• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

एमालेलाई निर्णायक शक्ति बनाउन जरुरी छः उपाध्यक्ष पौडेल



लुम्बिनी । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकको विद्यमान सङ्कट समाधान र जनआकाङ्क्षा सम्बोधनका लागि एमालेलाई निर्णायक शक्तिका रुपमा स्थापित गर्न जरुरी रहेको बताउनुभएको छ ।

नेकपा एमाले रुपन्देहीको दशौँ जिल्ला अधिवेशनको आज भैरहवामा उद्घाटन गर्दै नेता पौडेलले एमालेले नेतृत्व गरेमा मुलुकको कायापलट हुने बताउनुभएको हो । “संविधानले प्रदान गरेको अधिकार नागरिकले कहिले उपभोग गर्न पाउँछन् ? आजको अहम प्रश्न यही हो जिम्मेवारी पनि यही हो”, उहाँले भन्नुभयो, “एमालेले नेतृत्व गर्न नपाएका कारण मुलुकपछि परेको छ ।”

पूर्वउपप्रधान तथा अर्थमन्त्री पौडेलले संविधानले प्रदान गरेको अधिकारलाई व्यवहारिक बनाउन राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्न जरुरी रहेको बताउनुभयो । उहाँले समाज बदल्ने र उत्पादनका क्षेत्रलाई सक्रिय बनाउने अभियानको नेतृत्व एमालेले गरिरहेको बताउनुभयो ।

विभेद र असमानता अन्त्य गरी समतामूलक समाज निर्माणका लागि एमालेको अगुवाइ जरुरी रहेको बताउँदै नेता पौडेलले सोहीअनुसार भूमिका निर्वाह गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा र लक्ष्यलाई साकार पार्ने गरी अगाडि बढ्नु आजको आवश्यकता रहेको नेता पौडेलको भनाइ थियो ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले एमाले जनताको रोजाइको पार्टी भएको बताउनुभयो । उहाँले दुई वर्ष पाँच महिनामा पार्टीको सङ्गठनलाई मजबुत र सशक्त बनाइएको स्पष्ट पार्नुभयो ।

अधिवेशन व्यवस्थित गर्न पार्टीको जिल्ला अध्यक्ष केसीको संयोजकत्वमा एक सय ६७ सदस्यीय मूल व्यवस्थापन कमिटी चयन भएको एमाले उपसचिव एवं जिल्ला प्रचार विभाग प्रमुख हितराज पन्थीले जानकारी दिनुभयो । जिल्लाका १६ वटा पालिका र एक सय ५५ वडा, २३ जनसङ्गठनबाट र आयोजक कमिटीका गरी आठ सय ५३ जना प्रतिनिधि अधिवेशनमा सहभागी छन् । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिव र एक सय ४५ सदस्य रहेको जिल्ला कमिटी निर्वाचित गर्ने एमाले रुपन्देहीले जनाएको छ । रासस