२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटको आकार स्रोत अनुमान समितिले दिएको नयाँ सिलिङभित्र नै छ: गभर्नर अधिकारी



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मंगलवार सरकारले ल्याएको बजेटको आकार स्रोत अनुमान समितिले दिएको नयाँ सिलिङभित्र नै आएको बताउनुभएको छ ।

बुधवार सिंहदरबारस्थित अर्थ मन्त्रलायमा मंगलवार संघीय संसदमा पेस गरेको बजेटका विषयमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै यस्तो बताउनुभएको हो । उहाँले बजेट भाषणको अघिल्लो दिन स्रोत अनुमान समितिले बजेटको सिलिङ बढाएको बताउनु भयो । गभर्नर अधिकारीले कानूनअनुसार नै माघमा गरिको बजेट अनुमान पछिल्लो चार महिनामा भएका विकासक्रमका आधारमा पुनरावलोकन गरेको स्वीकार गर्नुभयो । उहाँले स्रोत समितिमा व्यापक छलफल गरेर जेठ १४ गते कानूनी व्यवस्थाअनुसार सिलिङ पुनरावलोकन गरिएको उल्लेख गर्नुभयो ।

उहाँले विशेष गरी दातृ निकायको प्रतिवद्धताअनुसार वैदेशिक अनुदानमा बढोत्तरी हुने अर्थ मन्त्रालयको अनुमान र प्राकृतिक स्रोत तथा वित्त आयोगले यसअघि आँकलन गरेको भन्दा बढी आन्तरिक ऋण उठाउन सक्ने बाटो देखाएकाले स्रोत पुनरावलोकन गरिएको उल्लेख गर्नुभयो । उहाँले प्राकृतिक स्रोत तथा वित्त आयोगले आँकलन गरेको ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखिएको बताउनु भयो । उहाँले डेब्ट टु जीडीपी अनुपातका आधारमा आगामी आ.व.को बजेट भएकाले आगामी आ.व.कै जीडीपीको अनुपातमा आन्तरिक ऋणको लक्ष्य राखिएको बताउनु भयो । उहाँले गत वर्षको मध्यमकालीन खर्च संरचनाअनुसार यस वर्ष साढे १९ खर्बको बजेट आउनुपर्ने भएपनि बजेट सानो आकारमा आएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘म स्रोत अनुमान समितिको सदस्य भएका नाताले नै यसको जवाफ दिनुपर्छ कि ? बजेट बनाउने क्रममा स्रोत अनुमान समितिको सिफारिसलाई बेवास्ता पो गरियो कि भन्ने जस्ता प्रश्न उठ्यो । हामीले स्रोत अनुमान गरिराख्दा समितिले माघको १५ गते जुन सिफारिस गरेका थियौं । त्यस अनुमानमा केही परिमार्जन भएका छन् । वैदेशिक अनुदानमा वृद्धि हुने अर्थ मन्त्रालयको नेगोशेसन समावेश भएको छ । वित्त आयोगको पछिल्लो सरकारलाई सिफारिस छ । त्यसमा पनि केही फरक परेको छ । कुल गार्हस्थ्य उत्पादनको अनुपातमा ५.५ प्रतिशत आन्तरिक ऋण लिन सकिने सिफारिस गर्नुभएको छ । अहिले प्रदेश र स्थानीय तहले ऋण उठाउने कानूनी र नीतिगत व्यवस्था नभएकाले संघीय सरकारसँग थप आन्तरिक ऋण उठाउन सक्ने स्पेस रहेछ । राजश्व परिणाममा पनि केही पछिल्लो आउने सालको झन्डै ६ प्रतिशतको वृद्धि हुने भएकाले अर्थ मन्त्रालयको सबै परिमार्जन कानूनअनुसार नै गरिएको हो । बजेट सिलिङको माघमा गरेको सिफारिसलाई जेठ १४ गते पुनरावलोकन गरेका छौं । नरमल अभ्यास त्यही हो । माघमा बजेट सिलिङ तोक्छौं र बजेट भन्दा अगाडि बीचमा भएका विकासक्रम र अन्य तथ्यहरुलाई खाल गर्दै कानूनी रुपमा पुनरावलोकन गर्ने व्यवस्था छ । मंगलवार जुन बजेट आएको छ । त्यो बजेटको आकार पनि नयाँ सिलिङभित्र नै छ । आगामी आर्थिक वर्षको जीडीपी ६३ खर्ब रुपैयाँ हुने प्रक्षेपणका साथ ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखिएको छ ।’

अर्थसचिव मधुकुमार मरासिनीले स्रोत अनुमान समितिले माघमा दिएको बजेट सिलिङ जेठसम्म आउँदा स्वभाविक रुपमा बढ्ने बताउनु भयो । उहाँले बजेट सिलिङपछिका आवश्यकता र विकासक्रमका आधारमा बजेटको आकार वृद्धि हुने अवस्था रहेको बताउनु भयो । उहाँले बजेटको सिलिङ पछि मन्त्रालयगत रुपमा आयोजनाहरु थपिने भएकाले समावेश गर्दा आकारमा तलमाथि हुने गरेको बताउनु भयो । उहाँले त्यस्तो हुने भएकाले स्रोत अनुमान समितिले बजेटको अघिल्लो दिन सिलिङ पुनरावलोकन गर्ने कानूनी व्यवस्था हुने गरेको बताउनु भयो ।

उहाँले बजेटको सिलिङ बढाएको कुरा बाहिर सामान्यतया ल्याउने नगरिएको बताउनु भयो । उहाँले सरकारले संसदमा पेश गरेको बजेटको आकार भन्दा सिलिङ बढी रहेको बताउनु भयो । उहाँले अर्थमन्त्री ठूलो राजनीतिक दबाबका बीच पनि १८ खर्ब ६० अर्बको बजेट ल्याउनुभएको बताउनु भयो ।