६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकेको सुन्तला कुहिएर झरेपछि कृषक मर्कामा



अ+ अ-

पाँचथर । पाकेर बिक्री गर्ने बेलामा सुन्तला कुहिएर झर्न थालेपछि पाँचथरको फिदिम नगरपालिका–७ रानीटारका कृषक मर्कामा परेका छन् । सुन्तला टिप्ने समयमा धमाधम झर्न थालेको र झरेको सुन्तला कुहिएको पाइएपछि कृषक चिन्तित बनेका हुन् । सुन्तलाको राम्रो उत्पादन हुने फिदिम–७ रानीटारमा पाकेको सुन्तलाभित्र किरा भेटिने गरेको छ । किराका कारण सुन्तला कुहिएर झरेपछि यहाँका दर्जनौँ कृषक परिवार मर्कामा परेका छन् ।

रानीटारको नाङ्लपा, हाम्फाबुङ, चिउरीबोटे, चकरुम्बा, माक्लुम्बालगायत टोलमा करिब ४०० रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलामा किरा भेटिएको हो । हाम्फाबुङका कृषक देउबहादुर थेबेका अनुसार सुन्तला टिप्नै नपाई झर्न थालेको छ । “पोहोर साल झण्डै चार हजार किलो बेचेको थिएँ”, थेबेले भन्नुभयो, “यस वर्ष टिप्नै नपाई धमाधम सुन्तला झरिरहेको छ । झरेको सुन्तला कुहिएको पाएका छौँ ।” मुख्य आम्दानीको स्रोतको रूपमा रहेको सुन्तला कुहिएर जाँदा वर्षभरिको आम्दानी समाप्त भएको अर्का कृषक जयबहादुर नेम्वाङले वताउनुभयो । कृषकको गुनासोपछि फिदिम नगरपालिकाले प्राविधिक पठाई सुन्तला कुहिएर झर्ने समस्याको अनुगमन गराएको छ ।

फिदिम नगरपालिकाको कृषि शाखाका प्रमुख यामबहादुर सङ्ग्रौलाका अनुसार सुन्तलामा ‘फ्रुटफ्लाइ’ नामको किराको सङ्क्रमण देखिएको छ । झिङ्गाजस्तो यो किराले पाकेको फल कुहाउने गर्छ । “पोथी किराले फल छेडेर भित्र पसी फुल पार्ने काम गर्छ । फुल लार्भा भएपछि सुन्तलालगायत फल कुहाएर क्षति गर्छ”, सङ्ग्रौलाले भन्नुभयो । फल नलाग्दै फेरेमेन ट्राप र मालाथिन नामक विषादी मिलाएर छर्केको अवस्थामा यो किराको समस्या नहुने उहाँको भनाइ छ । फलमा लागेको किरा भने नियन्त्रण गर्न नसकिने सङ्ग्रौलाले बताउनुभयो । यस वर्ष अत्यधिक वर्षाका कारण सुन्तलाको फल नै कम लागेको थियो ।

पाकेको सुन्तला पनि विगतका वर्षको जस्तो स्वादिष्ट छैन । अधिक वर्षाकै कारण विगतका वर्षको जस्तो स्वाद नभएको जिल्लाको मिक्लाजुङ गाउँपालिका–५ का कृषक रुपा लावतीको भनाइ छ । यस वर्ष चाँडै चिसो शुरु हुँदा सुन्तलामा स्वाद नभएको कृषक बताउँछन् । जिल्लाका आठवटै स्थानीय तहमा सुन्तला उत्पादन हुने गरेको छ । जिल्लाका कुरुम्बा, आङ्सराङ, रानीगाउँ, फाक्तेप, फिदिम, रानीटारलगायत स्थानमा बढी सुन्तला उत्पादन हुने गर्दछ ।