१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

चित्लाङमा दूध दिने बाख्रा विकास गरिँदै

चित्लाङमा दूध दिने बाख्रा विकास गरिँदै
अ अ+ अ-

हेटौँडा । दूध उत्पादन भन्नेबित्तिकै आम उपभोक्ता र किसानले गाई वा भैँसीपालन सम्झन्छन् तर दैनिक चार लिटर दूध दिने ‘सानन’ जातको बाख्रा हुन्छभन्दा धेरैलाई अचम्म लाग्न सक्छ । अब नेपाली किसानले दूध उत्पादनका लागि बाख्रापालन गर्न सक्ने भएका छन् । बाख्रा विकास फार्म चित्लाङले गाईभैँसी पाल्न नसक्ने र थोरै घाँस भएका किसानका लागि दूध उत्पादन गर्ने जातको बाख्रा विकास गरिरहेको छ ।

वर्षमा दुईपटक बियाउने र एक बेतमा करिब आठ सयदेखि एक हजार लिटरसम्म दूध दिने ‘सानन’ जातको बाख्रा तयार गरिरहेको बाख्रा विकास फार्म चित्लाङले जनाएको छ । बाख्राको दूध छिमेकी मुलुक भारतमा प्रतिलिटर रु एक हजारले बिक्री हुने गरेको छ । सोही जातको बाख्रा किसानले पाल्न सक्ने गरी विकास गरिरहेको बाख्रा विकास फार्म चित्लाङका प्रबन्धक विश्वेश्वरप्रसाद यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालमा विसं २०७२ मा स्विजरल्यान्डबाट ल्याइएको उक्त बाख्राको सङ्ख्या हाल ३५ वटा पुगेको छ । अब किसानलाई पालनका लागि वितरण गर्ने तयारी रहेको उहाँले बताउनुभयो । दूध उत्पादनका लागि पालिने बाख्रा भएकाले यसलाई गरिबका लागि गाईसरह भन्न मिल्ने उहाँको धारणा छ । उहाँले भन्नुभयो, “एउटा बाख्राले दिनमा तीनदेखि चार लिटरसम्म दूध दिन्छ, बाख्राले बच्चालाई दूध खुवाएर पनि यति धेरै दूध आउने गर्छ ।”

“हामीले स्थानीय खरी जातको बाख्रा र सानन जातको ‘क्रस’ (दुई जातका बीच प्रजनन प्रक्रिया) उत्पादन गरिरहेका छौँ जसलाई नेपालको कुनै पनि हावापानीमा पाल्न मिल्छ,  यी जातका बाख्रा बलिया र निरोगी छन्”, उहाँले भन्नुभयो ।  दूधमा आत्मनिर्भर हुन पोषिलो दूधका लागि यो जातको बाख्रा उपयुक्त हुने उहाँको भनाइ छ ।

सानो परिवारलाई दैनिक तीनदेखि चार लिटर दूध पर्याप्त हुने  र बाख्राको दूधमा कोलेस्टोरेल नहुने भएकाले यो दूध उत्कृष्ट हुने फार्मका पशु प्राविधिक बताउँछन् । कृषि तथा खाद्य सुरक्षा आयोजनामार्फत सञ्चालित बाख्रा विकास फार्म चित्लाङमा पाँचवटा बाख्रा ल्याएर सङ्ख्या बढाउँदै हाल ३५ वटा पुर्‍याइएको हो । सानन जातको वयस्क बोकाको तौल ९० देखि एक किलोग्रामसम्म हुन्छ ।  बाख्रा भने ७५ देखि ८० केजीसम्मको हुने फार्मका प्रबन्धक यादवले बताउनुभयो ।

बाख्राको दूध जुनसुकै उमेर समूहले खान मिल्छ । सरकारी दररेटअनुसार सानन जातको पाठापाठी प्रतिकेजी एक हजारका दरले बिक्री गर्ने गरिएको छ । नेपालमा गरिएको अनुसन्धानबाट सानन जातको बाख्रा समुन्द्री सतहदेखि एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटर उचाइसम्ममा पालन गर्न सकिन्छ ।

अन्य जातका बाख्राभन्दा यी बाख्रा चाँडो हुर्कने र दूध उत्पादनका लागि आहाराको मात्रा बढी दिनुपर्ने हुन्छ । तत्कालीन राणा शासकले विसं २००१ मा स्थापना गरेको भेँडा फार्मपछि बाख्रा विकास फार्ममा परिणत गरिएको हो । फार्मले मागअनुसार बाख्रा उपलब्ध गराउन सकेको छैन । फार्ममा उत्पादन भएको भन्दा तेब्बर माग हुने गरेकोे फार्मले जनाएको छ । सरकारी फार्ममा शुद्ध नस्लको बाख्रा पाइने विश्वासले किसानले धेरै माग गर्ने गरेको फार्मका प्रबन्धक यादवको भनाइ छ । फार्मले सानन, सानन र खरीको क्रस तथा शुद्ध खरी गरी तीन जातको बाख्रा उत्पादन गर्दै आएको छ । फार्ममा चरिचरनका लागि बाह्रै महिना हरियो घाँस नहुँदा बाख्रा, भेडापालनमा समस्या हुने गरेको छ । जग्गा पर्याप्त भए पनि चरिचरन क्षेत्र थोरै भएकाले वर्षको छ महिना मात्रै बाख्रा र भेडाले पोषिलो घाँस खान पाउँछन् । वर्षायामको घाँसलाई सुकाएर राख्ने तथा नेपियर, मकै आदिलाई साइलेस ९घाँसको गुन्द्रुक० बनाएर फार्मले राख्ने गरेको छ । फार्ममा बाख्रा, भेडा, मासुका लागि खरायो र दूधका लागि जर्सी गाई पालिएको छ ।

किसानले सम्बन्धित स्थानीय तहको सिफारिस ल्याएपछि मात्रै फार्मले बाख्रा बिक्री गर्ने गरेको छ । फार्ममा उक्त जातको एउटा बाख्राले एक बेतमा आठ सयदेखि एक हजार लिटरसम्म दूध दिने गरेको फार्मले जनाएको छ । रासस