६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान



तस्बिर : सिन्ह्वा
अ+ अ-

काठमाडौं । चीनले प्रक्षेपण गरेको चन्द्रयान चन्द्रमाको सतहको नमुना लिएर पृथ्वीमा फर्किएको छ । मानवरहित चिनियाँ चन्द्रयान चांग’ई–६ ले चन्द्रमाको सुदूर हिस्साको नमूना लिएर पृथ्वीमा फर्किएको हो ।

सिन्ह्वा न्युज एजेन्सीले सो यान आज इनर मंगोलियाको मरुभूमिमा अवतरण गरेको जनाएको छ ।

सिन्ह्वाका अनुसार दक्षिणी एटलान्टिक महासागरको करिब ६ हजार किलोमिटर माथिको दूरीमा ’रिटर्नर’ ’अर्बिटर’ बाट छुट्टिएको थियो ।

पृथ्वीको वायुमण्डलमा ’क्याप्सुल’ आज दिउँसो १:४१ बजे प्रवेश गरेको पनि सिन्ह्वाले जनाएको छ । जमिनको सतहको करिब १० किलोमिटरमाथि प्यारासुट खुलेको र पूर्वनिर्धारित स्थानमा ’रिटर्नर’ अवतरित भएको थियो ।

बेइजिङ एरोस्पेस कन्ट्रोल सेन्टरका इन्जिनियर पेङ देयुनले चाङ’ई–६ मिसन निकै नै कठिन रहेको पनि बताएका छन् । इनर मंगोलियाबाट उक्त ’रिटर्नर’ लाई एयरलिफ्ट गरी बेइजिङ लगिने भएको छ । उक्त रिटर्नरले ल्याएको नमुना बेइजिङमै वैज्ञानिकहरूले अनुसन्धान गर्नेछन् ।

चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन(सीएनएसए) ले ’मिसन पूर्ण रूपमा सफल’ भएको बताएको छ । चांग’ई–६ मिसन सफलतापूर्वक पूरा भएकोमा चिनियाँ राष्ट्रपति सी चिनफिङले बधाइ दिएका छन् । उनले ब्रम्हाण्डका बारेमा नयाँ–नयाँ खोज गर्न पनि वैज्ञानिकहरूलाई आग्रह गरेका छन् ।

समग्र मानव–जगत्को भलाइका लागि अनुसन्धान र खोज प्रक्रियालाई निरन्तरता दिँदै मुलुकलाई अगाडि बढाउनसमेत उनले अपील गरेका छन् ।

चन्द्रमाबाट ल्याइएको नमूना ग्रह निर्माणका बारेमा महत्वपूर्ण अनुसन्धान र खोजका लागि सहयोगी सावित हुन सक्ने वैज्ञानिकहरूले बताएका छन् ।

विभिन्न देशले चन्द्रमामा मानिस बस्न सक्ने/नसक्ने अनुसन्धान गर्नका लागि पनि विभिन्न समयमा यानहरू पठाइरहेका छन् । चन्द्रमामाको सुदूर हिस्सामा यान पठाउने भने चीन एक्लो मुलुक हो । चन्द्रमामा हिउँको अंश भएको वैज्ञानिकहरूले आशंका व्यक्त गर्दै आएका छन् । जसबाट अक्सिजन, पानी र हाइड्रोजन बनाउन मद्दत पुग्न सक्छ ।

चिनियाँ यानले ल्याएको नमुनाबाट चन्द्रमाको बनोटबारे पनि अनुसन्धान गर्न सहयोग पुग्ने वैज्ञानिकहरूको दाबी छ । उक्त यान चीनले मे महिनाको पहिलो साता चीनको हैनान प्रान्तमा रहेको वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट चन्द्रमामा पठाएको थियो ।