१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

बालबालिकालाई तेजिलो बनाउन तेक्वान्दो

बालबालिकालाई तेजिलो बनाउन तेक्वान्दो
अ अ+ अ-

कमलामाई । रातको अँध्यारोले बिहानीको उज्यालो नहुँदै झिसमिसेमा होस् वा बेलुका डुब्दै गरेको पहेँलो घामले साँझसँगै गोधुलीलाई नदेख्दै सिन्धुलीको लोकतान्त्रिक चौरमा बालबालिकाहरु उफ्रिरहेका हुन्छन् । दैनिक बिहान बेलुकाको समयमा उत्साहका साथ उनीहरु तेक्वान्दो खेल सिकिरहेका भेटिन्छन् ।

खेलले बालबालिकाको सर्वाङ्गीण विकासमा सहयोग गर्ने भएकाले शिक्षित अभिभावकले आफ्ना बालबालिकालाई सानै उमेरदेखि तेक्वान्दो खेलको अभ्यास गर्न पठाउने गरेका छन् । जिल्लाभित्रैका कतिपय ठाउँका बालबालिकाले प्रशिक्षकको अभावमा शुल्क तिरेर पनि तेक्वान्दो खेलको अभ्यास गर्न पाएका छैनन् । खेलमा विशेष रुचि भए पनि विभिन्न समस्याका कारण खेल अभ्यास गर्न पाउने अवसरबाट वञ्चित छन् । तर सिन्धुलीको सदमुकाम सिन्धुलीमाडी क्षेत्रका बालबालिकाले दैनिक नि:शुल्क तेक्वान्दो खेलको अभ्यास गर्न सक्छन् । यो अवसर यहाँका बालबालिकाले ३३ वर्षदेखि पाइरहेका छन् ।

कमलामाई नगरपालिका–४ धुराफाँटकी तुलसा श्रेष्ठ यो अभ्यासमा दुई वर्षअघिदेखि नियमित सामेल हुनुहुन्छ । बिहान सबेरै घरमा मनतातो पानी पिएर तेक्वान्दो खेल अभ्यासमा निस्कनु हुन्छ । जनज्योति माध्यमिक विद्यालय, फोस्रेटारमा माध्यमिक तहको शिक्षा प्राप्त गरिरहनु उहाँ बेलुका विद्यालयबाट पढेर घर फर्केपछि सोही कार्य दोहोर्‍याउनु हुन्छ ।

चौरमा पुगेर आफू जस्तै साथीहरुसँग दौडनुहुन्छ । टाउको, आँखा, मुख, घाँटी, औँला, नाडी, कुम, कम्मर, हिप, गोडा र पैतलाको व्यायाम गर्नु हुन्छ । खेलमा साइज स्ट्रेच, किक एक्सरसाइज लगायत खेलाडीको स्तरअनुसार सत्रुको कल्पनामा गरिने आत्मारक्षाको स्टेपहरु हुन्छन् । उहाँले यो अभ्यासका लागि बिहानको दुई घण्टा र बेलुकाको दुई घण्टा छुट्याउनु भएको छ ।

तेक्वान्दो खेलमा हाफ ब्ल्याक बेल्ड प्राप्त गरिसक्नुभएकी श्रेष्ठ खेल अभ्यासले आफ्नो क्षमता विकासमा सहयोग गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “खेल अभ्यासले खेलाडी मात्रै बनाउँदैन, असल खानपानको अभ्यास गराउँछ । समग्रमा असल नेतृत्व क्षमता भएको व्यक्तित्व निर्माण र अनुशासित बनाउन मद्दत गर्दछ । सानातिना आक्रमणलाई प्रतिकार गरेर अगाडि बढ्ने सामर्थ प्रदान गर्दछ ।”

खेल अभ्यास गर्र्र्र्ने बालबालिका पढाइबाट बचेको समयमा चौरमै भेला हुन्छन् । राम्रो जीवनशैलीका लागि असल व्यवहारका बारेमा प्रशिक्षकको प्रवचन सुन्ने, खेलको अभ्यास गर्ने र अन्य रचनात्मक र सिर्जनशील काममा केन्द्रित हुन्छन् । यसले खराब आनीबानी भएका साथी र गलत सङ्गतबाट बालबालिकालाई जोगाउन सहयोग पुगेको अभिभावकहरुको भनाइ छ ।

कनपा–७ माझीटारकी आकृति माझिकाअनुसार तेक्वान्दोका प्रशिक्षक (कोच) डम्बर आलेले तेक्वान्दो खेलसँगै असल खानपान, असल जीवनशैली, असल व्यवहार, व्यायाम, आचारण र असल सङ्गतका बारेमा पनि सिकाउनु हुन्छ । उहाँ भन्नुहुन्छ, “अस्वस्थकर खानपान र जीवनशैलीले हामीलाई विभिन्न रोगले च्याप्छ । बिहान सबेरै उठ्ने, नियमित व्यायाम गर्ने, स्वस्थकर र सन्तुलित खानेकुराहरु मात्रै खाने र हानिकारक तत्वहरुबाट बच्नु पर्छ ।”

तेक्वान्दोलाई विशुद्ध खेलमात्र नभए स्वस्थ, तन्दुस्त, निरोगी र फुर्तिलो रहने उत्तम व्यायामका रुपमा लिनुहुन्छ, कमलामाई नगरपालिका–७ सिन्धुलीका स्थानीवासी तथा तेक्वान्दो खेलका प्रशिक्षक (कोच) डम्बर आले ।

विसं २०४८ देखि सिन्धुलीमा निरन्तर नि:शुल्क तेक्वादो खेल सिकाउँदै आउनुभएको छ । खेलले स्वास्थ स्वस्थ, निरोगी बनाइराख्न र बालबालिकालाई आँटिलो र तेजिलो बनाने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कसैले कुनै पनि प्रकारको हिंसा गरेमा प्रतिकार गर्न सक्ने क्षमताको विकास गर्दछ । खेलले शारीरिक, मानसिक स्वास्थ्य स्वस्थ राख्न मद्दत गर्दछ । लागुऔषध दुव्र्यसनी र मोबाइल, इन्टरनेटको लतबाट बचाउनसमेत खेलले सहयोग गर्दछ ।”

ध्यान, आत्मरक्षा, आत्मविश्वास, आत्मसम्मान, अनुशासन तथा व्यक्तित्व विकासका लागि बालबालिकाई तेक्वान्दो खेल अभ्यास गराउन उहाँ सम्पूर्ण अभिभावकलाई सुझाव दिनुहुन्छ । प्रशिक्षक आलेका अनुसार तेक्वान्दो अभ्यास गरेका बालबालिकालाई खेलको अलवा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, वन रक्षक जस्तो क्षेत्रमा प्रवेश गर्न सजिलो भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले प्रत्येक विद्यालयमा एक जना खेलकुदका लागि शिक्षक राख्ने नीति लिएको भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको उहाँको गुनासो छ । कमलामाई नगरपालिकाभित्र रहेका पाँच वटा बोडिङ स्कुलले भने कार्यान्वयनको सुरुआत गरेका छन् । “तीनै तहका सरकारले खेल क्षेत्रलाई थप व्यवस्थित र विकाससँगै विस्तार गर्न जरुरी छ”, प्रशिक्षक आले भन्नुहुन्छ, “तेक्वान्दो खेलको विकास र विस्तारले देशमा स्वस्थ नागरिक उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।”

उहाँले हाल २० वर्षमुनिका ५० जनाभन्दा बढी बालबालिकालाई दिनुहुँ नि:शुल्क तेक्वान्दो सिकाइरहनु भएको छ । अभिभावक अनिता तामाङ तेक्वान्दो खेल तालिममा जान थालेपछि आफ्नो छोरीमा धेरै परिर्वतन आएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “खेलले बालबालिकालाई हरेक क्षेत्रमा सबल र सक्षम बनाउन सहयोग गरेको छ । असल खानपान, असल व्यवहार र अनुशासित बन्न पनि प्रेरित रहेको छ ।

नि:शुल्क तेक्वान्दो सिक्ने अवसरको बढी लाभ बालिका तथा किशोरीहरुले लिन पाएका छन् । पहिला तेक्वान्दो खेलको अभ्यास गर्ने बालक र किशोर मात्रै हुने गर्दथे । खेलबाट आफ्नो आत्मारक्षा आफैँले गर्न सक्ने क्षमताको विकास हुने बुझाई जनमानसमा विस्तार हुँदै गएकाले पछिल्लो समय तेक्वान्दो अभ्यासमा बालिका र किशोरीको उल्लेखनीय सहभागिता देखिन थालेको छ । बालबालिका मात्रै होइन, मोटोपनाबाट ग्रसितहरुले पनि तेक्वान्दोको सहारा लिएर शरीरलाई सन्तुलनमा राख्न थालेका छन् । सिन्धुलीगढी तेक्वान्दो दोजाङ र जिल्ला तेक्वान्दो सङ्घका अनुसार हाल जिल्लाभर चार सय तेक्वान्दोका खेलाडी छन् । रासस