• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

ललितपुर महानगरको ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियान शुरु



काठमाडौँ । ललितपुर महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ भन्ने नारासहित नगरवासीका गुनासो, सुझाव र समस्या तत्काल सम्बोधन गर्ने भएको छ ।

बिहीवार ललितपुरमा एक कार्यक्रमबीच महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियानको शुभारम्भ गरेको हो ।

शुभारम्भ कार्यक्रममा बोल्दै नगरप्रमुख चिरिबाबु महर्जनले घरघरमा नगरप्रहरी अभियानका बहुआयामिक फाइदा रहेको बताउनु भयो । उहाँले यस अभियानले जनप्रतिनिधिहरु चुनावको निमित्त भोट माग्न मात्रै घरमा पुग्ने र त्यसपछि हराउने भन्ने जनताको गुनासो सम्बोधन हुने बताउनु भयो । उहाँले नागरिकहरुले दु:खका कुराहरु नगरप्रहरीमार्फत जनप्रतिनिधिहरुलाई सुनाउनसक्ने बताउनु भयो । नगर प्रहरीको उदाहरणीय कदमले नगरवासीको महानगर प्रतिको सम्बन्ध अझ प्रगाढ हुने उहाँको विश्वास छ । यस योजनाअन्तर्गत दैनिक पचास जना नगर प्रहरी हरेक वडामा खटिनेछन् ।

उहाँले भन्नुभयो, ‘घरघरमा नगरप्रहरी भन्नासाथ यसका बहुआयामिक फाइदा छन् । धेरै आयामहरु छन् । त्यसमध्येमा पनि हामी जनप्रतिनिधिहरु चुनावको निमित्त घरमाभोट माग्न आउने त्यसपछि हराउने भन्ने आरोप पनि हराउनेछ । भेटेर सुखदु:खका कुराहरु भन्न भन्न नपाउँदै गर्दा नगरप्रहरीसँग समन्वय गरेर ति कुराहरु उहाँहरुले व्यक्त गर्न सक्नुहुनेछ । यो विषयमा प्रत्येक हप्ता म ब्रिफिङ लिनेछु । ’

प्रमुख महर्जनले आफूले हरेक हप्ताको एक दिन नागरिकहरुको गुनासा र सुझावहरुबारेमा बिफ्रिङ लिने बताउनु भयो ।