• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक



म्याग्दी: चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा आजदेखि ऐतिहासिक र सांस्कृतिक महत्वको ‘तिजी’ पर्व मनाउन सुरु भएको छ । लोमान्थाङ दरबारमा बौद्ध धर्मगुरु पदम्सम्वा रिम्पोचेको तस्विर अङ्कित ठूलो आकारको थाङ्का प्रदर्शनी र धार्मिक विधिअनुसार पूजाआजा गरेर तिजी पर्व मनाउन थालेका हुन् ।

दुई तले घर बराबरको उचाइ भएको थाङ्का वर्षको एक दिन मात्र दरबारबाट बाहिर निकालेर सर्वसाधारणलाई पूजाआजा र अवलोकनका लागि खुला गरिन्छ । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका दश वटा वडाका बासिन्दाले हरेक वर्षको जेठ कृष्ण द्धादशी तिथिदेखि तीन दिन ‘तिजी’ पर्व मनाउने गर्दछन् । तिजी लोवा समुदायले मनाउने सवैभन्दा ठूलो र प्रख्यात पर्व भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले बताउनुभयो ।

“दुई पालिकाका बासिन्दाका साथै तिजी पर्व मनाउन विदेशी पर्यटक पनि उल्लेख्य मात्रामा लोमान्थाङ्मा आएका छन्,” उहाँले भन्नुभयो “तीजी पर्व संस्कृति र परम्परा मात्र नभएर पर्यटक भित्र्याउने माध्यम पनि बनेको छ ।” लोमान्थाङ दरबार र गाउँका पूजारी आम्ची घ्याचो विष्टले सम्पूर्ण प्राणीको हितका लागि ३ दिनसम्म पूजाआजा र विभिन्न पौराणिक तथा मौलिक नृत्य प्रदर्शन गरेर तिजी पर्व मनाउने गरिएको बताउनुभयो । “प्राकृतिक प्रकोप, रोगब्याधी, महामारी, अनिकाल जस्ता अनिष्ट नहोस् भन्ने कामना गरेर पूजाआजा गर्दछौँ,” उहाँले भन्नुभयो “पहिलो दिन जमिनका देवीदेवता, दोस्रो दिन समाजलाई दुःख दिने राक्षसको अन्त्य र तेस्रो दिन राक्षसलाई लखेटेको अभिनय लामाहरुले नृत्यमार्फत देखाउने गर्छन् ।”

तिजीमा लामाहरुले देखाइने नृत्य विशेष आकर्षण हो । अमेरिकाका दुई जना पर्यटक ल्याएर पथप्रर्दशक कर्साङ शेर्पाले तिजी पर्व अवलोकनका लागि मात्र लोमान्थाङ आउने पर्यटक धेरै भएका बताउनुभयो । लोमान्थाङ गाउँपालिकाका –५ का वडाध्यक्ष ढुढुके विष्टले तिजी पर्व अवलोकनका लागि तीन सय भन्दाबढी विदेशी पर्यटक आएका बताउनुभयो । स्वदेशी र विदेशी पर्यटकको बाक्लो उपस्थितिले लोमान्थाङमा रहेका ३५ वटा होटल भरिभराउ भएका छन् ।

माटोको पर्खालभित्र रहेको सात सय वर्ष पुरानो गुम्बा, दरबार, लोवा समुदायको संस्कृति र हिमाली जनजीवन लोमान्थाङको आकर्षण हो । उजाड पहाडको बिचमा रमथर भूगोलमा रहेको लोमान्थाङका १३आँै पुस्ताका राजाले पन्ध्राँै शताब्दीमा तिजी पर्व मनाउन सुरुवात गरेका थिए । यहाँका बासिन्दाले अझै पनि सांस्कृतिक राजा र मुखिया प्रथालाई मान्यता दिँदै आएका छन् । राजाका लामा बसेका बाहेकका सन्तान दिवङ्गत भएपछि अनिष्ठ नहोस् भनेर तिजी पूजा गर्ने परम्परा बसालेका इतिहास छ ।रासस