• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ? ★   अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु ★   समाजवादी आन्दोलनको नयाँ प्रवाह शुरु भएको छः झलनाथ खनाल ★   गलत प्रवृत्तिका विरुद्धमा नयाँ सांस्कृतिक जागरण पैदा गर्न आवश्यकः अध्यक्ष नेपाल ★   महाकालीको कटान रोक्न कुतियाकबरमा जैविक तटबन्ध ★   आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ: अर्थमन्त्री पुन ★   करेन्ट लागेकालाई बचाउन खोज्नेको मृत्यु, अर्का घाइते

रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षणिक स्वार्थ र लाभका लागि गर्नु नहुने बताउनुभएको छ ।

बिहीवार सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीति देश, जनता र सत्य स्थापनाका लागि हुनुपर्ने बताउनु भयो । उहाँले नेपाली काँग्रेसले संसदमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै संसद अवरुद्ध गरिरहेको र एउटा पात्रका बिरुद्ध खनिएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले काँग्रेस जस्तो पार्टी रवि लामिछानेको बिरुद्धमा खनिनु भनेको भँगेरा मार्न तोप बोकेर जानु सरह भएको टिप्पणी गर्नुभयो । उहाँले लामिछाने राजनीतिमा आएको एक वर्ष भएको बताउनु भयो । उहाँले काँग्रेसले अघिल्लो दिन प्रधानमन्त्रीमा प्रश्ताव गर्ने र प्रश्ताव नमानेपछि सहकारी ठगको आरोप लगाउने अघ्र्यल्याईं गरेको आरोप लगाउनु भयो । संसदमा मुर्दावादको नारा लगाउन नमिल्ने र अप्रमाणित कुरा संसदमा बोल्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राजनीति गर्नुपर्छ तर राजनीति देशका लागि, जनताका लागि, सत्य स्थापनाका लागि हुनुपर्छ । राजनीतिक क्षणिक स्वार्थका लागि र क्षणिक लाभका लागि जानु हुँदैन । एक पल्ट एउटा कुरा अर्को पल्ट अर्को कुरा । त्यही परिस्थिति एक समय एकदम उचित, अर्को समय अनुचित यस्तो पनि हुनु हुँदैन । अहिले नेपाली काँग्रेसले केही सवाल उठायो, उठाएको पनि कुनै ठूलो कुरो भएको भए हुन्थ्यो, रवि लामिछाने की को भन्ने पात्रका बिरुद्ध काँग्रेस खनिएको छ । काँग्रेस जस्तो पार्टी रवि लामिछानेका बिरुद्ध खनिएको छ । के खनिनु । भँगेरा मार्न जाने तोप बोकेर । बल्लबल्ल राजनीतिमा आएको, एक वर्ष भयो । खैर अहिलेको उपप्रधानमन्त्री हुनुहुन्छ उहाँ, म सम्मान गर्दछु उहाँलाई उपप्रधानमन्त्रीको हैसियतले । तर नेपाली काँग्रेसले दुई तिरबाट अघ्र्यलाईं गरेको छ । एउटा बेलुका गएर तपाईं डेढ वर्ष प्रधानमन्त्री पहिलो प्रधानमन्त्री तपाईं खानुस् भन्ने । उसले त्यो कागजमा सही नगरेपछि भोलिपल्ट सहकारीको ठग भन्ने । यो त सत्य हो नि त । यस्तो गर्नु हुँदैन । रातिसम्म प्रधानमन्त्रीका लागि ठिक, म यता लाग्न सक्दिन भनेपछि त्यसोभए तँ सहकारीको ठग । अलि मिलेन । एउटा व्यक्तिको नाम लिएर संसदमा सहकारीको ठग कहाँ प्रमाणित भयो । भ्रष्टाचारी ठहर भएको मान्छे संसदमा उभिएर सहकारी ठग भनिरहेको छ । संसदमा मुर्दावादको नारा लगाइँदैन । त्यसलाई राम्रो मानिँदैन । अप्रमाणित कुरा संसदमा बोलिँदैन ।’

अध्यक्ष ओलीले कान्तीपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकताको विषयमा छानबिन गर्न पक्राउ गरिएको बताउनु भयो । उहाँले सिरोहिया पक्राउ पर्दा कसरी प्रेस स्वतन्त्रतामाथिको हमला भयो ? भन्दै प्रश्न समेत गर्नुभयो । नागरिकताको कुरालाई प्रेस स्वतन्त्रतामाथिको हमलाका रुपमा बुझ्न नहुने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘कैलाश सिरोहिया कान्तीपुर भन्ने पत्रिकाका सञ्चालक उहाँलाई नागरिकताको विषयमा उहाँको नागरिकता झुटो नागरिकता भयो, कीर्ते नागरिकता भयो, नागरिकता दिने मान्छेको नाम छैन, दिनेको सही छैन आदि भन्नेकुरा अखबारमा नै आए । तर त्यसको छानबिन सरकारले गर्‍यो । अदालतलाई भन्यो, यस्तो यस्तो छानबिन गरेँ, उहाँलाई गिरफ्तार गरेरै छानबिन गर्नुपर्छ, किनभने प्रमाण लुकाउने नष्ट गर्ने सम्भावना देखियो । जोसुकैलाई थुन्न पाउँ भन्दा अदालतले थुन्न दिँदैन नि । छानबिन गर भन्छ । अदालतले आदेश गरेपछि प्रहरीले समात्यो । यो प्रेस स्वतन्त्रतामाथिको हमला रे । प्रेस कहाँबाट जोडियो । नागरिकताको पो कुरा होला त, प्रेस कहाँबाट आयो । यो खालका हल्लाका पछि लाग्दैन । डेमोक्रेसी खतरा भयो । वक्तव्यको होडबाजी भयो ।’

अध्यक्ष ओलीले सांसद डा.शुनिल शर्मा र काँग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्दा चुइँक्क नबोलेको भन्दै अहिले आएर रवैया देखाउनु अशोभनीय रहेको बताउनु भयो । न्यायको अगाडि सबै बराबर रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल