६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवाहरुले सुरु गरे व्यावसायिक प्याज खेती



अ+ अ-

झापा । पहिलोपटक उत्साही तीन युवाले झापा गाउँपालिका–६ मा व्यावसायिक प्याज खेती शुरु गरेका छन् । फिदिम नगरपालिका–११ का सुमन न्यौपाने, बुद्धशान्ति गाउँपालिका–३ का केशव भूर्तेल र स्थानीय सोमनाथ प्रसाई मिलेर प्याज खेती शुरु गरेका हुन् । ती युवाले १० वर्षका लागि २२ बिघा जग्गा भाडामा लिएर कोरियाली प्रविधिद्वारा व्यावसायिक प्याज खेती शुरु गरेका छन् । “झापालाई प्याजमा आत्मनिर्भर हाम्रो लक्ष्य छ”, केशव भूर्तेल भन्नुहुन्छ, “यहाँको मागलाई धान्न आफ्नै खेतबारीमा प्याज फलाउन सकिन्छ भन्ने किसानलाई सन्देश दिन पनि हामीले प्याजको खेती शुरु गरेका हौँ ।” उनीहरुमध्ये न्यौपाने कोरियाबाट फर्केका युवा हुनुहुन्छ ।

कोरियामा सिकेको सीपलाई आफ्नै देशमा प्रयोग गरेर जिल्लासँगै नेपाललाई प्याजमा आत्मनिर्भर बनाउने उद्देश्य रहेको भूर्तेलले बताउनुभयो । उहाँहरुले शुरुमा २२ बिघाबाट शुरु गरे पनि भविष्यमा ५० बिघामा खेतीको विस्तार गर्ने बताउनुभयो । यतिबेला उहाँहरुले प्याजको बेर्ना रोप्न शुरु गर्नुभएको छ । प्रतिबिघा १० हजार केजी प्याज फलाउने उहाँहरुको योजना छ ।  यसअघि सप्तरी, बारा, सिराहा, रौतहट, कैलाली, रूपन्देही, धनुषा, सर्लाही, खोटाङमा प्याजको व्यावसायिक  खेती गरिँदै आएको छ भने झापामा यो पहिलो हो ।

स्थानीयवासीलाई रोजगारी मिल्ने र बजारको पनि समस्या नहुँदा प्याज खेतीबाट मनग्य आम्दानी हुने स्थानीयवासी सोमनाथ प्रसाईँले बताउनुभयो । उहाँले प्याजको बेर्ना लगाउन शुरु गरिएको हुँदा यतिबेला ५० जनालाई रोजगारी दिएको बताउनुभयो । उहाँहरुले मल्सिङ प्रविधिबाट प्याज खेती शुरु गरेको जानकारी दिनुभयो । हाल ५० जनालाई रोजगारी प्रदान गरे पनि बेर्ना रोपिसकेपछि  १० देखि १५ जना स्थानीयवासीलाई दैनिक रोजगारी दिइने उहाँको भनाइ छ । “हामी बिचलित हुँदैनौं”, उहाँले भन्नुभयो,“अरु खेतीभन्दा यसको खेतीमा लगानी पनि धेरै हुने र मेहनत पनि धेरै भए पनि बजारको भने समस्या हुँदैन ।” उहाँका अनुसार प्याज उत्पादन भइसक्दा प्रतिकेजी रु १५ देखि २० सम्म खर्च हुने अनुमान छ । 

कृषि ज्ञान केन्द्र झापाका कृषिविद् शालिकराम भट्टराईले प्याज खेतीका लागि बलौटे माटो चाहिने हुँदा झापा त्यसका लागि उपयुक्त रहेको बताउनुभयो । प्याज रोपेको चार महिनामा बजार पठाउन मिल्ने उहाँको भनाइ छ ।