• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

डा सुनिल शर्माको नेतृत्वमा हुम्लामा बृहत् निःशुल्क स्वास्थ्य शिविर



सिमकोट । हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको सर्केगाडमा बृहत् नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । सो शिविरबाट एक हजार आठ सय २५ जना स्थानीय नागरिक लाभान्वित भएका छन् ।

सोमबार र मङ्गलबार आयोजित सो शिविरमा ठूलो सङ्ख्यामा स्थानीय सहभागी रहेका थिए । नेपाली कांग्रेसका नेता एवं सांसद डा सुनिल शर्मा नेतृत्वको काठमाडौँ मेडिकल कलेजका विशेषज्ञ चिकित्सकहरूको टोलीले जिल्लाको सर्केगाड गाउँपालिकामा पुगेर यहाँका स्थानीयलाई नि:शुल्क स्वास्थ्य सेवा प्रदान गरेको हो ।

पालिका केन्द्र सर्केगाडमा सञ्चालन भएको सो स्वास्थ्य शिविरमा मुटुरोग, न्यूरो, सर्जरी, पाठेघर, क्यान्सर, दम, हाडजोर्नी, निमोनियालगात सबै प्रकारका रोगको उपचार गरी नि:शुल्क औषधि पनि वितरण गरिएको सांसद डा शर्मालेलाई बताउनुभयो ।

उहाँका अनुसार जाँच गरिएका बिरामीमध्ये एक सय ४७ जनामा गम्भीर प्रकृतिको रोग देखिएकाले उनीहरूलाई काठमाडौँ मेडिकल कलेज सिनामङ्गल रेफर गरिएको र ती सबै बिरामीलाई काठमाडौँमा पनि नि:शुल्क उपचार गरिने छ ।

सो नि:शुल्क स्वास्थ्य शिविरमा सर्केगाड गाउँपालिकाका सायाँ, गोठी, दुल्ली, रिप, उनापानी, राहादेउ, भुवा, कल्लासलगायत गाउँका नागरिकले सेवा पाएका हुन् । स्वास्थ्य पहुँचमा नपुगेका र दुर्गम क्षेत्रका नागरिकले गाउँघरमै विशेषज्ञसहितको सेवा पाउँदा खुसी व्यक्त गरेका छन् ।

हुम्लाका स्थानीयले डा शर्मा नेतृत्वमा रहेका विशेषज्ञ चिकित्सकहरूको टोलीले आफ्ना गाउँघरमै आएर उपचार सेवा प्रदान गरेकामा धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरिएको बताएका थिए ।

शिविरमा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीसहित २५ जनाको टोली रहेको छ । डा शर्माले हुम्लालगायत कर्णाली र सुदूरपश्चिमका सुलभ रूपमा स्वास्थ्य सेवा नपाएका स्थानमा पुगेर नि:शुल्क सेवा दिइरहेको जानकारी दिँदै हुम्लामा देखिएको नागरिकको स्वास्थ्य अवस्था निकै नाजुक रहेको बताउनुभयो ।

उहाँले सम्भव भएका नागरिकलाई सोही शिविरमै उपचार दिने र गम्भीर रोगको आशङ्का लागेकालाई बाटो खर्चसमेत दिई काठमाडौँ बोलाइएको र सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा पनि नि:शुल्क उपचार गरिने बताउनुभयो । दुर्गमका नागरिकहरू पैसा अभावमा उपचारको पहुँचबाट बञ्चित हुन नपरोस् भनेर आफ्नो नेतृत्वमा देशका दुर्गम क्षेत्रमा समय–समयमा स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको डा शर्माले बताउनुभयो । उहाँले आज मुगु जिल्लामा यस्तै नि:शुल्क स्वास्थ्य शिविर सेवा दिने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

सो चिकित्सक टोलीले यसअघि यही वैशाख १३ गते डोटीको दिपायल र १५ गते बाजुराको तिलिचौरमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । आज मुगुको गमगढीमा र २१ गते जुम्ला र कालिकोटको सिमानामा पर्ने नाम्मामा स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभयो । रासस