८ श्रावण २०८३, शुक्रबार
,
Latest
हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान सीमा सुरक्षाको लागि ‘ड्रोन’ र ‘फेस रिकोग्निसन’ सीसीटिभी प्रयोग गर्ने सरकारको तयारी फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध तेक्वान्दोको तीनदिने राष्ट्रिय रेफ्री सेमिनार शुरु आर्थिक कूटनीति सरकारको प्राथमिकतामा, ‘देश केन्द्रित रणनीति तयार’ कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्योः प्रहरी महानिरीक्षक कार्की खुला सीमाना र साइबर अपराध मुख्य सुरक्षा चुनौती, सीमा क्षेत्रमा नेपाल प्रहरीको उपस्थिति बढाइयो सीमा सुरक्षा र अपराध नियन्त्रणमा सशस्त्र प्रहरी प्रतिवद्ध छः महानिरीक्षक पौडेल सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवरात्रमा मात्रै खुल्ने खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने



अ+ अ-

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित खड्गदेवी मन्दिर दैनिकरुपमा खुला गरिएको छ । बन्दीपुर गाउँपालिका–४ मा रहेको उक्त मन्दिर वर्षमा नवरात्रका नौ दिनमात्रै खुल्दै आएकामा बिहीबारदेखि दैनिकरुपमा खुला गरिएको र आजदेखि सबैका लागि दर्शनको व्यवस्था मिलाइएको मन्दिर सञ्चालक समितिले जनाएको छ ।

समितिका अध्यक्ष आनन्दमान जोशीले लामो समयको प्रयासपछि मन्दिर सबैका लागि खुला गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।  करिब छ सय वर्षभन्दा पुरानो दावी गरिएको यस मन्दिरमा कामी, मगर र बाहुन गरी तीन पुजारी रहेकाले जातीय सहिष्णुताको प्रतीक मानिने गरेको छ ।

यहाँ हिन्दू धर्मावलम्बीले भगवान् मान्ने गरिएका शिवजीले राजा मणिमुकुन्द सेनलाई तरबार दिएकामा सेनले एक बह्माणीको घरमा छाडेर गई देवघाटमा गएर समाधि लिएको र तरबारले नागको रुप लिको विश्वास गरिन्छ । नागले परिक्रमा गरिरहेको बेला धार्मिक अनुष्ठान गरिएको र नागले पुन: तरबारको रुप धारणा गरी उडेर बन्दीपुर डाँडामा खसेको, भगवान् शिवजीको सन्देशस्वरुप खड्गदेवीको रुपमा प्रकट भई स्थापना भएको किंवदन्ती छ ।

यहाँका बन्दीपुरेले इष्ट देवताको रुपमा पुजिने देवीको यो मन्दिर वर्षको नौ दिन नवरात्रको अवधिमा मात्र खुल्दै आएको थियो । केही समय जमिन छोडेर हावामा सयर गरेर मन्दिर दर्शन गर्दा चिताएको मनोकाङ्क्षा पूरा हुने आशीर्वाद पाइन्छ भन्ने धार्मिक विश्वास रहँदै आएको छ । विशेष गरी सेना, प्रहरी र फलामसम्बन्धी कार्य गर्नेका लागि मन्दिर दर्शन फलदायी हुने मन्दिरका पुजारी भरतमणि भट्टराईले बताउनुभयो ।

मन्दिर बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म मन्दिर खुला रहने मन्दिर प्रमुख मगर खाँडे पुजारी रामकुमार आलेले बताउनुभयो । यस मन्दिरमा फूलपातीको दिनमा खड्ग यात्रामा प्रयोग गरिने देवीको गहना विसं १८७६ मा मास्टर दुवाचाब्रह्मा उपाध्यायले चढाएको गहनामा अङ्कित झल्लरमा उल्लेख छ । मन्दिरमा पूजाआजाका लागि विसं १९१६ मा एक गुठीको स्थापना गरी सञ्चालन गरिएको ‘नेपाल अधिराज्यमा तनहुँ’ नामक डिल्लीराम मिश्रद्वारा लिखित पुस्तकमा उल्लेख छ ।

खड्गदेवी मन्दिरमा हरेक दशैँको फूलपातीका दिन विशेष मेला लाग्छ । मन्दिरको खड्गलाई शोभायात्रासहित बजार परिक्रमा गरिन्छ । मन्दिर पहिले ढुङ्गैढुङ्गाबाट निर्माण गरिएको थियो । पछि राजा चन्द्र शमशेरको पालामा दरबार शैलीमा मन्दिर रुपान्तरण गरियो । अहिले भने यहाँ तामाको छाना रहेको छ । रासस