१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी ठगी प्रकरण: प्राइम सहकारीका कार्यकारी अधिकृतसहित सात जना कारागार चलान



अ+ अ-

पोखरा । सहकारीको रकम अपचलन गरेको आरोप लागेका प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी अधिकृतसहित सात जना कारागार चलान भएका छन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश रामचन्द्र शर्माको इजलासले सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापा सहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

सहकारीको एक अर्व ५७ करोड रुपैयाँ अपचलन गरेको आरोपमा ६५ जना प्रतिवादी किटान गरिएको छ । तिमध्ये ९ जना पक्राउ परिसकेका छन् भने ५६ जना फरार छन् । जिल्ला सहकारी वकिलको कार्यालयले प्रतिवादीलाई ८ देखि १० वर्षसम्म कैद सजाय तथा १ अर्ब ५७ करोड १५ लाख ८ हजार १ सय २४ रुपैयाँ बिगो रकम माग दाबीसहित अभियोगपत्र दायर गरेको थियो ।

अदालतले सहकारीका अध्यक्ष शंकर कार्की, निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र सुकुमबासी समितिका उत्तम मगरलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङलाई ३५ लाख र पूर्व कर्मचारी सन्तोष घिमिरेलाई १ लाख धरौटीमा रिहा गर्ने आदेश दिइएको छ ।