• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता ★   नेपालमै पहिलोपटक रोबोटबाट सर्जरी, एकैदिन ३ बिरामीको सर्जरी ★   पाँच वर्षपछि किसानले पाए अण्डाको लागत मूल्य ★   भरतपुरको होटलमा चिनियाँ नागरिक मृत फेला ★   सर्वनाममा नाटक ‘पूर्णविराम’ मञ्चन हुँदै ★   भूकम्पमा भत्केका सम्पदा पुन:निर्माण गर्दै ललितपुर महानगर ★   वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा दश हजार बिरुवा रोपिए ★   हाँडेभिर–बगरफाँट–भकिम्ली कृषि सडकको स्तरोन्नति ★   फणीन्द्र देवकोटा पुन: ऊर्जा मन्त्रीमा नियुक्त ★   कमीकमजोरी सुधार्दै संसद्लाई देश र जनतामा केद्रित गर्नुपर्नेमा सभामुखको जोड

बजेटको आकार बढाउँदै काठमाडौँ महानगरपालिका



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१र/८२ का लागि गत वर्षको तुलनामा बजेटको आकार बढाउने तयारी गरेको छ ।

कामपाले आव २०८०/८१ मा रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजार को बजेट ल्याएको थियो । आगामी आव २०८१/८२ का लागि बजेट बढाएर ल्याउने तयारी गरेको कामपा राजस्व विभागले जनाएको छ ।

विभागका प्रमुख धुव्र काफ्लेका अनुसार विगत वर्षमा जस्तै आमामी आवमा पनि शिक्षा, स्वास्थ्य, सरसफाइ र सेवा प्रवाहको क्षेत्रमा बजेटले प्राथमिकता पाउनेछ । कामपाले आगामी आवका लागि गत जेठ ३२ गते नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ । कामपाले चालु आवको ११ महिनामा रु आठ अर्ब ५५ करोड पाँच लाख ३२ हजार सात सय राजस्व सङ्कलन गरेको छ ।

अघिल्लो आवको सोही अवधिमा कामपाले रु आठ अर्ब नौ करोड ३७ लाख ७२ हजार राजस्व सङ्कलन गरेको थियो । कामपाले चालु आवमा गत वर्षभन्दा रु ४५ करोड ६७ लाख ७० हजार बढी राजस्व सङ्कलन गरेको काफ्लेले जानकारी दिनुभयो । प्रमुख काफ्लेका अनुसार पछिल्लो समय करदाताको सङ्ख्या बढेकाले गत वर्षको तुलनामा राजस्व बढेको हो । कामपाले चालु आवका लागि करिब रु १० अर्ब ८० करोड ७८ लाख २० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।

चालु आवको साउनदेखि वैशाखसम्ममा ३३ हजार एक सय ५६ नयाँ करदाता बढेको प्रमुख काफ्लेले जानकारी दिनुभयो । चालु आवदेखि कामपाले ३२ वटै वडाको प्रतिनिधिसहित स्थलगत अनुगमन गरिरहेकाले राजस्व सङ्कलनमा सहज भएको बताइएको छ ।

कामपाले चालु आवको पुस मसान्तसम्म करदातालाई बक्यौतामा लाग्ने करमा र महिलाका नाममा दर्ता भएका उद्योगहरुलाई २५ देखि ४० प्रतिशतसम्म छुट दिएकाले करदाता बढेको जनाएको छ । सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य अभिवृद्धि र सवारीसाधन करसहित ३६ शीर्षकमा कामपाले राजस्व सङ्कलन गर्दै आएको छ । रासस