८ श्रावण २०८३, शुक्रबार
,
Latest
चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी भाइरल भिडियोबारे बब्लु गुप्ताको स्पष्टीकरण, ‘गल्ती भएको भए क्षमा चाहन्छु’ सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड सुनचाँदीको मूल्य घट्यो विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि विश्वका लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।

स्वीट्जरल्याण्डको जेनेभामा जारी एक सय १२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले सुमधुर श्रम सम्बन्ध, नेपाल सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीनबीचको रणनीतिक बजारका कारण लगानीको वातावरण बन्दै गएकाले यसबाट लाभ लिन आग्रह गर्नुभयो ।

नेपालका रोजगारदाता श्रमिक कर्मचारीको सामाजिक सुरक्षाप्रति संवेदनशील रहेका र दुवै पक्षको पहलमा असल श्रम सम्बन्ध विस्तार भइरहेकाले यसलाई दिगो राख्न औद्योगिक विस्तार आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

सम्बोधनका क्रममा उहाँले सामाजिक सुरक्षा, लैङ्गिक समानता र दिगो आयआर्जनका थप अवसर सिर्जना गर्न सम्मेलनमा सहभागी रोजगारदातालाई नेपालमा लगानी बढाउन आग्रह गर्नुभएको नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

भारतसँग १० हजार मेगावाट विद्युत् खरिद सम्झौता भएको र बङ्गलादेशसँग पनि यसबारे छलफल भइरहेको बताउँदै अध्यक्ष ढकालले नेपालमा उत्पादित बिजुलीको बजार सुनिश्चित भएकाले यस क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताउनुभयो ।

यसैगरी भारत र चीनजस्ता धेरै जनसङ्ख्या भएका उदीयमान अर्थतन्त्रमा नागरिकको क्रयशक्ति बढेकाले नेपालका ‘हिल स्टेसन’ हरुमा पर्यटकीय पूर्वाधार विस्तारको सम्भावना रहेको पनि उहाँको भनाइ थियो ।

अध्यक्ष ढकालले सूचना प्रविधि, कृषिजन्य उद्योगलगायत उत्पादनमूलक क्षेत्रहरु नेपालमा तुलनात्मक रुपमा बढी लाभका क्षेत्र रहेका बारे विश्वका लगानीकर्तालाई जानकारी गराउनुभयो ।

लगानी सहजीकरणका लागि सरकारले द्विपक्षीय व्यापार सम्झौताको खाका तयार पारेको, लगानी सहज बनाउने कानुनमा सुधार हुँदै गएको र दोहोरो कर हटाउने नीति अङ्गिकारको योजनामा रहेको पनि सम्मेलनका सहभागीलाई जानकारी गराउनुभयो ।

अध्यक्ष ढकालले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) र रोजगारदाताको अन्तर्राष्ट्रिय सङ्गठन (आइओइ) का उच्च पदस्थ अधिकारीहरुसँग पनि भेटवार्ता गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।