• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला

बुकीमै बसेर यार्सागुम्बाको खोजी



फाईल फोटो

म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका कृष्ण पाइजा एक महिनादेखि कालीबराह बुकी क्षेत्रमा यार्सागुम्बा टिप्न व्यस्त हुनुहुन्छ । बुकीमा ओढारमा बास बसेर पाइजासहित उहाँका साथीहरुले बहुमुल्य जडीबुटी यार्सागुम्बा सङ्कलन गरिरहेका छन् । चिमखोलाको कालीबराह बुकीदेखि धौलागिरि आइसफल आधार शिविर क्षेत्रमा यतिबेला यार्सा सङ्कलन गर्नेको भीड लागेको छ ।

चिमखोलाका करिब ५० जना अहिले यार्सा सङ्कलनका लागि बुकीमै बास बस्ने गरेको पाइजाले बताउनुभयो । “करिब दुई महिनासम्म हामी बुकीमै बसेर यार्सा सङ्कलन गर्छौ, बिगतका तुलनामा यार्सा निकै थोरै भेटिने गरेको छ, दिनमा २० देखि २५ वटासम्म मात्रै हामीले यार्सा सङ्कलन गरिरहेका छौँ”, पाइजाले भन्नुभयो । यसअघिका वर्षमा दिनमा दुई सय वटासम्म यार्सा सङ्कलन हुने गरेको बताउँदै उहाँले यस वर्ष यार्सा कम भेटिएको बताउनुभयो ।

यार्सा सङ्कलकहरु यतिबेला बुकीमा ओढार र त्रिपालको छाप्रो हालेर बास बस्ने गरेका छन् । सङ्कलन भएको यार्सा स्थानीय स्तरमा रु दुई सयदेखि दुई सय ५० सम्ममा बिक्री हुने गरेको चिमखोले बुकीमा यार्सा सङ्कलन गर्दै गर्नुभएका गमान गर्बुजाले बताउनुभयो ।

यार्सा सङ्कलन भएपछि ठेकेदारले गाउँमै पुगेर यार्साको खरिद गर्दै आएका छन् । म्याग्दीमा केहि वर्ष अघि वार्षिक २० किलोभन्दा बढी यार्सा निकासी हुने गरेकोमा पछिल्ला वर्षहरुमा मात्रा घटेको छ । चालु आर्थिक वर्षमा आधा किलो यार्सागुम्बा सङ्कलनका लागि मात्रै पुर्जी लिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी विनयबहादुर अधिकारी खत्रीले जानकारी दिनुभयो ।

यार्सागुम्बा सङ्कलन र निकासीका लागि राजस्व तिरेर सङ्कलन पुर्जी र छोटपुर्जी लिएर मात्रै यार्सागुम्बा बिक्री र निकासी गर्न पाइन्छ । हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा न्यून मात्रामा भेटिने भएपछि यार्सा सङ्कलनकर्ताले सङ्कलन भएपछि मात्रै सोही बमोजिमको सङ्कलन पुर्जी काट्न थालेका छन् । जिल्लाको चिमखोला, कुइनेमङ्गले, मल्कबाङ, मुदी, गुर्जालगायतका स्थानीयबासी अहिले लेकाली क्षेत्रमा यार्सा सङ्कलनमा व्यस्त बनेका छन् ।

विशेष गरी वैशाखको मध्यदेखि जेठको अन्त्यसम्ममा हिमालको फेदीसम्म पुगेर जोखिम मोलेरै स्थानीयले यार्सा सङ्कलन गर्ने गर्छन् । धवलागिरि गाउँपालिका–१ गुर्जाबाट करिब एक सय ५० जना यार्सा सङ्कलनका लागी गुर्जा, चुरेन र पुथा हिमालको बुकीतर्फ गएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । उहाँले यार्सा सङ्कलन हिमाली क्षेत्रका बासीन्दाका लागि रोजगारी र आयआर्जनको माध्यम बनेको बताउनुभयो ।

यार्सा टिप्न जानेहरुले देवीदेवताको पूजापाठ गरी काम सुरु गर्छन् । यार्सा सङ्कलन हिमाली भेगका जनताका लागि मौसमी रोजगारी जस्तै बनेको छ । तर जोखिमपूर्ण तवरले सङ्कलित यार्साले उचित मूल्य नपाउँदा यार्सा सङ्कलनकर्ताहरु निरास बन्न थालेका छन् ।

सर्वसाधारणबाट व्यवसायिहरुले प्रतिकिलो रु पाँचदेखि छ लाखसम्ममा यार्सा खरिद गर्ने गरेका छन् । हालको बजारमूल्य प्रतिकिलो रु आठदेखि १० लाखसम्म रहेको जानकार बताउँछन् ।