२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालिका र वृद्धबीच हुन लागेको विवाह रोकियो



अ+ अ-

सप्तरी । स्थानीयवासीको सहयोगमा सप्तरी प्रहरीले मङ्गलबार हुन लागेको बालविवाह रोकेको छ । बालिकाको उमेर नपुगी विवाहका लागि छलफल भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले चार जनालाई नियन्त्रण लिई बालविवाह रोकेको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का वडाध्यक्ष सत्यनारायण यादवले जानकारी दिनुभयो । रामपुर मल्हनिया प्रहरी चौकीको टोलीले हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ की १५ वर्षीया बालिका, उहाँकी ४५ वर्षीया आमा, सोही ठाउँका ६७ वर्षीय रामेश्वर शर्मा सुतिहार र विवाहका लागि तयार पारिएका सप्तरीको तिरहुत गाउँपालिका–३ गोइठीका ४३ वर्षीय विनोद शर्मा सुतिहारलाई नियन्त्रणमा लिएर विवाह रोकेको हो ।

स्थानीयवासीका अनुसार १५ वर्षीया बालिका र ४३ वर्षीय पुरुषबीच विवाहका लागि रामेश्वरले छलफल चलाएका थिए । बालविवाहसम्बन्धी छलफल भइरहेको सूचनाका आधारमा प्रहरी चौकी रामपुर मल्हनियाबाट खटिएको प्रहरीले चार जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगेको वडाध्यक्ष यादवले बताउनुभयो । बालिकाका बुवाले दोस्रो विवाह गरी परिवार छाडेर हिँडेपछि चार सन्तानलाई पालनपोषण गर्दै आएकी बालिकाकी आमाले गरिबीका कारण अनमेल तथा बालविवाह गराउन खोजेको वडाध्यक्ष यादवले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालयस्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा छलफलपश्चात आरोपितलाई बालविवाह नगराउने शर्तमा छाडिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहका अनुसार उमेर नपुगेकाले हाललाई सो विवाहलाई रोकेर बालविवाह नगर्ने शर्तमा छाडिएको छ ।

प्रहरी नायब उपरीक्षक साहका अनुसार विवाहका लागि छलफल गरिरहेको सूचना पाएर नियन्त्रणमा लिइएको चार जनालाई बालविवाहसम्बन्धी कानूनी जानकारी दिई सम्झाइबुझाई उमेर नपुगी विवाह नगर्ने, नगराउने कागज गराई छाडिएको छ ।