मिलान । युभेन्टसले इटालीको 'सिरी ए' मा आइतबार १० खेलाडीमा सीमित ससुलोलाई ३–१ ले हरायो र उपाधिको होडमा सामेल हुन सफल रह्यो । आरोन राम्सी र क्रिस्टियानो रोनाल्डोले खेलको अन्त्यतिर गरेको गोलमा युभेन्टसले जित पक्का गरेको हो ।
युभेन्टसले डानिलोको गोलले अग्रता लिएयता जर्जिरे ड्राफेलले बराबरी गोल फर्काएका थिए । लिगमा युभेन्टसको यो लगातार तेस्रो जित हो र टिम १६ खेलबाट ३३ अंकसहित चौथो स्थानमा उक्लिन पनि सफल रह्यो ।
एसी मिलान ४० अंकमा शीर्ष स्थानमा छ र युभेन्टसले उससँगको दूरी एक खेल कम खेलेर सात अंकमा कायम गरेको छ । यसअघि दोस्रो स्थानमा रहेको इन्टर मिलानले रोमासँग २–२ को बराबरी खेलेको थियो ।










