१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा

पुरानै स्वरुपमा फर्कियो ‘गलकोट कोतघर’

पुरानै स्वरुपमा फर्कियो ‘गलकोट कोतघर’
अ अ+ अ-

गलकोट । लामो समयदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बागलुङको ऐतिहासिक गलकोट दरबारलाई पुरानै स्वरुपमा फर्काइएको छ । नेपाली सेनाको आर्थिक तथा श्रमदानबाट जीर्णोद्धार गरी कोतघरलाई पुरानै स्वरुपमा फर्काइएको हो ।

शक्तिशाली राज्य सञ्चालन भएको ऐतिहासिक स्थलको रुपमा रहेको गलकोटको कोतघर नेपाली सेनाको सहयोगमा पुन:निर्माण सम्पन्न गरी गलकोट नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

गलकोट–३ स्थित उक्त कोतघर बाइसेचौबिसे राज्यका पालाको इतिहासका रुपमा रहेको भन्दै सेनाले सामाजिक कार्यअन्तर्गत पुन:निर्माण गरी बिहीबार पालिकालाई हस्तान्तरण गरेको २३ नम्बर बाहिनी अड्डा बागलुङका बाहिनीपति सहायक रथी जगतबहादुर पौडेलले बताउनुभयो ।

नेपाली सेनाको श्रीमेहर गण, घोडाबाँधे बागलुङले दु्रतप्रभाव योजनाअन्तर्गत नागरिकसँग सेनाको भूमिका बढाउनका लागि गलकोटस्थित कोतघर पुन:निर्माण गरी हस्तान्तरण गरिएको उहाँको भनाइ छ ।

सहायक रथी पौडेलले पुन:निर्मित कोतघरलाई गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेलाई हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरणपछि सहायक रथी पौडेलले सेनाले विद्यालय भवन मर्मत, नागरिकमैत्री हेलिप्याड निर्माण, कोतघर जीर्णोद्धारलगायत सामाजिक क्षेत्रमा विभिन्न कार्य गर्दै आएको बताउनुभयो । बाइसेचौबिसे पालाको राज्यशक्ति सञ्चालन र हतियार भण्डारण थलको रुपमा रहेको कोतघरलाई पुरानै स्वरुपमा फर्काइएको उहाँको भनाइ छ ।

लामो समयदेखि कोतघरको जीर्णोद्धार नहुँदा पानी चुहिने, अन्य भौतिक संरचना भत्किन थालेपछि नगरपालिकासँगको समन्वय, सेनाको आर्थिक तथा जनशक्ति व्यवस्थापनमा कोतघरलाई पुरानै मौलिक शैलीमा जीर्णोद्धार सम्पन्न गरिएको नगरप्रमुख गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार पुरानै शैलीमा नयाँ काठको प्रयोग, परम्परागत रुपमा रहेका आँखी झ्याल, खोपेर बनाइएको ढोका र छाना छाइएको छ । गलकोट राज्य सञ्चालन गरिएको दरबारको भग्नावशेष नजिकै रहेको कोतघर विसं २०४० मा पुन:निर्माण गरी ढुङ्गाले छाइएको थियो ।

त्यसयता गलकोट नगरपालिकाले मर्मत सम्भार गर्दै आए पनि भत्काएर पुन:निर्माण भने गर्न सकेको थिएन । “बाहिरबाट रङ्गरोगन गरेर सामान्य मर्मत सम्भार गरेपनि जीर्णोद्धार गर्न नसक्दा भित्रि काठ कुहिँएको रहेछ, ढुङ्गाको छाना चुहिएर कोतघर जीर्ण भनेको थियो । नगरपालिकाले डिपिआर बनाएर कोतघरको पुन:निर्माण गर्ने तथा यस क्षेत्रको विकास गर्ने योजना अघि बढाएको थियो”, नगरप्रमुख गैरेले भन्नुभयो, “नगरपालिकाको योजनामा सेनाले आर्थिक तथा श्रमदान गरी जीर्णोद्धार सम्पन्न गर्दा कोतघर चिटिक्क परेको छ ।”

नगरपालिकाले हातहतियार प्रतिस्थापन, साजसज्जा, घेराबार, पदमार्ग, खानेपानी र शौचालयलगायत संरचना बनाइसकेको छ । सेनाको श्रीमेहर गणले रु नौ लाख आर्थिक तथा रु तीन लाख बराबरको श्रमदानमा जीर्णोद्धार गरी पालिकाको जिम्मा लगाएको प्रमुख सेनानी धनबहादुर रानाले जानकारी दिनुभयो ।

कोतघरको बृहत् जीणोद्धारका लागि नगरपालिकाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० अन्तर्गत पश्चिम पृतनाको बजेटमा कोतघर पुन:निर्माण गरिएको उहाँको भनाइ छ । गत वैशाख २३ गतेदेखि पुन:निर्माण थालेको सेनाले यही असार ७ गते सम्पन्न गरेको थियो । पुन:निर्माणमा सेनाका झण्डै ३० जना जनशक्ति दैनिक रुपमा परिचालन भएपछि छिटो काम सम्पन्न भएको हो ।

ऐतिहासिक र पुरातात्विक महत्व झल्काउने गरी कोतघरको जीर्णोद्धारले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने नगरप्रमुख गैरेले बताउनुभयो । उहाँका अनुसार कोतघरमा टँुडाल, झ्याल तथा ढोका पोखराबाट झिकाएर प्रयोग गरिएकाले थप आर्कषित भएका छन् । ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्नेगरी पालिकाले रु ५० लाख बढीको पूर्वाधार निर्माण गरिसकेको छ ।

उक्त कोतघरबाट दुई सय १३ वर्षसम्म मल्ल राजाले स्वतन्त्र राज्य सञ्चालन गरेका स्थानीयको भनाइ छ । गलकोट राज्यका पहिला राजा जितारी मल्लले कोतघर बनाएको इतिहासमा उल्लेख छ । राजाले दरबार, कोतघर, मन्दिर, पोखरी, कुवा, किल्ला, मोर्चा, पर्खाललगायत संरचना निर्माण गरिएको थियो ।

कोतघरसँगै इष्टदेवी र भगवतीको मन्दिर पनि यहाँ छ । राजाको दरबार, कुवा, किल्ला, सुरक्षा मोर्चा र पर्खाल भने भग्नावशेषमा परिणत भइसकेका छन् । स्थानीयका अनुसार यहाँ झिँगटीले छाएको भूइँतले दरबार थियो । दरबारको जगमा अहिले पनि इँटामा अवशेष भेटिने गरेको छ । साथै विसं २०४० मा कोतघरको पुन:निर्माण गरिएको थियो ।

अहिलेको गलकोट नगरपालिकाको नामसमेत यही कोतबाट निर्माण भएको इतिहास छ । गोलो पहाडको टाकुरामा दरबार निर्माण गरी राज्य सञ्चालन भएकाले यस क्षेत्रको नाम गोलकोत रहन गएको पाइन्छ । उक्त नाम पछि गलकोटका रुपमा प्रचलित हुँदै गएको हो । कोतघरमा अहिले पनि वडादसैँ र चैतेदसैँमा विशेष पूजा गरिन्छ । रासस