• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

ओलीलाई रविको जवाफः अन्तरदेशीय विवाह पितृ सत्तालाई मन परेको छैन



काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ लक्षित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको टिप्पणीप्रति आपत्ति जनाउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले शिक्षामन्त्री श्रेष्ठको अन्तरदेशीय विवाह लक्षित ओलीको टिप्पणीप्रति पार्टीले गम्भिर रुपमा आपत्ति जनाएको बताउनुभएको हो । उपप्रधानमन्त्री लामिछानेले प्रेम गर्ने, विवाह गर्ने भन्नेकुरा व्यक्तिको नितान्त व्यक्तिगत निर्णय भएको उल्लेख गर्दै त्यसलाई अरुले सम्मानबाहेक अरु केही गर्न नसक्ने जिकिर पनि गर्नुभयो ।

कोसँग माया गर्ने, कोसँग विवााह गर्ने ? भन्नेकुरा व्यक्तिगत निर्णय भएकाले त्यसमा सम्मानबाहेक अरुले केही पनि गर्न नसक्ने उहाँको तर्क थियो । उपप्रधानमन्त्री लामिछानेले अन्तरजातीय विवाहका लागि कुनै बेला लडार्इं गर्नुपरेको बताउनु भयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उहाँले नेपाली समाजले अहिले अन्तरदेशीय विवाहको सामना गरिरहनुपरेको बताउनु भयो । अन्तरदेशीय विवाह पितृ सत्तालाई मन नपरेको भन्दै कयौँ टिप्पणीहरु आइरहेको बताउनु भयो ।

अध्यक्ष ओलीले केही दिनअघि विदेशीसँग विवाह गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना लक्षित टिप्पणी गर्नुभएको थियो । उपप्रधानमन्त्री लामिछानेले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको विवाहको विषयलाई लिएर नकारात्मक टिप्पणी हुने गरेकोमा पनि आक्रोश व्यक्त गर्दै जीवन जिउन उनीहरुको इच्छा भएकाले त्यस अधिकारलाई सरकारले दिलाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पितृ सत्ताले गाँजेको यो समाजमा हिजो अन्तरजातीय विवाहका लागि लड्नुपर्ने थियो । आज देश विदेश फैलिएर अन्तरदेशीय विवाह पनि हुने गरेको छ । तर पितृ सत्तालाई यो मन परेको छैन । त्यसैले कयौं टिप्पणीहरु आउने गरेका छन् । शिक्षामन्त्रीलाई लक्षित गरेर आएको टिप्पणीप्रति पनि हामीले गम्भिर आपत्ति जनाएका छौ । तपाईले कसलाई माया गर्ने, कोसित बिबाह गर्ने, तपाईको व्यक्तिगत जीवन कस्तो हुने ? भन्नेकुरा तपाईको निर्णय हो, मात्र तपाईको । अरु कसैको निर्णय होइन ।

तपाईलाई कोसँग माया गर्नुछ, तपाईले कोसँग विवाह गर्नुहुन्छ, त्यो तपाईको व्यक्तिगत निर्णय हो । त्यो निर्णयको सम्मान गर्ने बाहेक अरुले त्यसमा केही पनि गर्न सक्दैन । अहिले एलजीविटीआईक्यु कम्युनितीको कुरा आईरहेको छ । उहाँहरुलाई समाजले हेर्ने दृष्टिकोण उद्धार भइसकेको छैन । कुन दुःख, कुन पीडामा उहाँहरुले आफ्नो जीवन गुजारीरहनु भएको छ ?

उहाँहरुलाई मैले भन्दै आएको छु–तपाईहरुको जिन्दगी, तपाईहरुको च्वाईस । तपाईहरुको च्वाईस, कसैको च्वाईस होइन । तपाईहरुले कसलाई माया गर्ने भन्नेकुरा यो समाजले ठेकदार भएर भन्ने होइन, तपाईले भन्ने हो । त्यसको अधिकार सुनिश्चित गर्ने काम राज्यको हो । हामी तपाईको अधिकारको सुनिश्चितताका लागि लडिरहने छौँ । हाम्रो जिम्मेवारी हो । मैले यही नै भनेको छु ।’

उपप्रधानमन्त्री लामिछानेले लैगिक तथा यौनिक अल्पसंख्यक समुदायको विवाह सम्बन्धि अधिकार सुनिश्चित गराउनका लागि आफू लागिपर्ने पनि बताउनु भयो ।