• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस , भित्ता भित्तामा तिम्रो नाम होस ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता ★   संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई

पुरानै स्वरुपमा फर्कियो ‘गलकोट कोतघर’



गलकोट । लामो समयदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बागलुङको ऐतिहासिक गलकोट दरबारलाई पुरानै स्वरुपमा फर्काइएको छ । नेपाली सेनाको आर्थिक तथा श्रमदानबाट जीर्णोद्धार गरी कोतघरलाई पुरानै स्वरुपमा फर्काइएको हो ।

शक्तिशाली राज्य सञ्चालन भएको ऐतिहासिक स्थलको रुपमा रहेको गलकोटको कोतघर नेपाली सेनाको सहयोगमा पुन:निर्माण सम्पन्न गरी गलकोट नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

गलकोट–३ स्थित उक्त कोतघर बाइसेचौबिसे राज्यका पालाको इतिहासका रुपमा रहेको भन्दै सेनाले सामाजिक कार्यअन्तर्गत पुन:निर्माण गरी बिहीबार पालिकालाई हस्तान्तरण गरेको २३ नम्बर बाहिनी अड्डा बागलुङका बाहिनीपति सहायक रथी जगतबहादुर पौडेलले बताउनुभयो ।

नेपाली सेनाको श्रीमेहर गण, घोडाबाँधे बागलुङले दु्रतप्रभाव योजनाअन्तर्गत नागरिकसँग सेनाको भूमिका बढाउनका लागि गलकोटस्थित कोतघर पुन:निर्माण गरी हस्तान्तरण गरिएको उहाँको भनाइ छ ।

सहायक रथी पौडेलले पुन:निर्मित कोतघरलाई गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेलाई हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरणपछि सहायक रथी पौडेलले सेनाले विद्यालय भवन मर्मत, नागरिकमैत्री हेलिप्याड निर्माण, कोतघर जीर्णोद्धारलगायत सामाजिक क्षेत्रमा विभिन्न कार्य गर्दै आएको बताउनुभयो । बाइसेचौबिसे पालाको राज्यशक्ति सञ्चालन र हतियार भण्डारण थलको रुपमा रहेको कोतघरलाई पुरानै स्वरुपमा फर्काइएको उहाँको भनाइ छ ।

लामो समयदेखि कोतघरको जीर्णोद्धार नहुँदा पानी चुहिने, अन्य भौतिक संरचना भत्किन थालेपछि नगरपालिकासँगको समन्वय, सेनाको आर्थिक तथा जनशक्ति व्यवस्थापनमा कोतघरलाई पुरानै मौलिक शैलीमा जीर्णोद्धार सम्पन्न गरिएको नगरप्रमुख गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार पुरानै शैलीमा नयाँ काठको प्रयोग, परम्परागत रुपमा रहेका आँखी झ्याल, खोपेर बनाइएको ढोका र छाना छाइएको छ । गलकोट राज्य सञ्चालन गरिएको दरबारको भग्नावशेष नजिकै रहेको कोतघर विसं २०४० मा पुन:निर्माण गरी ढुङ्गाले छाइएको थियो ।

त्यसयता गलकोट नगरपालिकाले मर्मत सम्भार गर्दै आए पनि भत्काएर पुन:निर्माण भने गर्न सकेको थिएन । “बाहिरबाट रङ्गरोगन गरेर सामान्य मर्मत सम्भार गरेपनि जीर्णोद्धार गर्न नसक्दा भित्रि काठ कुहिँएको रहेछ, ढुङ्गाको छाना चुहिएर कोतघर जीर्ण भनेको थियो । नगरपालिकाले डिपिआर बनाएर कोतघरको पुन:निर्माण गर्ने तथा यस क्षेत्रको विकास गर्ने योजना अघि बढाएको थियो”, नगरप्रमुख गैरेले भन्नुभयो, “नगरपालिकाको योजनामा सेनाले आर्थिक तथा श्रमदान गरी जीर्णोद्धार सम्पन्न गर्दा कोतघर चिटिक्क परेको छ ।”

नगरपालिकाले हातहतियार प्रतिस्थापन, साजसज्जा, घेराबार, पदमार्ग, खानेपानी र शौचालयलगायत संरचना बनाइसकेको छ । सेनाको श्रीमेहर गणले रु नौ लाख आर्थिक तथा रु तीन लाख बराबरको श्रमदानमा जीर्णोद्धार गरी पालिकाको जिम्मा लगाएको प्रमुख सेनानी धनबहादुर रानाले जानकारी दिनुभयो ।

कोतघरको बृहत् जीणोद्धारका लागि नगरपालिकाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० अन्तर्गत पश्चिम पृतनाको बजेटमा कोतघर पुन:निर्माण गरिएको उहाँको भनाइ छ । गत वैशाख २३ गतेदेखि पुन:निर्माण थालेको सेनाले यही असार ७ गते सम्पन्न गरेको थियो । पुन:निर्माणमा सेनाका झण्डै ३० जना जनशक्ति दैनिक रुपमा परिचालन भएपछि छिटो काम सम्पन्न भएको हो ।

ऐतिहासिक र पुरातात्विक महत्व झल्काउने गरी कोतघरको जीर्णोद्धारले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने नगरप्रमुख गैरेले बताउनुभयो । उहाँका अनुसार कोतघरमा टँुडाल, झ्याल तथा ढोका पोखराबाट झिकाएर प्रयोग गरिएकाले थप आर्कषित भएका छन् । ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्नेगरी पालिकाले रु ५० लाख बढीको पूर्वाधार निर्माण गरिसकेको छ ।

उक्त कोतघरबाट दुई सय १३ वर्षसम्म मल्ल राजाले स्वतन्त्र राज्य सञ्चालन गरेका स्थानीयको भनाइ छ । गलकोट राज्यका पहिला राजा जितारी मल्लले कोतघर बनाएको इतिहासमा उल्लेख छ । राजाले दरबार, कोतघर, मन्दिर, पोखरी, कुवा, किल्ला, मोर्चा, पर्खाललगायत संरचना निर्माण गरिएको थियो ।

कोतघरसँगै इष्टदेवी र भगवतीको मन्दिर पनि यहाँ छ । राजाको दरबार, कुवा, किल्ला, सुरक्षा मोर्चा र पर्खाल भने भग्नावशेषमा परिणत भइसकेका छन् । स्थानीयका अनुसार यहाँ झिँगटीले छाएको भूइँतले दरबार थियो । दरबारको जगमा अहिले पनि इँटामा अवशेष भेटिने गरेको छ । साथै विसं २०४० मा कोतघरको पुन:निर्माण गरिएको थियो ।

अहिलेको गलकोट नगरपालिकाको नामसमेत यही कोतबाट निर्माण भएको इतिहास छ । गोलो पहाडको टाकुरामा दरबार निर्माण गरी राज्य सञ्चालन भएकाले यस क्षेत्रको नाम गोलकोत रहन गएको पाइन्छ । उक्त नाम पछि गलकोटका रुपमा प्रचलित हुँदै गएको हो । कोतघरमा अहिले पनि वडादसैँ र चैतेदसैँमा विशेष पूजा गरिन्छ । रासस