१२ बैशाख २०८२, शुक्रबार
,
Latest
एनएसएलको विजेताले ८० लाख पाउने हावा र सौर्य ऊर्जा क्षमता पहिलो पटक थर्मलभन्दा बढी: चीन देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्न प्रतिवद्ध छुः शिक्षामन्त्री पन्त पहलगाम आक्रमणको विरोधमा दिल्लीसहित विभिन्न शहरमा प्रदर्शन आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त : अर्थमन्त्री पौडेल टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु चाडपर्व र बिदा कटौती गरेर विद्यार्थीको पठनपाठनमा परेको असरलाई भरपाई गर्ने तयारीमा शिक्षक अब १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली स्वास्थ्य बिमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण अध्यक्ष केसीको प्रश्नः आफैँ भ्रष्टाचारमा लिप्त भएकाहरुले जनतालाई कसरी सम्झाउनुहुन्छ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन्तला बेचेर म्याग्दीमा रु २१ करोड भित्रियो



अ+ अ-

म्याग्दी । म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष रु २१ करोडभन्दा बढी भित्र्याएका छन् । सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज हो ।

म्याग्दीमा यस वर्ष उत्पादन भएको तीन हजार छ सय मेट्रिक टन सुन्तला बिक्रीबाट रु २१ करोड ६० लाखको कारोबार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी सम्झना आचार्यका अनुसार गत वर्ष रु १७ करोडको सुन्तला उत्पादन र बिक्री भएको थियो । सुन्तला प्रतिकिलो रु ५५ देखि रु ६० का दरले बिक्री भएको छ ।

बेनी नगरपालिकाबाट सबैभन्दा बढी रु तीन करोड ३८ लाखको सुन्तला उत्पादन तथा बिक्री भएको छ । मालिका गाउँपालिकाबाट रु एक करोड ३६ लाख, अन्नपूर्ण गाउँपालिका र मङ्गला गाउँपालिकाबाट क्रमश: रु एक करोड ३० लाखको दरले सुन्तला बिक्री भएको छ ।

धवलागिरि गाउँपालिकाबाट रु ३० लाख ७० हजार तथा रघुगङ्गाबाट रु २५ लाखको सुन्तला बिक्री भएको सूचना अधिकारी शर्माले बताउनुभयो । बेनी नगरपालिका–३ भकिम्ली, मरेक र राखु क्षेत्रबाट मात्रै रु दुई करोड २० लाखको सुन्तला निकासी भएको छ । बेनी नगरपालिका–४ को सिङ्गास्थित थामडाँडा, बास्कुना र सुर्केमेलाबाट रु एक करोड १० लाखको सुन्तला निकासी भएको वडा सदस्यसमेत रहेका किसान सन्दीप खत्रीले बताउनुभयो ।

म्याग्दीमा आठ सय १० हेक्टर क्षेत्रफलको जमिनमा सुन्तलाखेती गरिएकामा चार सय २० हेक्टरमा लगाइएको सुन्तलाले उत्पादन दिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले बताउनुभयो । “सुन्तलाको प्रतिहेक्टर आठ दशमलव छ मेट्रिक टन उत्पादकत्व रहेको छ”, उहाँले भन्नुभयो, “अनुकूल मौसम, रोग तथा कीराको प्रकोप नियन्त्रण, किसानलाई बीउमल, विषादी, कृषि औजार एवं सामग्रीमा अनुदान सहयोग तथा क्षेत्रफल विस्तारले सुन्तलाको उत्पादन बढेको हो ।”

कृषि ज्ञान केन्द्र, स्थानीय तहको कृषि शाखा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनका प्राविधिकले म्याग्दीका विभिन्न ठाउँमा क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरेका थिए ।

जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिनलगायतका बजारमा सुन्तला निकासी भएको बेनी नगरपालिका–३ राखुका किसान खिम पुनले बताउनुभयो । राखु, मरेक, सुर्केमेला, बरंजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा छन् ।

यातायात सुविधा भएकाले ब्यापारी सुन्तला किन्न गाडी लिएर बगैँचामै पुग्ने गरेका छन् । सुन्तलाखेती विस्तार, बगैँचा व्यवस्थापन र नर्सरी स्रोत केन्द्र स्थापनासम्बन्धी कार्यक्रमका लागि चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रले ५१ वटा फार्म, समूह र सहकारीका लागि रु ६२ लाख अनुदान दिन छनोट गरेको जनाएको छ । रासस