• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी ★   प्रधानमन्त्रीले नैतिकताको आधारमा पदमा बसिरहन मिल्दैन: प्रभु साह ★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ: अब्दुल खान ★   अध्यक्ष ठाकुरको प्रश्न: जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ? ★   सहकारी मन्त्रालयको ‘ब्रिफिङ’: दुई सहकारीले रकम फिर्ता गरिसक्यो ★   गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्ने बढे ★   शिक्षामा दलिय राजनीतिकरण अन्त्य गरेरै छोड्छु: शिक्षामन्त्री श्रेष्ठ ★   नेपाल–चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी हुने परराष्ट्रमन्त्रीको विश्वास ★   मन्त्रीहरुलाई खल्तीमा राजीनामा लिएर नहिड्न सांसद झाको आग्रह ★   टी–२० विश्वकप: युगान्डाका खेलाडिलाई आएको थियो म्याच फिक्सिङको अफर

व्यावसायिक कृषिमा आकर्षित हुँदै कोदारका किसान



भोजपुर । भोजपुर नगरपालिका–७ वडा कार्यालय कोदारले किसानका लागि ‘प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरेपछि यहाँका किसान व्यावसायिक कृषिमा आकर्षित हुँदै गएका छन् ।

पराम्परागत खेती गरिरहेका किसानलाई वडा कार्यालयले अनुदानसँगै प्राविधिक सहयोगका तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेपछि व्यावसायिक खेतीमा जुटेका हुन् । वडाले प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेसँगै व्यावसायिक खेती गर्न थालेको ललिता केसीले बताउनुभयो । कार्यक्रमअन्तर्गत अनुदानमा बीउ वितरण, परामर्श, आवश्यक प्राविधिक सहयोग हुँदै आएको भन्दै पछिल्लो समय खेती विस्तारमा सहज भएको उहाँको भनाइ छ ।

“वडाको सहयोगले व्यावसायिक तरकारी खेतीमा लाग्न प्रोत्साहन मिलेको छ”, केसीले भन्नुभयो, “तरकारीसँगै नगदेबाली उत्पादन गरेर मनग्ये आम्दानी भइरहेको छ । उत्पादित सामग्री भोजपुर बजारमा लगेर बिक्री वितरण गर्ने गरेका छौँ ।” विगतमा परम्परागतरुपमा खेती गर्दा आम्दानी कम हुने गरेको जनाउँदै उहाँले अनुदान, बीउ तथा प्राविधिक सहयोग पाएपछि थप सहजता भएको बताउनुभयो ।

आधुनिक प्रविधिको प्रयोग गरी खेती गर्दा प्रशस्त उत्पादन हुने गरेको किसान केसीले अनुभव सुनाउनुभयो । “खेती गर्छु भनेर मात्र नहुँदो रहेछ । कृषिसम्बन्धी सीप र ज्ञान भएमा तरकारी खेतीबाट मनग्ये आम्दानी लिन सकिन्छ”, उहाँले भन्नुभयो, “रोग, किरा, उन्नत जातको बीउलगायत विषयमा वडाबाट आवश्यक प्राविधिक सहयोग पाइरहेका छौँ ।”

तरकारी खेतीका लागि अनुदानमा प्लास्टिक टनेल वितरणसँगै उन्नत जातको बीउसमेत पाएपछि सहज भएको किसान रामकुमार नेपालीले बताउनुभयो । वडा र नगरको सहयोगमा करिब रु तीन लाख बराबरको टनेल पाएकाले अहिले व्यावसायिक रुपमा टमाटर खेती गरिरहेको उहाँले जानकारी दिनुभयो ।

वडाभित्रका किसानको पहिचान गरेर उनीहरुलाई व्यावसायिक बनाउने उद्देश्यले प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ । कोदार क्षेत्र भौगोलिक रुपमा उर्वरभूमि रहेकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको वडाध्यक्ष जयबहादुर तामाङले बताउनुभयो । व्यावसायिक खेतीका लागि माटो सुहाँउदो बाली लगाउन प्रोत्साहन गरिने उहाँले उल्लेख गर्नुभयो ।

बजार क्षेत्रबाट नजिकको स्थान कोदार रहेकाले तरकारी तथा नगदेबालीमा नमूना बनाउने योजनाका साथ काम गरिररहेको वडाध्यक्ष तामाङले जानकारी दिनुभयो । “कोदार क्षेत्र तरकारी खेतीका लागि उर्वर भूमि मानिन्छ । यहाँ उत्पादन भएको तरकारी स्थानीय बजारमा खपत हुने अवस्था छ”, उहाँले भन्नुभयो, “किसानलाई व्यावसायिक उत्पादनसँग जोडेर आयस्तरमा वृद्धि गर्ने सोचका साथ कृषिमा लगानी गरिरहेका छौँ ।”

वडा कार्यालयले आवश्यक सहयोग गरेसँगै व्यावसायिक कृषिमा लाग्नेको सङ्ख्या बढ्दै गएको वडाध्यक्ष तामाङले बताउनुभयो । “यहाँका अधिकांश किसानले तरकारी खेती गर्नुहुन्छ तर वडाको अनुदान लिएर ३५ जना किसानले व्यावसायिक खेती गरिरहनुभएको छ”, उहाँले भन्नुभयो ।

केही समयमा अघि आएको हुरीले किसानले लगाएको टनेलमा क्षति पुगेकाले अनुगमन गरेर आगामी आर्थिक वर्षमा सहयोग गरिने वडाध्यक्ष तामाङले जानकारी दिनुभयो । यहाँका एक सयभन्दा बढी किसानलाई टनेलका साथै विभिन्न तालिम, सिँचाइका लागि पाइप, उन्नत जातको बीउलगायत सामग्री वितरण गर्दै आइएको उहाँको भनाइ छ ।

“हामीले यहाँको माटो अनुसारको बालीमा जोड दिएका छौँ । किसानको आवश्यकताका आधारमा सहयोग गरिरहेका छौँ”, वडाध्यक्ष तामाङले भन्नुभयो, “वडाले गरेको कामको प्रतिफल पनि आइरहेको छ । अहिले व्यावसायिक कृषिमा लाग्नेको सङ्ख्या बढ्दै गएको पाएका छौँ ।” उत्पादित कृषि उपजको बजारीकरणमासमेत वडाले सहयोग गर्ने उहाँले बताउनुभयो । सीमित बजेट हुँदा पनि स्थानीयको आवश्यकताअनुसार पूर्वाधार विकासका क्षेत्रमा योजनाबद्ध काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।