१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दमौलीमा आगलागी: क्षतिको विवरण सङ्कलन गरिँदै



अ+ अ-

दमौली । तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको आगलागीको विवरण सङ्कलन सुरु गरिएको छ । गएराति १२:४५ बजे फलफूल लाइनमा रहेका सटरमा आगलागी भएको थियो । उक्त आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन थालिएको प्रहरीले जनाएको छ ।

तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक आयोजना, व्यास नगरपालिकाको दमकलको सहायताले आगलागी तीन घण्टापछि नियन्त्रणमा आएको थियो । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका करिब २० वटा सटर जलेर नष्ट भएका छन् । यहाँ आइसक्रिम, फलफूल, मोबाइललगायत पसल सञ्चालनमा थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले क्षतिको यकीन विवरण आइनसकेको भन्दै विवरण सङ्कलन थालिएको बताउनुभयो । उहाँका अनुसार विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने अनुमान छ । एउटा पसलमा लागेको आगो सल्किँदा अन्य पसलमासमेत क्षति पुगेको अनुमान गरिएको उहाँले बताउनुभयो ।

क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण

यसैबीच पूर्वमन्त्री एवं सांसद कृष्णकुमार श्रेष्ठले आगलागीपीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । फलफूल लाइनमा भएका अधिकांश पसल जलेर नष्ट भएको घटनाले अत्यन्तै दु:खी र मर्माहत बनाएको बताउँदै उहाँले घटनाको छानबिन गरी पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिन लाग्नुभएको सन्दर्भका कारण यस दु:खको समयमा पीडितसँग भेटगरी स्थलगतरुपमा घटनाको वास्तविक जानकारी लिनसक्ने अवस्था नभएका भन्दै सांसद श्रेष्ठले प्रत्यक्षरुपमा उपस्थित हुन नसके पनि क्षतिपूर्तिका लागि सरकारको निरन्तर ध्यानाकर्षण गराउने बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले आगलागीबाट भएको क्षतिको विवरणका आधारमा आवश्यक राहत उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभयो । उहाँले मुचुल्का उठाइ सम्पत्ति नोक्सानीका आधारमा आवश्यक राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समितिलाई समेत आग्रह गर्नुभयो ।