९ मंसिर २०८१, आईतवार
,
Latest
एसिसी यू–१९ एसिया कपका लागि हेमन्त धामीको कप्तानीमा नेपाली टोली घोषणा आईपीएल मेगा अक्सन आजबाट, जान्नुहोस् सम्पूर्ण जानकारी फोहोर व्यवस्थापनको विषयमा राजनीति नगरौँः उपप्रधानमन्त्री सिंह सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्वः खानेपानीमन्त्री दुर्गा प्रसाईँको मुद्दा न्यायाधीश शर्माको इजलासमा पेसी सिनामंगलको होटलमा युवायुवती झुण्डिएको अवस्थामा फेला प्रतिवर्ष तीन सय बिलियन अमेरिकी डलर जलवायु कार्यमा खर्च गर्ने धनी देशको प्रतिवद्धता सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिदै प्रधानमन्त्री भारतको विदेशी मुद्रा सञ्चिति ७ दिनमा १७ अर्ब अमेरिकी डलरभन्दा बढीको गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बूढापाकाको गुनासो: ‘सडकले पहिले हामी हिँड्ने गोरेटो मेटिए’



अ+ अ-

ढोरपाटन । एक दशकअगाडिसम्म बागलुङका अधिकांश ठाउँमा मोटरबाटो पुगेको थिएन । जब स्थानीय तह स्थापना भयो त्यस यता सडक नपुगेको गाउँ–बस्ती छैन । गाउँमा सडक नपुग्दा गाउँलेको यात्रा गोरेटो बाटोमै हुन्थ्यो । पछिल्लो समय गोरेटो बाटो प्रयोग हुन छाडेपछि झाडीले ढाकिएका छन् । यात्रा सहजताका लागि स्थानीयले जनश्रमदान गरी गोरेटो निर्माण गर्थे । अहिले त्यो चलन हराएको छ । ग्रामीण सडकले मान्छेलाई अल्छी बनाउनका साथै पुराना गोरेटो प्रयोगविहीन भएको तमानखोला गाउँपालिका–३ का मनबहादुर बुढाथोकीले बताउनुभयो ।

मोटरबाटोले टाढा–टाढा यात्रा गर्न र बजारबाट सामान ढुवानीका लागि धेरै सहज भएको भन्दै गोरेटो बाटो मासिएपछि गाउँको पहिचान नै मेटिने खतरा बढेको उहाँ बताउनुहुन्छ । पहिले सामान ढुवानी गर्न घोडा खच्चड प्रयोग गर्ने गरेको र अहिले गाडीमा ओसारपसार गर्न थालेको बुढाथोकी बताउनुहुन्छ । मोटरबाटोले गोरेटो बाटोसँगै कुवा, पोखरी, पानीको मुहान र चौपारी सबै विनाश गरेको गुनासो उहाँले गर्नुभयो । गाउँमा जथाभावी सडक निर्माण गर्नु आवश्यक नभएको उहाँको भनाइ छ ।

“पहिले घण्टौँ हिँडेपछि गाडी चल्ने ठाउँमा पुगिन्थ्यो र पनि हामीहरु खुसी थियौँ, अहिले घरै अगाडि गाडी गुड्न थाले पनि खुसी छैनौँ, हरेक व्यक्तिलाई घर–घरमा सडक चाहिएको छ, त्यसले गर्दा हाम्रा मौलिक सम्पदा मासिए, गोरेटो बाटो गाउँले जीवनसँग जोडिएको मौलिकता हो”, बुढाथोकीले भन्नुभयो, “अव्यवस्थित विकासले गाउँको अस्तित्व नै सङ्कटमा परेको छ, गाउँमा एउटा सडक भए पुग्छ, अहिले जताततै मोटर बाटो मात्रै निर्माण भएका छन्, गोरेटो बाटो झाडीले ढाकिएका छन् ।”

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन पुग्न दशकअगाडि गोरेटो बाटोको विकल्प थिएन । अहिले सडकले गर्दा दर्जनौँ गोरेटो झाडीमा परिणत भएको स्थानीय तुलबहादुर सुनारले बताउनुभयो । उतिबेला स्थानीय लेक बेँसी गर्दा र हजारौँको सङ्ख्यामा वस्तुभाउ ओहोरदोहोर गराउन प्रयोग गरिने बाटो अहिले सडकले पुरिएको उहाँको भनाइ छ । आफूहरु ११ दिन लगाएर बुटवल पुगेर नुन, चामल बोकेर उपभोग गरेको स्मरण गर्दै अहिलेका पुस्ता आधा घण्टाको दूरीमा पनि गाडी नै चढ्न चाहने सुनार बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “अहिले जमाना फेरिए, हाम्रो पालाको जस्तो छैन, घर दैलोमै धेरै सुविधा आयो, टोलपिच्छे मोटर बाटो पुगे, त्यही भएर मान्छे एकै छिन पनि हिँड्न मान्दैनन्, पहिला हामी लेकबँेसी गर्ने बाटो अहिले कहाँ छन्, भेटिँदैनन्, कहीँ रूख बिरुवा उम्रिएका छन्, कतै काँडाले ढाकिएका छन्, कतै मोटेरबाटोले पुरेको छ, गोरेटोबाटो जोगाउनुपर्छ भन्नेमा कसैको ध्यान गएन, पहिला हामी हिँडेका ती बाटा कस्ता थिए, अहिले कस्ता भए ।”