• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

टी–२० विश्वकपः खेलाडीको भिसाको टुंगो छैन नगरप्रमुखलाई निम्तो



काठमाडौं । अर्को सातादेखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुने आईसीसी ट्वान्टी–२० विश्वकप खेल्नका लागि क्रिकेटर सन्दीप लामिछानेले भिसा नपाएको विषय चर्चामा छ । सामाजिक सञ्जालदेखि सडकसम्म तातिएका छन् ।

सन्दीप भिसा नपाएर नेपालमै रोकिँदा विश्वकपमा उनको सहभागिता अनिश्चित छ । सन्दीपको समर्थनमा विभिन्न प्रदर्शन भइरहेका छन् । तर, खेलाडीले भिसा नपाइरहेको अवस्थामा नेपाल क्रिकेट संघ (क्यान)का केही उच्च पदाधिकारी परिवारसहित आईसीसी विश्वकप क्रिकेट हेर्न भन्दै अमेरिका उडेका छन् ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्का श्रीमतीसहित अमेरिका प्रस्थान गरेका हुन् । उनीहरू मंगलबार अमेरिका प्रस्थान गरेका छन् ।

नेपालबाट विश्वकपमा सहभागी हुनका लागि २५ जनालाई आईसीसीले खेलाडी र अफिसियलको कोटा दिएको थियो । अध्यक्ष चन्द सोही कोटामा अमेरिका गएका हुन् । विश्वकपका लागि जाने २५ जना टिमको सम्पूर्ण खर्च आईसीसीले नै बेहोर्ने गर्दछ ।

यस्तै, उनीहरूलाई प्रतियोगिता अवधिको भत्ता समेत दिइन्छ । २५ जना टोलीभित्र रहेको सबै बिजनेस क्लास फ्लाइटमा यात्रा गर्न पाउँछन् र बसाइँको खर्च पनि आईसीसीकै कोटामा पर्छ ।

२५ सदस्यीय नेपाली टिमको नेतृत्वमा क्यानकै केन्द्रीय सदस्य दिवाकर घले रहेका छन् । घले गत साता मात्रै अमेरिका प्रस्थान गरेका थिए ।

यस्तै, क्यानका केन्द्रीय सदस्य प्रदीप मजगैंया म्यानेजरको भूमिकामा टिमसँगै गएका थिए ।

क्यान पदाधिकारीबाहेक नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई पनि विश्वकपका लागि अमेरिका जान क्यानबाट निम्तो पठाइएको थियो । सचिव पारस खड्काले पत्र काटेर मेयर बस्नेतलाई निम्तो दिएका हुन् ।

सचिव पारससँगै अन्य केन्द्रीय सदस्यहरू पनि केही दिनमै अमेरिका प्रस्थान गर्ने तयारीमा रहेको क्यान स्रोत बताउँछ ।

यस्तै, विश्वकपका लागि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्‌बाट पनि केही व्यक्ति अमेरिका जाने तयारीमा रहेको बुझिएको छ ।

सन्दीपको भिसाका विषयमा क्यानले पहल गरिरहेको जनाए पनि हालसम्म कुनै सकरात्मक प्रतिक्रिया आएको छैन । यसैकारण सन्दीपको विश्वकप खेल्ने सम्भावना लगभग समाप्त भएको छ । दूतावासबाट आज सकारात्मक परिणाम नआए सन्दीपले विश्वकप गुमाउने लगभग निश्चित छ ।

नेपाल विश्वकप २०२४ का लागि छनोट हुँदा सन्दीपले महत्वपूर्ण प्रदर्शन गरेका थिए । हरेक खेलाडीको विश्वकप खेल्ने सपना हुन्छ । नेपालले २०१४ पछि १० वर्षको अन्तरालमा दोस्रो पटक विश्वकप खेल्दैछ ।

जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स पनि छन् ।

नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।