत गर्ने सक्रिय राजनीतिकर्मी हुनुहुन्छ । विभिन्न कलेजको संस्थापक तथा अध्यक्ष रही नेपालमा गुणस्तरीय शिक्षा प्रदान गर्ने काममा पनि उहाँको सक्रिय सहभागिता छ । उहाँका कैयौँ अनुसन्धानमूलक प्राज्ञिक लेख र पुस्तक प्रकाशित छन्  ।