२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरातत्वको पत्र विपरीत मध्यराति कमलपोखरीमा डोजर



अ+ अ-

काठमाडौ। ऐतिहासिक कमलपोखरीमा भइरहेको काम रोक्न पुरातत्व विभागले काठमाडौँ महानगरपालिकालाई पत्राचार गरेको राति डोजर लगाएर माटो ओसार्ने प्रयास भएको छ । कमलपोखरी निर्माणमा मौलिक सामग्री प्रयोग नगरी ऐतिहासिक एवं पुरातात्विक महत्व नाश हुने गरी काम गर्न लागेको देखिएकाले काम रोक्न महानगरपालिकालाई पत्राचार गरिएको विभागका प्रवक्ता रामबहादुर कुँवरले राससलाई जानकारी दिनुभयो । 

पत्राचार गरिएकै राति ११ बजे कमलपोखरीबाट माटो निकालेर अन्यत्र ओसारेको विषयमा पनि विभागमा जानकारी आएको उहाँले सुनाउनुभयो । सोमबार राति डोजर लगाएर एक गाडी माटो बूढानीलकण्ठ लगिएको अभियानकर्मीले जनाएका छन् । अभियाकर्मीको विरोधपछि राति माटो झिक्ने काम रोकिएको छ ।

सोमबार राति ११ बजे डोजर लगाएर माटो ओसारेको खबर पाएपछि सम्पदाप्रेमीको समूह कमलपोखरी पुगेको थियो । राति कमलपोखरी गएर महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र प्रहरी प्रशासनसँग फोनमा कुरा गरी डोजर लगाउन रोकिएको सम्पदा बचाऊ अभियानकर्मी गणपतिलाल श्रेष्ठले जानकारी दिनुभयो ।
 
कमलपोखरीलाई पनि रानीपोखरीकै बाटोमा लैजान खोजेको भन्दै सम्पदाप्रेमीले आज बागदरबारस्थित महानगर कार्यपालिकाको कार्यालयमा धर्ना दिएका छन् । धर्नामा बसेका सम्पदाप्रेमीले ‘प्रकृतिको दोहन बन्द गर’, ‘सिमेन्ट र डण्डीको कमल चाहिँदैन’, ‘रानीपोखरीबाट पाठ नसिकेकामा हामी लज्जित छौँ’, ‘जीवनका आधारभूत वस्तु माटो र पानीसँग हाम्रो आत्मीयता छ, यसलाई बचाऔँ’, ‘प्रकृतिको दोहन बन्द गर, दुर्लभ सिमसारको संरक्षण गर’ लगायत नारा लेखिएका ‘प्ले कार्ड’ सहित प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि महानगर प्रमुख विद्यासुन्दर शाक्य, महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । महानगर प्रमुख शाक्य र प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई नभेटेपछि पत्र दर्ता गरेर छोडिएको छ । पत्र बुझ्नुहुँदै महानगर उपप्रमुख श्रेष्ठले बजेट निर्माण गर्दा पुरानै स्वरुपमा काम गर्ने गरी राखिएको बताउनुभयो । त्यसपछिको चरणमा के के भयो भन्ने आफूलाई जानकारी नभएकाले विवाद आएपछि खोजी शुरु गरिएको उहाँको भनाइ थियो । 

सोमबार राति ११ बजे फोन गरेर कमलपोखरीको काम रोक्न उपप्रमुख श्रेष्ठले निर्देशन दिनुभएको थियो । “कमलपोखरी पुरानै स्वरुपमा बनाउन व्यापक छलफल हुनुपर्छ, विकासका नाममा सम्पदा विनाश गरिनुहुँदैन, बुधबार हुने नगर परिषद्मा यस विषयमा कुरा राख्छु, माटो झिक्ने आवश्यकता किन प¥यो रु यसको खोजी गर्छु”, उहाँले भन्नुभयो । 

पत्रमा कमलपोखरी (पलेस्वाँपुखू) मा संरक्षण र सम्वद्र्धनका नाममा गैरकानूनी एवं संरक्षणको मान्य सिद्धान्त तथा व्यवहार प्रतिकूल हुने गरी काम भएकाले रोक्न माग गरिएको छ । प्राचीन स्मारक संरक्षण ऐन २०१३, स्थानीय सरकार सञ्चालन ऐन २०७४ लगायत कानूनको समेत प्रतिकूल हुने गरी कमलपोखरीमा काम भइरहेको छ । विभागले पनि प्राचीन स्मारक संरक्षण ऐनविपरीत काम नगर्न महानगरपालिकालाई पत्राचार गरेको छ ।

माटो झिकिएको कमलपोखरीको बुधबार स्थलगत अध्ययन गरिने पनि विभागले जनाएको छ । सम्पदाप्रेमीले महानगरको अनुगमन समिति संयोजकसमेत रहनुभएकी उपप्रमुख श्रेष्ठलाई कमलपोखरीको स्थलगत अनुगमन गर्न माग गरेका छन् । उहाँले पनि अनुगमन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

पोखरी निर्माणका लागि २०७६ असार १९ गते शिलान्यास गरिएको थियो । शिलान्यास असार १९ गते गरिए पनि कार्यादेश भने असार ६ गते नै दिइएको थियो । विसं २०७७ असार १५ गते नै काम सम्पन्न गर्नुपर्ने सम्झौता भएकामा कमलपोखरी निर्माण अझै अलपत्र छ । महानगरपालिकाका प्रमुख इञ्जिनीयर सरोज बस्नेतले ढुङ्गाको अभाव भएर काममा ढिलाइ भएको दाबी गर्नुहुन्छ । 

लिच्छविकालीन नौ पोखरीमध्येको एक पोखरी कमलपोखरीमा अध्ययनबिना नै सिमेन्ट र कङ्क्रिटको प्रयोग गरिएकामा पनि सम्पदाप्रेमी एवं स्थानीयवासीले विरोध जनाएका छन् । गहनापोखरी, बच्चापोखरी, नागपोखरी, हिटीपोखरी, हाँडीगाउँपोखरी पनि नौ पोखरीमध्येमा पर्ने बूढापाकाबाट सुन्दै आएको सामाजिक अभियानकर्मी दिवस ढुङ्गेल बताउनुहुन्छ । 

कमलपोखरीका सम्बन्धमा अर्को भनाइ पनि स्थानीयवासी माझ प्रचलनमा छ । यहाँका लालदरबार र सीता दरबार निर्माणका क्रममा कमलपोखरीको माटो निकालिएको थियो । माटो निकालेपछि वर्षात्मा परेको पानी जम्मा भएर पोखरी बन्यो । पोखरीमा एक वृद्धले टौ दहबाट कमलको फूल ल्याएर रोपे । अर्को वर्ष कमलले पोखरी ढाकिएकाले पोखरीको नाम कमलपोखरीमा परिणत भएको भन्ने भनाइ पनि यहाँ सुन्न पाइन्छ । यसलाई नै आधार मान्ने हो भने पोखरीको इतिहास १०० वर्षभन्दा पुरानो हुने भएकाले यसको संरक्षण गरिनुपर्ने स्थानीयवासीको माग छ ।

एक वर्षअघिसम्म प्राकृतिकरुपमा रहेको कमलपोखरीको वरिपरि सिमेन्टको पेटी लगाएर घाट बनाई पोखरीको आकारसमेत घटाइएको स्थानीयवासी रोशन श्रेष्ठको गुनासो छ । निर्माण गर्दा पुरातात्विक तरिकाले प्राचीन निर्माण सामग्री नै प्रयोग गरेर गर्नुपर्नेमा त्यसो हुन नसकेको सम्पदा बचाऊ अभियानका सुशन वैद्य बताउनुहुन्छ । रासस

महानगरपालिकामा बुझाईएको पत्र