७ श्रावण २०८३, बिहीबार
,
Latest
मन्त्री चौधरीसँग जापानी राजदूत मायदाको भेटवार्ता नारायणी यातायात व्यवसायी सङ्घद्वारा मानवसेवा आश्रमलाई ५१ हजार सहयोग माईतीघरमा द्वन्द्वपीडितहरूको गुनासो: ‘सरकार भेट्न पाइएन’ दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतमबुद्ध विमानस्थललाई थप अठार अर्ब ऋण



अ+ अ-

काठमाडौँ । निर्माणको अन्तिम अवस्थामा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि एसियाली विकास बैङ्क (एडीबी)ले थप करिब पौने १८ अर्ब रुपियाँ (१५ करोड डलर) सहुलियतपूर्ण ऋण लगानी गर्ने भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच उक्त ऋण सम्झौतामा हस्ताक्षर भयो । दक्षिण एसियाली उपक्षेत्रीय सहकार्य (सासेक)अन्तर्गतको विमानस्थल क्षमता अभिवृद्धि परियोजनाका लागि उक्त ऋण उपलब्ध गराइने सम्झौतामा उल्लेख छ । सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एडीबीको नेपालका लागि आवासीय इन्चार्ज रुडी लुई हेन्ड्रिकुस भान डेलले हस्ताक्षर गर्नुभयो ।

एडीबीले उपलब्ध गराउने उक्त ऋण उक्त विमानस्थलको दोस्रो चरणको विस्तारको डिजाइन र टर्मिनल भवन निर्माणमा उपयोग हुने सम्झौता छ । त्यस्तै ट्याक्सी वे विस्तार, एप्रोन निर्माणका लागिसमेत ऋण उपलब्ध गराएको एडीबीले जनाएको छ । एडीबीले यसअघि नै विमानस्थलको पहिलो चरणको कामका लागि करिब साढे दुई अर्ब ऋण उपलब्ध गराइसकेको छ । विमानस्थल निर्माणको अहिलेसम्म करिब ९३ प्रतिशत भौतिक प्रगति सम्पन्न भइसकेको छ ।

यस्तै बाढी जोखिम व्यवस्थापनका लागि एडीबीले करिब पौने अर्ब सहुलियतपूर्ण ऋण (चार करोड डलर) र करिब सवा अर्ब (एक करोड डलर) अनुदान पनि उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । बाढीको जोखिम नियन्त्रणका लागि पूर्वाधार निर्माण गर्ने, बाढीको आकलन गर्ने क्षमता बढाउने र बाढीपूर्वको तयारीका लागि उपयोग हुने जनाइएको छ ।
सम्झौतापछि मन्त्रालयका सहसचिव नेपालले यस्ता आयोजनाको कार्यान्वयनले नेपालको हवाई क्षमता बढाउने र बाढी सुरक्षाको पूर्वाधार निर्माण गरेर राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुर्याउने बताउनुभयो । ऋण सम्झौता अबको तीन महिनापछि प्रभावकारी हुनेछ । गोरखापत्र दैनिक