२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

थुन्से बेचेर मनग्य आम्दानी गर्दै मीरा



अ+ अ-

धुसेनी । धादिङको उत्तरी क्षेत्रका बासिन्दाले निगालोबाट बनेका सामग्रीको बिक्रीबाट मनग्य आम्दानी लिन थालेका छन् । तामाङ समुदायको बाहुल्य रहेको गङ्गाजमुना गाउँपालिका वडा नं १ र २ स्थित धुसेनी, लताप, तावल, रिगाउँ, ताजीमराङ, रिचेतलगायतका बासिन्दाले निगालोबाट बनेका सामग्री बिक्री गरेर मनग्य आम्दानी लिन थालेका हुन् ।

ती गाउँका बासिन्दाको मुख्य आम्दानी नै निगालोका सामग्री बिक्री वितरण गरेर आर्थिक उपार्जन गर्नु हो । प्रशस्त पानीको स्रोत रहेको यहाँका बासिन्दाले पछिल्लो समय कफी खेतीलाई समेत प्राथमिकता दिँदै आएका छन् ।

गङ्गाजमुना –२ स्थित धुसेनीका ४४ वर्षीया मीरा तामाङ दैनिक पाँचवटासम्म थुन्से बुन्नुहुन्छ । उहाँका श्रीमान् सुवास वैदेशिक रोजगारीका लागि मलेसियामा हुनुहुन्छ । उहाँले थुन्से बिक्रीबाट गरेको आम्दानीबाट चारजना छोराछोरीको पालनपोषण गर्दै आउनुभएको छ । उहाँका दुई छोरा र दुई छोरी छन् ।

“मैले थुन्सेसँग चामल, नुन, तेल, मसलालगायतका सामग्री साट्ने गरेको छु, थुन्से बिक्री गर्नुपर्‍यो भने प्रतिथुन्से रु १८० दिने गरेका छन्, पहिले रु २०० सम्ममा बेचेको थियौँ अहिले खासै राम्रो भाउ आएको छैन”, उहाँ भन्नुहुन्छ । पछिल्लो समय यस गाउँमा मोटरबाटो पुगे पनि थुन्सेको भाउ भने घटेकाले यहाँका किसान चिन्तित भएका छन् ।

यस्तै, सोही गाउँकी ७२ वर्षीया श्रीमाया तामाङ पनि निगालोका सामग्री बनाएर बिक्री वितरण गर्दै आउनुभएको छ । उहाँले निगालोका सामग्री बनाएको पचासौँ वर्ष भइसक्यो । उहाँको घरमा हाल नौ जनाको परिवार रहेको छ । “यो गाउँमा बिहे गरेर आएदेखि नै निगालोका सामग्री बनाउन सुरु गरेको हुँ, यहाँका सबै मान्छेले निगालोबाट बनेका सामग्री बनाउनुहुन्छ”, उहाँ भन्नुहुन्छ । यहाँका महिला आफैँ निगालो काटेर ल्याएर चोया काढेर निगालोका सामग्री बुन्नुहुन्छ ।

सोही गाउँका ७८ वर्षीय लेका लामा पनि लामो समयदेखि निगालोका सामग्री बनाउँदै आउनुभएको छ । लेका थुन्से, डोका, डाला, मान्द्रो, भकारी सबै सामग्री बनाउँदै आउनुभएको छ । उहाँलाई थुन्से बुन्नका लागि श्रीमती कान्छी तामाङले समेत साथ दिँदै आउनुभएको छ ।

पुख्यौली पेसा भएको कारण पनि यहाँका सबै घरका मानिस निगालोका सामग्री बनाउन व्यस्त हुँदै आएका छन् । धुसेनी, लताप र तावलमा मात्र चार सयभन्दा बढी घर रहेका छन् । यहाँका अधिकांश घरको आम्दानीको स्रोत नै निगालोका चोयाबाट बनेका सामग्री बिक्री वितरण नै हो । यहाँका बासिन्दाले आफ्नो पाखा बारी र अनुत्पादक भूमिमा निगालो खेती गर्दै आएका छन् ।

गङ्गाजमुना–२ का वडाध्यक्ष बलबहादुर तामाङ यहाँका प्रत्येक घरले वार्षिक रु एक हजारदेखि एक हजार पाँच सयसम्म निगालोबाट बनेका सामग्री बिक्री वितरण गर्दै आएको बताउनुहुन्छ । यहाँ उत्पादित निगालोका सामग्री धादिङको जिल्ला सदरमुकाम धादिङबेँसीदेखि गोरखा, चितवन, काठमाडौँ, पोखरा, लमजुङलगायतका स्थानमा बिक्री वितरण हुँदै आएको वडाध्यक्ष तामाङ बताउनुहुन्छ ।

पछिल्लो समय गङ्गाजमुना गाउँपालिकाले सफा र स्वच्छ गङ्गाजमुना अभियानसमेत सुरु गरेको छ । उक्त गाउँपालिकाभित्र उत्पादित फोहरलाई व्यवस्थापन गर्नका लागि गङ्गाजमुनाले प्रत्येक वडा र गाउँमा फोहर फाल्नका लागि निगालोबाट बनेका थुन्सेको प्रयोग गर्दै आएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठ स्थानीयस्तरमा उत्पादित सामग्रीलाई गाउँपालिकाले प्रयोगमा ल्याएर फोहर व्यवस्थापनमा लगाएको बताउनुहुन्छ । उक्त गाउँपालिकाले वडा नं १ रिगाउँदेखि वडा नं ७ बुढाथुमसम्मका प्रत्येक वडा र गाउँमा थुन्सेको प्रयोग गरेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ बताउनुहुन्छ ।

पर्यटनको अथाह सम्भावना बोकेको गङ्गाजमुना गाउँपालिकाले भर्खरै ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को समेत अन्वेषण तथा प्रवद्र्धनको कामलाई अगाडि बढाएको छ । गङ्गाजमुनाभित्र रहेको प्राकृतिक, संस्कृति र साहसिक पर्यटनको विकासका लागि गाउँपालिकाले ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल ९टान०को सहकार्यमा सम्भावित क्षेत्रको अध्ययन तथा अवलोकन गरेको छ ।

गाउँपालिकाका पर्यटन विकास संयोजक एवं वडा नं ६ का वडाध्यक्ष रमेश ढकाल पर्यटकलाई गङ्गाजमुनाभित्र आकर्षण गर्नका लागि सरसफाइ र आतिथ्यता नै महत्वपूर्ण भएको बताउनुहुन्छ । “गङ्गाजमुनालाई सरसफाइको हिसाबले नमूना गाउँपालिका बनाउनका लागि हामीले स्थानीयस्तरमा उत्पादित निगालोबाट बनेका थुन्सेलाई ‘डस्बिन’का रुपमा प्रयोग गरेका हौँ”, उहाँ भन्नुहुन्छ ।

गङ्गाजमुना गाउँपालिकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मायाको चिनोस्वरुप स्थानीय तहमा उत्पादित निगालोबाट बनेका सामग्रीलाई प्राथमिकता दिने संयोजक ढकाल बताउनुहुन्छ । उहाँले निगालोका सामग्रीलाई पर्यटन प्रवद्र्धनसँग जोड्नका लागि गाउँपालिकाले काम गर्ने बताउनुहुन्छ । रासस




भर्खरै