९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
अ अ+ अ-

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाले आगामी १० वर्षका लागि तयार गरेको नगर शिक्षा योजना (२०८३-२०९३) को मस्यौदामाथि सरोकार भएका निकायबाट राय, सुझाव सङ्कलनका लागि छलफल सुरु गरेको छ ।

नगरपालिकाले शिक्षा क्षेत्रको दीर्घकालीन विकास, गुणस्तर सुधार तथा समयानुकूल शैक्षिक प्रणाली विकास गर्ने उद्देश्यले तयार गरेको मस्यौदामाथि सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, नगर कार्यपालिका, नगर शिक्षा समिति, शिक्षक, अभिभावक तथा शिक्षाविद्हरूसँग छलफल अघि बढाएको हो ।

नगर शिक्षा शाखाका प्रमुख टीकेन्द्रराज भट्टले शिक्षा योजना निर्माणका लागि पाँच सदस्यीय कार्यदल गठन गरी विगत केही महिनादेखि आवश्यक अध्ययन, अनुसन्धान तथा सुझाव सङ्कलन गरी मस्यौदा तयार गरिएको बताउनुभयो । उहाँका अनुसार नगरभित्रका प्रत्येक विद्यालयमा पुगेर अभिभावक, शिक्षक, विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिसँग प्रत्यक्ष छलफल गरी सुझाव लिइएको छ ।

साथै विद्यालय सुधार योजना, स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारका शिक्षासम्बन्धी नीति, राष्ट्रिय पाठ्यक्रम प्रारूप-२०७६ तथा शिक्षा क्षेत्रका विद्यमान कानुनी व्यवस्थालाई आधार बनाएर मस्यौदा तयार गरिएको शाखा प्रमुख भट्टले जानकारी दिनुभयो । “सरोकार भएका निकायका प्रतिनिधिबाट प्राप्त सुझावलाई समेट्दै योजनालाई अन्तिम रूप दिएर कार्यान्वयनमा लैजाने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो ।

नगरप्रमुख रणबहादुर महराले गुणस्तरीय शिक्षा समृद्ध नगर निर्माणको आधार भएकाले आगामी दशकलाई लक्षित गरी व्यवहारिक, कार्यान्वयनयोग्य र परिणाममुखी शिक्षा योजना तयार गरिएको बताउनुभयो । उहाँले शिक्षामा गरिएको लगानी भविष्यको समृद्धिमा गरिएको लगानी भएकाले नगरपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

“कागजमा सीमित योजना बनाउन चाहँदैनौँ, आगामी १० वर्षभित्र शुक्लाफाँटाका सामुदायिक विद्यालयलाई गुणस्तरीय, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउने गरी कार्यान्वयनयोग्य योजना तयार गरेका छौँ”, नगरप्रमुख महराले भन्नुभयो । उहाँका अनुसार नगरपालिकाले आधुनिक प्रविधिको प्रयोग, सीपमूलक शिक्षा, स्थानीय पाठ्यक्रम, शिक्षक क्षमता विकास र विद्यालयको भौतिक पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै योजना कार्यान्वयन गर्नेछ ।

नगर उपप्रमुख कल्पना पन्तले शिक्षा योजना निर्माणमा सबै सरोकारव भएका निकायको सक्रिय सहभागिता सुनिश्चित गरिएको बताउँदै प्राप्त सुझावका आधारमा योजनालाई थप परिमार्जन गरी अन्तिम रूप दिइने जानकारी दिनुभयो । उहाँले बालमैत्री, समावेशी, सुरक्षित तथा प्रविधिमैत्री सिकाइ वातावरण निर्माण नगरपालिकाको मुख्य लक्ष्य रहेको बताउनुभयो ।

“विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि, शिक्षकको क्षमता अभिवृद्धि, विद्यालय व्यवस्थापन सुदृढीकरण र अभिभावकको सहभागिता बढाउने विषयलाई योजनाले विशेष प्राथमिकता दिएको छ”, उपप्रमुख पन्तले भन्नुभयो । योजनाको सफल कार्यान्वयनका लागि सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको उहाँको भनाइ थियो ।

नगर शिक्षा तर्जुमा समितिका संयोजक रमेशबहादुर ऐरले सामुदायिक तथा संस्थागत विद्यालयबीचको गुणस्तरीय शिक्षाको अन्तर घटाउने, प्रविधिमैत्री तथा बालमैत्री शिक्षा प्रणाली विकास गर्ने उद्देश्यले विद्यालयहरूको नक्साङ्कन र अवस्थाको मूल्याङ्कन गरिएको जानकारी दिनुभयो । उहाँले स्थानीय आवश्यकता र सम्भावनाअनुसार शिक्षा नीति निर्माण गरिने बताउनुभयो ।

छलफल कार्यक्रममा लालझाडी गाउँपालिकाका युवा, शिक्षा तथा खेलकुद शाखा प्रमुख एवं कार्यक्रमका सहजकर्ता सिद्धराज भट्टले नगरपालिकाको शिक्षा योजना जीवनोपयोगी, सीपमूलक, सहभागितामूलक तथा व्यवहारिक हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले योजनामा गणित पार्क निर्माण, विद्यालय भान्सा सुधार, विपद् तथा आपतकालीन अवस्थामा शिक्षा निरन्तरता, सूचना प्रविधिमा सबैको पहुँच, सुशासन तथा व्यवस्थापन, स्थानीय शिक्षा योजनाको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन तथा मूल्याङ्कन र स्रोत व्यवस्थापनलाई स्पष्टरूपमा मस्यौदामा समेटिएको बताउनुभयो ।

नगरपालिकाले ‘प्रविधिमैत्री, गुणस्तरीय र सुरक्षित शैक्षिक वातावरण अभिवृद्धि, शुक्लाफाँटा नगरपालिकाको समृद्धि’ भन्ने दूरदृष्टि राख्दै आर्थिक वर्ष २०८३/८४ देखि २०९२/९३ सम्म लागू हुने शिक्षा योजनाको मस्यौदा तयार गरेको छ । योजनाको दीर्घकालीन सोच ‘गुणस्तरीय, समावेशी, प्रविधिमैत्री, सीपमूलक र रोजगारमुखी शिक्षामार्फत सक्षम, नैतिक र प्रतिस्पर्धी नागरिक निर्माण’ रहेको छ ।

योजनाले सबै बालबालिकाको विद्यालय पहुँच सुनिश्चित गर्ने, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने, प्रविधिमैत्री शिक्षाको विस्तार गर्ने, सीप तथा रोजगारमुखी शिक्षा प्रवद्र्धन गर्ने, प्रारम्भिक बाल विकासलाई गुणस्तरीय बनाउने, विद्यालय छाड्ने दर घटाउने, शिक्षकको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने तथा सबै विद्यालयमा सुरक्षित र बालमैत्री वातावरण सुनिश्चित गर्ने लक्ष्य लिएको नगर शिक्षा तर्जुमा समितिका संयोजक ऐरले बताउनुभयो ।

उहाँका अनुसार योजनाअन्तर्गत बाल विकास केन्द्र सुदृढीकरण, नमुना विद्यालय विकास, डिजिटल कक्षा सञ्चालन, विज्ञान प्रयोगशाला र पुस्तकालय स्थापना, शिक्षक क्षमता विकास, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम, खेलकुद, कला तथा संस्कृति प्रवद्र्धन, वातावरण संरक्षण तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी शिक्षा कार्यक्रम सञ्चालन गरिने मस्यौदामा प्रस्ताव गरिएको छ ।

नगरपालिकाका शिक्षा अधिकृत सुरेश भट्टका अनुसार शिक्षा योजना तीन चरणमा कार्यान्वयन गरिनेछ । पहिलो चरण (२०८३-२०८५) मा आधार निर्माण, दोस्रो चरण (२०८६-२०८९) मा शैक्षिक गुणस्तर अभिवृद्धि तथा तेस्रो चरण (२०९०-२०९३) मा दिगोपन र उत्कृष्टतामा जोड दिइनेछ ।

योजनाको प्रभावकारी कार्यान्वयनबाट आगामी १० वर्षभित्र शतप्रतिशत विद्यालय भर्ना, विद्यालय छाड्ने दर दुई प्रतिशतभन्दा कममा सीमित गर्ने, सबै विद्यालयमा इन्टरनेट सुविधा उपलब्ध गराउने, सबै माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गर्ने, सुरक्षित विद्यालय भवन, स्वच्छ खानेपानी र शौचालयको व्यवस्था सुनिश्चित गर्ने तथा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा उल्लेखनीय सुधार ल्याउने लक्ष्य राखिएको अधिकृत भट्टले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी प्रधानाध्यापकहरूले स्थानीय आवश्यकता, समयको माग र आधुनिक शिक्षाको अवधारणाअनुसार तयार पारिएको शिक्षा योजनाले प्रभावकारी रूपमा कार्यान्वयन भए शुक्लाफाँटा नगरपालिकालाई सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट शैक्षिक स्थानीय तहका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।  रासस