१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

मुस्ताङका च्याङग्राको भुवा परीक्षण

मुस्ताङका च्याङग्राको भुवा परीक्षण
अ अ+ अ-

म्याग्दी । मुस्ताङका कृषकले पालेका च्याङग्राको भुवा (पश्मिना बनाउने कच्चा पदार्थ) को गुुणस्तर परीक्षण गरिएको छ ।

अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद्अन्तर्गतको नेपाल पशु प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्र, नेपाल पश्मिना सङ्घ र च्याङग्रा पश्मिना किसान सङ्घको समन्वयमा नेपालमै पहिलो पटक भुवाको परीक्षण गरेको हो ।

एक वर्षअघि मुस्ताङमा सङ्कलन गरेर मङ्गोलियामा रहेको अन्तर्राष्ट्रिय प्रयोगशालामा  पठाइएको भुवाको गुणस्तर परीक्षणसम्बन्धी प्रतिवेदन केही दिनअघि प्राप्त भएको नेपाल पश्मिना उद्योग सङ्घका उपाध्यक्ष धनप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

“विज्ञहरुको टोली मुस्ताङमा आएर भुवाको नमुना सङ्कलन गरी परीक्षणका लागि प्रयोगशालामा लैजानु भएको थियो”, उहाँले भन्नुभयो “मुस्ताङका च्याङग्राको भुवाको गुणस्तर पश्मिनाको कच्चा पदार्थको रुपमा प्रयोग गर्न उपयुक्त रहेको प्रतिवेदन प्राप्त भएको छ ।”

परीक्षणपछि नेपालमा पश्मिनाको कच्चा पदार्थको भुवाको स्रोत रहेको अन्तर्राष्ट्रिय स्तरमा सन्देश प्रवाह भएको, च्याङग्रापालन बिस्तार र पश्मिना उद्योगको सम्भावना बढेको लामिछानेले बताउनुभयो ।

लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, बारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाबाट च्याङग्रा भुवाको आठ सय वटा नमुना सङ्कलन गरी परीक्षणका लागि लगिएको थियो । चार वटै पालिकाका एक सय ६० किसानहरुले पालेका पाँच/पाँच वटा फरक–फरक, भूगोल, तौल, रङ र उमेर समूहका च्याङग्राको शरीरबाट  भुवा निकालिको थियो ।

सङ्कलित नमूनालाई पश्मिनाको मोटाई र लम्बाई मापन गर्ने अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशाला तथा नेपाल गुणस्तर तथा नाप तौल विभागमा व्यावसायिक गुणस्तर परीक्षणका लागि पठाइएको अन्तर्राष्ट्रिय व्यापार केन्द्रका परामर्शदाता सिचन श्रेष्ठले बताउनुभयो ।

प्राप्त प्रतिवेदनले च्याङग्राको नश्ल सुधार, गोठको संरचनालाई व्यवस्थित र आधुनिक बनाउन तथा भुवा निकाल्न आधुुनिक काँइयोको प्रयोग गर्न कृषकहरुलाई सुझाव दिएको छ । प्रतिवेदनको सुुझाव कार्यान्वयनका लागि कार्ययोजना बनाउन कृषक र स्थानीय तहका जनप्रतिनिधिसँग छलफल शुरु गरिएको पश्मिना उद्योगी सङ्घले जनाएको छ ।

लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले च्याङ्गापालनबाट कृषकहरुलाई मासुमा बिक्री र पश्मिनाका लागि भुवा उत्पादन गरेर दोहोरो लाभ लिने सम्भावना रहेको बताउनुभयो । च्याङग्रापालनलाई थप व्यावसायिक, आधुनिकीकरण र सङ्ख्या वृद्धि गर्न पहल गरेको अध्यक्ष बिष्टले बताउनुभयो ।

प्राकृतिक रुपमा विरलै उत्पादन हुने च्याङग्राको भुवाबाट मात्रै प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन गरिने पश्मिनाको व्यावसायिक माग बढ्दो छ । राम्रो गुणस्तरको च्याङ्ग्र्रा पश्मिनाका लागि आकर्षक मूल्य तिर्न नेपाली खरिदकर्ता तयार भएकाले च्याङ्ग्रापालक कृषकहरुले राम्रो आम्दानी गर्न सक्ने सम्भावना छ ।

नेपालबाट विदेश निर्यात हुने प्रमुख वस्तु पस्मिना बनाउन च्याङग्राको भुवा प्रशोधन गराएर बनाएको धागो कच्चा पदार्थको रुपमा प्रयोग हुन्छ । नेपाल पश्मिना उद्योग सङ्घका अनुसार नेपालबाट वार्षिक रु तीन अर्बको पस्मिना निर्यात हुन्छ भने वार्षिक एक सय ९५ टन पस्मिना बनाउन आवश्यक भुवाको धागो आयात हुन्छ ।

आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका कृषकबाट पछिल्लो दुई वर्षयता च्याङ्ग्राको भुवा खरिद गर्न थालिएको पश्मिना उद्योगी भिम शेरचनले बताउनुभयो ।

बजारको सुनिश्चितता नभएकाले मुस्ताङका कृषकले यसअघि ऊन निकाल्ने गरेका थिएनन् । शरीरबाटै झरेर खेर जाने गरेको थियो । तीस प्रतिशतको हाराहारीमा ऊन निकाले पनि बजार नपाउने समस्या थियो । नेपाल फाइवर प्रोसेसिङ उद्योगले लोमान्थाङमा भुवा सङ्कलन र काठमाडौँमा प्रशोधन केन्द्र स्थापना गरेको छ ।

वैशाख–जेठ महिनामा च्याङग्राको शरीरबाट भुवा निकाल्ने याम हो । भुवा निकाल्ने सीप र नयाँ प्रविधि हस्तान्तरणका साथै तालिम प्रदान गरिएको छ । च्याङग्राको भुवा पस्मिनाका लागि ‘क’ श्रेणीको कच्चा पदार्थ हो । भेडा र चौरीको तुलनामा च्याङग्राको भुवालाई गुणस्तरीय मानिएको छ ।

मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायतका ठाउँका कृषकहरुले व्यावसायिक च्याङ्ग्रापालन गरेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार यी स्थानमा ५२ हजार च्याङग्रा पालिएको छ । रासस