१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुक मुठभेडको राजनीतिमा जाने आशंका (भिडियो सहित )



अ+ अ-

 काठमाण्डौ । पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले प्राविधिक पक्षको जटिलताका कारण तोकिएको मितिमा निर्वाचन हुन गाह्रो रहेको बताउनुभएको छ । 
बुधबार काठमाडौँमा आयोजित प्रतिनिधि सभा विघटन र संवैधानिक अन्योल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले प्राविधिक पक्षको जटिलताको कारण वैशाख १७ र २७ गतेको निर्धारित मितिमा निर्वाचन हुन गाह्रो रहेको बताउनुभएको हो ।

उहाँले कुनै चमत्कार भइहालेमा मात्रै निर्धारित मितिमा निर्वाचन हुने टिप्पणी गर्नुभयो । पोखरेलले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कानुनी रुपमा फुट्ने गरी निर्वाचन आयोगमा गएको अवस्थामा पार्टीको विभाजन सम्बन्धी विवादको निरुपण गर्न नै अयोगलाई कम्तिमा ६० दिन लाग्ने बताउनुभयो । निर्वाचनसम्बन्धी अरु प्रक्रिया टुंग्याउन पनि महिनौँ लाग्ने र समय अभावका कारण निर्धारित मितिमा निर्वाचन हुने कुरामा पत्याउन नसकिने उहाँको भनाई छ ।
पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले अदालतले संसद विघटन अथवा संसद पुर्नस्थापना जुन पक्षमा निर्णय दिएपनि मुलुकको जित नुहुने टिप्पणी गर्नुभयो । मुलुक मुठभेडको राजनीतिमा जाने उहाँको भनाई छ । उहाँले निर्वाचन जितेर जाने नेताले सत्ता कब्जा गर्ने नभई सत्ता सञ्चालन गर्नुपर्ने भएकाले कब्जा हुन नदिन भएका त्रुटीहरुलाई सच्याउनुपर्ने बताउनुभयो ।

वर्तमान निर्वाचन प्रणाली सुधारको आवश्यकता रहेको उहाँले औँल्याउनुभयो । पोखरेलले संसदलाई बलियो बनाउनुपर्ने र राजनीतिबाट पुरानो पुस्ताका नेताहरुले बिश्राम लिनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा बोल्दै पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीले संसद विघटन संविधान विपरित भएको बताउनुभयो ।

सरकार गठन हुनसक्ने अवस्था छ भने विघटन गर्न नपाइने व्यवस्था संविधानले गरेको उहाँको भनाई छ । उहाँले यतिखेर देशको विकास निर्माणको काम पनि रोकिएको तथा यस्तो बेलामा बाहिरी हस्तक्षेप हुने योजना पनि बन्नसक्ने भएकाले मुलुक संकटमा रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन कुमार थापाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले शासन गर्ने वैधानिकता सकिएको बताउनुभएको छ ।   नेता थापाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले शासन गर्ने वैधानिकता र वैधता सकिएको बताउनुभएको हो । नेकपाले निर्वाचनबाट प्राप्त जनादेश गुमाएको उहाँको भनाई छ । जनादेश गुमाउँदा राजनीतिक निष्ठाको आधारमा जनतासँग क्षमा माग्नुपर्ने भएपनि दुवै पक्षले क्षमा नमागेको उहाँले बताउनुभयो ।
नेता थापाले सर्वोच्च अदालतमाथि सबैले आशाको नजरले हेरेको भन्दै संविधान अनुरुप सहि फैसला गर्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता रमेश लेखकले संविधान र लोकतन्त्रमा कम विश्वास गर्नेले संसद विघटन गरेको बताउनुभयो । कम्युनिष्टको अधिनायकवादी र सर्वसत्तावादी चेतनाको कारण संसदी विघटन भएको उहाँको भनाई छ । यसको सम्पूर्ण अब्जस नेकपाले बोक्नुपर्ने उहाँले बताउनुभयो ।
नेता लेखकले नेपाली कांग्रेस संसद पुर्नस्थापनाको निम्ति भुमिका निर्वाह गर्ने र सर्वोच्च अदालतले संसद पुर्नस्थापना नगरे निर्वाचनमा सहभागी हुने बताउनुभयो । पुर्नस्थापना पनि नहुने र निर्वाचन पनि नहुने अवस्थामा नेपाली कांग्रेस आन्दोलनमार्फत संविधानलाई ट्रयाकमा ल्याउन तयार रहेको उहाँको भनाई छ ।