काठमाडौं । जनता समाजवादी पार्टीका राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंह यादवले प्रधानमन्त्री ओलीले पदीय आचरण भन्दा विपरित काम गरेको टिप्पणी गर्नुभएको छ ।
बिहीबार बसेको राष्ट्रिय सभाको बैठकको विशेष समयमा बोल्दै सांसद यादवले प्रधानमन्त्री ओलीले आफ्नो पद अनुसारको सम्मान पाउने काम गर्न नसकेको बताउनुभएको हो । त्यसैले प्रधानमन्त्रीलाई सम्माननिय भन्ने की असम्माननिय भन्ने आफू द्विविधामा परेको बिताउनुभयो ।
उहाँले भन्नुभयो ‘सम्माननिय प्रधानमन्त्रीज्यूको यो कदमको, अझ सम्माननिय प्रधानमन्त्री भन्दापनि सम्माननिय भनौं की नभनौं ? काम चाहिं अर्कैअर्कै किसिमको गर्ने, सम्मान पाउने खालको काम नगर्ने, सम्माननिय प्रधानमन्त्री भनौं की असम्माननिय प्रधानमन्त्री भनौं ? बडा द्विविधामा छु ।’
प्रतिनिधि सभा विघटन असंवैधानिक मात्रै नभएर अलोकतान्त्रिक, प्रतिगमनकारी, स्वेच्छाचारी, निरंकुश र कायरतापूर्ण भएको पनि सांसद यादवले बताउनुभयो । उहाँले भन्नुभयो ‘प्रतिनिधि सभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी, स्वेच्छाचारी, निरंकुश, कायरतापूर्ण र असमायिक कदम हो भन्दै यसको घोर भत्र्सना म र मेरो दलले गर्दछ ।’
प्रधानमन्त्री ओलीले आफ्नो पार्टीको अन्तरिक विवादलाई देखाएर जननिर्वाचित संस्थालाई नै विघटन गर्ने कदम ठिक नभएको बताउनुभयो । उहाँले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई श्रीमती र बुबासँग झगडा हुँदा घरमा आगो लगाएको घटनासँग तुलना गर्नुभयो ।
सांसद यादवले प्रधानमन्त्री ओलीको अफूलाई संसदमा घेरावन्दीमा परेको भन्ने भनाईको समेत प्रतिवाद गर्नुभएको छ । उहाँले नक्सा पारित गर्दा घेराबन्दीमा परेको हो भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले भन्नुभयो ‘घेराबन्दी रे । कसले पार्यो घेराबन्दीमा । यो चुच्चोको लागि प्रस्ताव राख्नुभयो त्यो बास्तवमा सिंगो सत्तापक्षको, प्रतिपक्षको सर्वसम्मतिले प्रतिनिधि सभा राष्ट्रिय सभाले साथ थियो । कहाँ घेराबन्दी गरेको थियो प्रतिनिधि सभाले । कुन विषयमा घेराबन्दी गर्यो । त्यसैले यो अलोकतान्त्रिक कदम हो ।
देशको अविभावक रहनु भएको संस्था, संविधानको संरक्षक रहेको संस्था राष्ट्रपतिले नै गुटबन्दीमा परेर प्रधानमन्त्रीको कदमलाई सदर गरेको समेत बताउनुभयो । उहाँले मिल्छ भने अझैपनि फिर्ता लिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘हाम्रो अविभावक, सम्पूर्ण नेपालीको अविभावक । संविधानको संरक्षक । तर उहाँले एउटा गुटबन्दीमा परेर यस्तो काम गराइयो । सम्माननिय प्रधानमन्त्रीबाट सम्माननिय राष्ट्रपतिले । म आग्रह गर्न चाहन्छु अहिले पनि सच्चिने ठाउँ छ भने सच्याइयोस ।’
सांसद यादवले मुद्दा संवैधानिक इजलासमा गएको र त्यहाँबाट न्याय पाउने आशा रहेको बताउनुभयो ।
यस्तै सरकारले उखु किसानको हितमा काम गर्न नसकेको पनि सांसद यादवले बताउनुभयो । देशमा उखु किसानहरुले आफ्नो पैसा नपाएर जाडोमा आन्दोलन गर्नुपर्ने, आन्दोलन गर्दैगर्दा मर्नुपर्ने तर सरकारले टुलुटुलु हेरिरहेको मात्रै बताउनुभयो । उहाँले भन्नुभयो ‘देशमा कृषि प्रधान देश भन्छौं । तर आफै मेहनतले उब्जाएको उखुको पैसा लिनको लागि जाडोमा कठ्याङ्ग्रीएर आन्दोलन गर्नुपर्ने, आफ्नो ज्यान दिनुपर्ने, सरकार टुलुटुलु हेरिराख्ने । खालि बक्तव्य जारी गर्ने । बोलाएर ध्यान दिनुपर्नेमा ध्यान निदने । उनीहरुको पैसा नदिलाउने । यो विषयमा पनि सरकारसँग आग्रह गर्न चाहन्छु की उखु किसानको पैसा तुरुन्त दिलाइयोस ।’











