१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

आकर्षक ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’

आकर्षक ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’
अ अ+ अ-

गङ्गाजमुना ।  स्वच्छ हावापानी, घना जङ्गल, चराको चिरबिर आवाज, जङ्गलभित्र ढकमक्क फुलेका लालीगुँरास, रुख काफल, पाइलैपिच्छे औसेलीका झ्याङ, एकै किसिमका बस्ती, यो दृश्य धादिङको गङ्गाजमुनामा रहेको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को हो ।

प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनको अथाह सम्भावना बोकेको गङ्गाजमुना गाउँपालिकाले ट्रेकिङ एजेन्सिज् एशोसियशन अफ नेपाल ९टान० सँगको सहकार्यमा भर्खरै ‘ग्रीन ट्रेकिङ ट्रेल’ का रुपमा ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’लाई अगाडि बढाएको छ ।

मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट पाँच घण्टाको सडकमार्गबाट पुगिने गङ्गाजमुना गाउँपालिकाको नाम धार्मिक तीर्थस्थल गङ्गाजमुना झरना तथा मन्दिरबाट राखिएको हो । उक्त झरना तथा मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशीको दिनमा ठूलो मेला लाग्ने गर्दछ । कूल सात वडा रहेको गङ्गाजमुनाले सबै वडालाई समेटेर ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’लाई अगाडि बढाएको हो । समुन्द्र सतहदेखि ५५० मिटर उचाइमा रहेको गोरखाको आरुघाट गाउँपालिका वडा नं ४ आर्खेत बजारदेखि बुढाथुम–बाथलडाँडा–लामोपुल–बसेरी–भैँसे–तीनसुरे–पोखराडाँडा–री–गुम्दी हुँदै फूलखर्क जोड्ने उक्त पदमार्गलाई गाउँपालिकाले गौरवको योजनाका रुपमा अगाडि बढाएको छ ।

गाउँपालिकाभित्र ‘क्यानोनिङ’ गर्नका लागि ठूलाठूला झरना, ‘रक क्वाइबिङ’का लागि ठूलाठूला चट्टानका पहरा, पर्यटक सत्कारका लागि होमस्टे, जीपलाईन, नेपालकै दोस्रो अग्लो र लामो झोलुङ्गेपुललगायतका पर्यटनलाई मनोरन्जन दिने खालका पूर्वाधार रहेका छन् । गङ्गाजमुना गाउँपालिकाका पर्यटन विकास समितिका संयोजक एवं वडा नं ६ का वडाअध्यक्ष रमेश ढकाल गोरखाको चुमभ्याली र धादिङको रुविभ्यालीलाई जोड्ने वैकल्पिक पदमार्ग ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’ भएको बताउनुुहुन्छ । “गङ्गाजमुनाभित्र रहेको प्राकृतिक सम्पदा, सांस्कृतिक सम्पदा र धार्मिक सम्पदामार्फत पर्यटन प्रवर्द्धन गर्नका लागि नयाँ पदमार्ग निर्माण गरिएको हो”, उहाँ भन्नुहुन्छ ।

बूढीगण्डकीको ‘र्‍याफ्टिङ’को मज्जाबाट सुरु गर्न सकिने उक्त पदमार्गमा बुढाथुमको कालिका मन्दिरको अवलोकन गरी बाथलडाँडाको जीपलाइनको मज्जा लिन सकिन्छ । गाउँपालिकाको वडा नं ७ स्थित बाथलडाँडा र वडा नं ६ बसेरी जोड्ने नेपालकै दोस्रो झोलुङ्गे पुलसमेत उक्त पदमार्गमा पर्दछ । तीनसय ५० मिटरको उचाइमा रहेको उक्त पुल ४२० मिटर लामो रहेको छ ।

बुढाथुमबाट बसेरी प्रवेश गरेसँगै बसेरीमा निर्माण गरिएको ‘बसेरी फार्म हाउस’ले पर्यटकलाई अर्को मज्जा दिन्छ । पूर्व पर्यटन व्यवसायीसमेत रहनुभएका वडाध्यक्ष ढकाल स्थानीयस्तरमा उत्पादित अग्र्यानिक खानाबाट पर्यटन प्रवद्र्धन गर्नका लागि ‘बसेरी फार्म हाउस’ सञ्चालनमा ल्याइएको बताउनुहुन्छ । उक्त फार्म हाउसमा ५० जना पर्यटक बस्न मिल्ने व्यवस्था मिलाइएको छ ।

वडा नं ६ मा पर्यटकलाई बस्नका लागि ‘भैँसे होमस्टे’ समेत सञ्चालनमा ल्याइएको छ । तामाङ जातीको बाहुल्यता रहेको भैँसे गाउँमा तामाङको संस्कृतिमार्फत पर्यटन प्रवद्र्धन गर्नका लागि ‘होमस्टे’ सञ्चालनमा ल्याइएको वडाअध्यक्ष ढकाल बताउनुहुन्छ ।

भैँसे होमस्टेदेखि उक्त पदमार्ग हिले वन हुँदै बन्दीडाँडा पुग्दछ । बन्दी डाँडाबाट अदुचेत खर्क, नाङ्गे चौरको वन, गोरखा र धादिङको साँधमा रहेको घुमाउने खोला, धरेन खर्क हुँदै समुन्द्र सतहदेखि दुई हजार ९२० मीटर उचाईमा रहेको ‘तीनसुर भ्यू टावर’ पुग्न सकिन्छ । बाटोमा विभिन्न प्रकृतिका चराको आवाज, जङ्गलभित्र ढकमक्क फुलेका फरक रङका लालिगुँरास, रुख काफल, औसेलीका झ्याङ देख्न सकिन्छ । यसका अलावा उक्त जङ्गलभित्र जम्बु, गुयली, झिगान, लाकपार, कालीकाठ, धरकौला, उत्तिस, गोब्रे सल्ला, लौठसल्ला, तिते निगालो, घोडे निगालो, सिगाने निगालोलगायतका सयौँ किसिमका वोटविरुवा देख्न सकिन्छ ।

तीनसुरे भ्यू टावरमा परम्परागत रुपमा बनाइएका दुईवटा गुम्बा रहेका छन् । भ्यू टावरबाट गोरखा जिल्लाको पातलेखर्क, मान्वु, स्याम्चेत, कटुञ्जे, धार्चे, स्याम्च्याङ, आर्खेत, थुमी, माछाखोला, सिङ्ला, काशीगाउँ, उइउा, लाप्राकलगायतका स्थानहरु देख्न सकिन्छ भने धादिङ जिल्लाको खनीयाबास र रुवीभ्याली गाउँपालिका, फुलखर्क, मझुवा, डाँडाखर्क पैँयुखर्क, आलुपोखरा, गणेश हिमाल, त्रिपुरासुन्दरी, रसुवा, नुवाकोट, काठमाडौँ, चितवनका विभिन्न भाग देख्न सकिन्छ ।

समुन्द्र सतहदेखि दुई हजार ९२० मिटर उचाइमा रहेको तीनसुरे प्राकृतिक हिसाबले अत्यन्त सुन्दर डाँडो हो । यहाँबाट धौलागिरि, अन्नपूर्ण, गणेश हिमाल, लाङटाङ, हर्क गुरुङ हिमाल, मनास्लुगायत आधा दर्जनभन्दा बढी हिमालहरु नजिकै देख्न सकिन्छ । तीनसुरे डाँडाले गोरखाको चुमभ्याली र धादिङको रुविभ्यालीलाई समेत जोडेको छ । यहाँबाट गङ्गाजमुना गाउँपालिकाको वडा नं १ र २ मा रहेको पासाङ चोक महादेव मन्दिरसमेत पुग्न सकिन्छ ।

गङ्गाजमुना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठ गङ्गाजमुनाको पर्यटन विकासका लागि गाउँपालिकाले पर्यटन नीति बनाएर अगाडि बढेको बताउनुहुन्छ । “गङ्गाजमुनाले अगाडि बढाएको पाँचवटा गौरवको आयोजनामध्ये तीनवटा आयोजना पर्यटन क्षेत्रका रहेका छन्, गङ्गाजमुनाले पर्यटन क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिएको छ,” उहाँ भन्नुहुन्छ ।

गाउँपालिकाले ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’लाई गोरखाको मनास्लुदेखि धादिङको लाङटाङ जाने ‘इन्ट्री प्वाइन्ट’का रुपमा समेत लिएको छ । यस्तै केन्द्रीय सरकारको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लगानीमा ‘गङ्गाजमुना पर्यटन पूर्वाधार विकास योजना’ अन्तर्गत गङ्गाजमुना मन्दिर परिसरमा मन्दिर, भजन मण्डली, पाहुना घर, गुम्बा निर्माण कार्य अगाडि बढाइएको छ ।

तीनसुरे डाँडा र वनलाई समेटेर गणेश पर्वत संरक्षण क्षेत्रका रुपमा विकास गर्नका लागि गाउँपालिकाले गौरवको योजनाका रुपमा अगाडि बढाएको हो । गाउँपालिकाले गौरवका योजनाका साथै होमस्टे प्रवद्र्धन कार्यक्रमका लागि गाउँपालिकाको वडा नं ३ स्थित अम्बोटे गुरुङ गाउँमा ‘होमस्टे’, वडा नं ६ को भैँसे गाउँमा ‘भैँसे पाहुना घर’ निर्माण गरेको छ ।

गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि ‘कुकिङ’ तालिम, पर्यटन सत्कार तालिम, धर्म संस्कृति संरक्षण, गोरु जुधाई कार्यक्रम, नक्साङ्कन होर्डिङ बोर्ड निर्माण, पासाङ चोक महादेव मन्दिर पर्यटन पूर्वाधारलगायतका कामलाई अगाडि बढाउन रु एक करोड रकम विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ बताउनुहुन्छ ।

उक्त पदमार्गमा पर्ने गङ्गाजमुना गाउँपालिका–३ स्थित आलुपोखरामा गुरुङ संस्कृतिको अवलोकन गर्न सकिन्छ । गुरुङ जातिको मुख्य संस्कृति कौरा, चुड्का, रोधीलाई आलुपोखराका गुरुङले अगाडि बढाएका छन् । गाउँपालिकाको उचाइमा रहेको यस बस्तीमा होमस्टे सञ्चालन गर्नका लागि वडाले पहल गरिरहेको वडा नं ३ का वडाअध्यक्ष राजकुमार गुरुङ बताउनुहुन्छ ।

आलुपोखराबाट चिम्चोक हुँदै वडा नं २ र ३ को सीमानामा रहेको तप्राङ खोलामा पुग्न सकिन्छ । उक्त खोलामा रहेको तेम्बाह्यारा भीर भीरमौरीको लागि प्रख्यात भीर हो । तामाङ भाषामा तेम्बाको अर्थ ‘मौरी’ र ह्याराको अर्थ ‘भीर’ भन्ने हुन्छ । वडा नं २ मा रहेको तेम्बाह्यारा भीरमा विगत दुईसय वर्षदेखि भीरमौरीको मह निकालिँदै आएको सो वडाका वडाध्यक्ष बलबहादुर तामाङ बताउनुहुन्छ । त्यहाँ उत्पादित भीरमौरीको मह राजधानी काठमाडौँलगायत विभिन्न स्थानमा विक्रिवितरण गरिँदै आएको छ । उक्त महको प्रतिमाना एक हजार ५०० देखि दुई हजारसम्ममा विक्री वितरण हुँदै आएको छ ।

तेम्बाह्यारा भीरमा जोडिएको लताप गाउँ, धुसेनी, तावललगायतमा तामाङ समुदायको बसोबास रहेको छ । वडा नं २ मा रहेको उक्त गाउँको प्रमुख आयस्रोत निगालो खेती र कफी खेती हो । यहाँका बासिन्दाले निगालोबाट थुन्से, डोका, डाला, मान्द्रो, भकारी बनाएर विक्री गर्दै आएका छन् । यस्तै कफीबाट समेत स्थानीयवासीले राम्रो आम्दानी गरेका छन् ।

वडा नं १ री गाउँमा समेत तामाङ जातिको बाहुल्य रहेको छ । धादिङको रुवीभ्याली र खनियाबास गाउँपालिकासँग जोडिएको वडा नं १ का बासिन्दाको समेत आम्दानीको स्रोत कफीखेती र निगालो रहेको वडाध्यक्ष बहादुर तामाङ बताउनुहुन्छ । वडा नं १ र २ को सिमानामा रहेको पासाङ चोक मन्दिर जानका लागि री गाउँको बाटो हुँदै जाँदा सहज हुन्छ ।

यस्तै, वडा नं ३ मा रहेको अम्बोटे ‘होमस्टे’ समेत पर्यटक आकर्षणको अर्को गन्तव्यस्थल हो । भारतीय सेनामा जागिर खाएर अवकासप्राप्त गुरुङ समुदायका १६ घर परिवार मिलेर दुई वर्षदेखि सञ्चालन गरिएको अम्बोटे ‘होमस्टे’ घुम्नका लागि अहिले धादिङ, चितवन, काठमाडौँ, पोखरालगायतका स्थानबाट मानिसहरु आउने गर्दछन् । गुरुङ समुदायको संस्कृति र अग्र्यानिक खानामार्फत पर्यटन प्रवद्र्धनमा जुटेको उक्त होमस्टे गाउँपालिकाकै नमूना होमस्टेका रुपमा विकास हुँदै गएको छ ।

होमस्टे सञ्चालक समितिका अध्यक्ष उत्तम गुरुङ अम्बोटे ‘होमस्टे’मा स्थानीय स्तरमा उत्पादित अग्र्यानिक खाद्यान्न र स्थानीय संस्कृतिमार्फत मज्जा लिन सकिने बताउनुहुन्छ । उक्त होमस्टेमा ५० देखि ६० जनासम्म बस्न मिल्ने क्षमता रहेको छ । होमस्टेमा खान र बस्नका लागि एक रातको रु ६०० देखि एक हजार २०० सम्म लाग्ने गर्दछ ।

यस्तै, वडा नं ४ मा रहेको माछापोखरीले समेत पर्यटकलाई आकर्षित गर्दछ । वडा नं ४ को दशमिन्द टोलमा रहेको माछापोखरीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको छ । उक्त वडामा कालिका मन्दिर, रातमाटेको पोखरी मन्दिर, मण्डली मन्दिर, मष्टमण्डली मन्दिरलगायतका धार्मिक तीर्थस्थल रहेको वडाअध्यक्ष प्रेमबहादुर घले बताउनुहुन्छ । सो वडामा घले, गुरुङ, क्षेत्री, ब्राम्हण, दलितलगायतका समुदायको बसोबास रहेको छ ।

गङ्गाजमुना–७ का वडाध्यक्ष रवीन अधिकारी नयाँ पदमार्ग अगाडि बढाएसँगै गङ्गाजमुना गाउँपालिकाको पर्यटकीय विकासमा निकै सहयोग पुग्ने बताउनुहुन्छ । “आर्खेतदेखि रीसम्मको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई अगाडि बढाउने यो पदमार्गको मुख्य लक्ष्य हो,” उहाँ भन्नुहुन्छ ।

गङ्गाजमुना गाउँपालिकाले प्रकृति र संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको कार्यक्रमलाई विशेष योजनाका साथ अगाडि बढाएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं ५ का वडाध्यक्ष कुमार अधिकारी बताउनुहुन्छ । “यस गाउँपालिकाको पर्यटकको आकर्षणको मुख्य स्थान भनेको गङ्गाजमुना झरना र मन्दिर नै हो,” उहाँ भन्नुहुन्छ ।

पछिल्लो समय जथाभावी रुपमा स्थानीय निकायले मोटरबाटो खनेर पदमार्ग मासिरहेका बेला गङ्गाजमुनाले भने गाउँपालिकाभित्रका सातवटै वडा जोड्ने गरी नयाँ पदमार्ग अगाडि बढाएको हो । ‘कृषि, पर्यटन र पूर्वाधार : गङ्गाजमुना विकासको आधार’ भन्ने मूल नारा बोकेको उक्त गाउँपालिकाले अन्य गाउँपालिकाको सहकार्यमा नर्सिङ धाम–गङ्गाजमुना–सल्यानकोट माई मन्दिरलाई धार्मिक पर्यटन सर्किटका रुपमा विकास गर्न गाउँपालिका लागेको सो गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडा बताउनुहुन्छ ।

प्राकृतिक मनोरञ्जनसँगै ब्राम्हणको भजन, नेवारको लाखे नाच, लामाको परम्परागत घोडा नाच, गुरुङको घाँटु नाच,  मगर, राई, घलेलगायतका परम्परागत संस्कृतिमार्फत पर्यटन प्रवद्र्धनमा गाउँपालिका लागेको छ । गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामा धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक महत्व भएको गङ्गाजमुनामा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्नका लागि ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’लाई अगाडि बढाइएको बताउनुुहुन्छ ।

यस पदमार्गलाई अगाडि बढाउनका लागि काठमाडौँमा बसेका धादिङका पर्यटन व्यवसायीसँग समेत सहकार्य गरेर अगाडि बढ्ने उहाँको भनाइ छ । धादिङको गङ्गाजमुनामा जन्मेर सङ्घीय राजधानी काठमाडौँमा आई पर्यटन व्यवसयामा आवद्ध १०० भन्दा बढी होटल, रेष्टुरेन्ट तथा ट्रेकिङ कम्पनी रहेका छन् । यसअघि नेपाल पर्यटन वोर्डको आर्थिक सहयोगमा गङ्गाजमुना गाउँपालिकामा रु एक करोडभन्दा बढी लगानीमा ‘हिमालयन स्काई ट्रेल’ निर्माण भएको थियो । उक्त ट्रेलको त्यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास र तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीले शुभारम्भ गर्नुभएको थियो ।

गङ्गाजमुनाका स्थानीयबासी एवम् टानका पूर्व अध्यक्ष ज्योति अधिकारी आन्तरिक तथा बाह्य पर्यटकको अथाह सम्भावना गङ्गाजमुनामा पर्यटन विकासका लागि गङ्गाजमुनाकै पर्यटन व्यवसायीहरु लाग्नुपर्ने बताउनुहुन्छ । “सबै व्यवसायीले आफ्नो क्षेत्रलाई नमूना बनाऔँ, आन्तरिक र बाह्य पर्यटक आउन समस्या हुँदैन,” उहाँ भन्नुहुन्छ ।

यसअघि धादिङको रुवीभ्याली र गोरखाको चुमभ्यालीलाई जोड्ने वैकल्पिक पदमार्गका रूपमा उक्त पदमार्गलाई खोज, अनुसन्धान, ‘डिजाइन’, योजना निर्माण एवम् प्रवद्र्धधनका लागि गाउँपालिकाले टानसँग सम्झौता गरेको थियो । सम्झौतासँगै टानले गङ्गाजमुना तीनसुरे पदमार्गको ‘ट्रेल प्रोफाइल’ प्रतिवेदन तयारी, पदमार्ग विकास तथा प्रवद्र्धन योजना तयारी, पदमार्गको नयाँ नक्सा प्रकाशित, पदयात्रा मार्ग प्रवद्र्धधनात्मक वृत्तचित्र तथा ‘ब्रोसियर’ निर्माण, पदमार्गमा पर्यटन सूचना ‘साइनबोर्ड’ राख्नेलगायतका काम गर्ने टानका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दाहाल बताउनुहुन्छ ।

टानले यसबाहेक गोरखाको बारपाक–सुलिकोट गाउँपालिकादेखि अजिरकोट गाउँपालिका, लमजुङको दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका हुँदै मस्र्याङ्दी गाउँपालिका जोड्ने ‘बुद्ध हिमाल–हिमचुली ग्रेट लेक सर्किट ट्रेल’ निर्माण गर्न लागेको छ । उक्त पदमार्ग १८ दिनको हुनेछ । यसैगरी काभ्रेपलाञ्चोकको चौँरी देउरालीमा तिमालबाट चौँरी देउराली हुँदै शैलुङ जोड्ने पदयात्रा मार्गको विकास र प्रवद्र्धन गर्नका लागि टानले सो नगरपालिकासँग सम्झौता गरेर काम अगाडि बढाइसकेको छ ।

टानका  अध्यक्ष निलहरि बास्तोला पछिल्लो समय स्थानीय सरकारले जथाभावी रूपमा मोटरबाटो खन्दा पदमार्ग मासिँदै गएको बताउनुहुन्छ । “स्थानीय सरकारले जथाभावी रूपमा मोटरबाटो खन्दा धेरै पदमार्ग मासिँदै गएका छन्, यसलाई जोगाउँदै नयाँ पदमार्ग निर्माणका लागि टानले विभिन्न संस्थासँगको सहकार्यमा काम गरिरहेको छ,”– उहाँ भन्नुहुन्छ ।

अक्टोबर, नोभेम्बर, डिसेम्बर, जनवरी, फेब्रुअरी भने मनोमोहक दृश्य देखिने भएकाले साहसिक पर्यटकका लागि आकर्षक हुन्छ । सगरमाथा आधार शिविर, अन्नपूर्ण, मनास्लु, कञ्चनजंगा क्षेत्र पदयात्राका लागि राम्रा गन्तव्य हुन् । नेपालमा आउने पर्यटकमध्ये १० देखि १५ प्रतिशत पर्यटक पदयात्राका लागि  जाने गरेको नेपाल पर्यटन वोर्डका सूचना अधिकारी मणिराज लामिछाने बताउनुहुन्छ । पछिल्लो समय पदयात्रामा जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्न थालेको छ । अन्नपूर्ण, सगरमाथा, लाङटाङ, मुस्ताङ, डोल्पालगायत आकर्षक गन्तव्यका रूपमा चिनिन्छ । विश्वका विभिन्न ट्राभल एडभाइजरहरूले पनि नेपालका विभिन्न पदयात्रा मार्गहरूलाई विश्वकै उत्कृष्ट गन्तव्यस्थलको रूपमा व्याख्या गरेका छन् । रासस