काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता बामदेब गौतमले राष्ट्रपति र प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन्। बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै गौतमले आफुलाई राष्ट्रिय सभामा मनोनित गर्नु भएकोमा राष्ट्रपति, प्रधानमन्त्री धन्यवाद दिएका हुन् ।
गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता जोगाउने अन्तिम अवसर गुमाएको समेत बताएका छन् । पार्टीका नेताहरुले आफूविरुद्ध अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उल्लेख गरेका हुन् ।
आफू प्रधानमन्त्रीको कटु आलोचकसँगै मित्र पनि भएको भन्दै उनले प्रतिनिधिसभा भंग गर्दा आफूलाई नसोधिएको गुनासो गरे । उनले भने, ‘उहाँले पटकपटक भन्ने गर्नु भएको थियो, अविश्वासको प्रस्तावबाट मलाई बर्खास्त गर्ने काम गर्नुभयो भने दुर्भाग्यपूर्ण हुनेछ ।’
उनले गणतन्त्र नेपालको स्थापना र नेपालका सबै कम्युनिष्टलाई एकीकृत गर्ने दुइटा उद्देश्य रहेको पनि बताए। गौतमले आफ्नो घरमा बा-आमा र आफन्त कांग्रेस रहे पनि आफू कम्युनिष्टमा सक्रिय रहेको उल्लेख गरेका थिए।











