१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

‘भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि’

‘भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि’
अ अ+ अ-

अर्घाखाँची । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका ऋषि खनाल अहिले पनि झस्किनुहुन्छ । जिन्दगीमा आफूमाथि ठूलो बज्रपात भएको र दैवले आफूलाई ठगेको दिनको सम्झना नआए पनि हुन्थ्यो भन्ने लाग्छ तर बेलाबेलामा झस्काइरहन्छ उहाँलाई ।

विदेश जाने भनेर घरबाट निस्कनुभएका उहाँ विदेश पुग्न त पाउनुभएन, झण्डै यस संसारबाटै सदाको लागि बिदा हुनुपरेको थियो । विदेशमा गएर धन कमाएर परिवारलाई सुखसँग पाल्ने उहाँको सपना त पूरा भएन नै । विदेश जान हिँडेकै कारण स्वदेशमै बसेर गरिखाने खुट्टा पनि गुमाउनुपर्‍यो । भाग्यले बाँचेका ऋषि अहिले आफू र परिवारलाई कसरी बचाउने भन्ने चिन्तामा हुनुहुन्छ । दुईवटा वैशाखीको भरमा उहाँको जिन्दगी चलिरहेको छ ।

विदेश जानका लागि उहाँ काठमाडौँ पुगिसक्नुभएको थियो । २०७२ वैशाख १४ गते उहाँको उडान थियो । हवाई टिकट र मेडिकल रिपोर्ट पनि आइसकेको थियो । दिउँसो नयाँबानेश्वरमा साथी भेट्ने योजना बनिसकेकाले बिहान होटलमा खाना खाएर बाहिर निस्कनै लाग्दा सिङ्गो घरै घुम्न थाल्यो । रिङ्गटा लागेर भाउन्न भएजस्तो भयो । खै के भएको हो कुरा नबुझ्दै उहाँ बस्नुभएको गोङ्गबु नयाँबसर्पाकस्थित सयपत्री होटलको भवन गर्ल्याम्मै ढल्यो ।

अलिपछि थाहा पाउँदा ऋषि खनाललाई कुनै अँध्यारो गुफाभित्र बसेजस्तो भयो । अनि देब्रे खुट्टा शरीरबाट छुट्टिएजस्तो लाग्यो । अँध्यारोमा छामछाम छुमछुम गर्दा छेवैमा कोही भेटिएजस्तो लाग्यो, तर बोली कसैको आएन । आफू बसेको होटल लडेको र आफू त्यसमै च्यापिएको उहाँलाई थाहा भयो । उहाँ सम्झनुहुन्छ, “सक्दो चिच्याए । तर अहँ कसैले सुनेन ।” अवस्था सुन्ने खालको पनि त थिएन ।

वैशाख १२ गतेको भूकम्पमा गोङ्गबु क्षेत्रमा धेरै घर भत्किएका थिए । अवस्था कस्तो थियो भने उहाँ होसमा आएको केही घण्टामा मोबाइल बज्यो तर मोबाइल झिक्न हात गोजीसम्म पुर्‍याउन सक्ने अवस्था नै थिएन । भोक प्यासको कुनै सीमा नै थिएन । बाँच्नका लागि हरसम्भव उपाय गर्दा पनि कुनै विकल्प थिएन । मर्नुभन्दा बौलाउनु निको भनेझैँ उहाँले कतिपटक त आफ्नै पिसाब पिएर पनि प्यास मेट्नुपर्‍यो ।

जतिबेला होसमा आउनुभएको थियो, त्यसपछि बाहिर निस्कन अनेक कोसिस गर्दा सम्भव थिएन । विस्तारै केही आवाज आएजस्तो सुनिन्थ्यो । अब त बाँचिन्छ कि भन्ने आश पलाउँथ्यो, उहाँ गुहार माग्दै चिच्याउनुहुन्थ्यो तर बाहिर कसैले सुन्न सक्ने अवस्था थिएन । पछि थाहा भयो, त्यो आवाज घर भत्काउन आएको डोजरको थियो । डोजरको आवाज सुन्दा पनि उहाँलाई भगवान् आएजस्तो लाग्थ्यो ।

दिनरात कुनै याद भएन । उहाँको अनुमानमा दुई दिनपछि केही शव गन्हाउन थालेका थिए । तर विस्तारै नाकले गन्ध पनि खुट्याउन छोडेको थियो । बेलाबेलामा त दिमागले पनि काम नगरेजस्तो भयो । पुरिएका बेला सबैभन्दा धेरै याद आमा र छोराको आएको उहाँ बताउनुहुन्छ । पुरिएको तीन दिनसम्म पनि आफ्नो उद्धार गर्न आउने मानिसको चाल नपाएपछि उहाँलाई बाँच्ने आश मरिसकेको थियो । उहाँलाई अब कोही उद्धार गर्न आउँछन् भन्ने पनि लाग्न छाडेको थियो ।

बेला–बेलामा आउने आवाजको पनि विश्वास लाग्न छाड्यो । शरीर पूरै सेतो भइसक्यो, छाम्दा पनि छाला नै आउँलाजस्तो लाग्थ्यो । “मानिस एकदिन मर्छ भन्ने सबैलाई थाहा छ । तर अब म मर्दैछु भन्ने अनुभूति हुँदा पनि केही गर्न नसक्दाको पीडा निकै कष्टदायी हुने रहेछ”, उहाँ भन्नुहुन्छ ।

तीन दिनपछि अचानक कतैबाट उज्यालोका किरण उहाँको आङसम्म परे । कस्तो अचम्म । अब मर्दैछु भनेर आशै मारिसकेको जीवनले नयाँ किरण देख्न पाउँलाजस्तो भयो । उहाँ सम्झनुहुन्छ, “म बोल्न सक्ने अवस्थामा थिइन । विस्तारै जीवनका किरण छिराएको त्यो प्वाल अलि ठूलो भयो । कोही बोल्यो, ‘ए ए यहाँ त कोही जिउँदै भेटिएला जस्तो छ । लाइट ल्याउ, लाइट ल्याउ, अक्सिजन ल्याउ’ आदि–आदि ।”

अलिबेरमा उहाँलाई एउटा पाइपबाट अक्सिजन आयो । अक्सिजन आउन थालेपछि खाना खाएजस्तो लागेको उहाँ सम्झनुहुन्छ । सशस्त्र प्रहरी र नेपाली सेनाले बनाएका प्वाल केहीबेरमा ठूलो भयो । कसैले उहाँको मुखसम्म पानी पुर्‍यायो । झण्डै ८२ घण्टासम्म घरभित्र च्यापिएर बसेको मानिस जसले केहीपल्ट आफ्नै पिसाब पियो उसको मुखमा पानी पर्दा कस्तो अनुभव हुँदो हो ?यसको केवल अनुमान मात्र गर्न सकिन्छ ।

वैशाख १२ गते पुरिनुभएका ऋषिको १६ गते उद्धार भएको थियो । ऋषिलाई बाहिरी दुनियाँमा आउँदा संसार जितेजस्तो लाग्यो । उहाँसँग बाँच्नको लागि पुग्दो आत्मबल थियो । उहाँ भन्नुहुन्छ, “खुट्टा नथिचिएको भए दाँतले कोट्याएर भए पनि म बाहिर निस्कन्थे होला ।” ऋषिले राति १२ बजे घरमा फोन गरे । आमाको बोली सुन्दा आवाजै निस्केन । श्रीमतीसँगको फोन वार्तामा पनि मात्र सुकसुक निस्कियो ।

गोङ्गबुमा रहेको भूकम्पले भत्किएको साततले गेष्ट हाउसले च्यापिएका जीवितै उद्धार भएको विभिन्न सञ्चारमाध्यममा समाचार पनि बन्यो । सशस्त्र प्रहरी र फ्रान्सको खोजी तथा उद्धार टोलीको १० घण्टा लामो प्रयासपछि खनालको उद्धार गरेको थियो । अहिले उहाँलाई पुर्नजीवन पाएकामा खुसीको कुनै सीमा त छैन नै तर त्यसले मात्रै छाक टर्ने रहनेछ । अहिले बाँचनका लागि पनि उत्तिकै सङ्घर्ष गरिरहनुपरेको छ । अहिले आफूलाई दैनिक जीवन गुजारा कसरी गर्ने र आफ्नो छोरालाई कसरी पढाउने भन्ने चिन्ताले पिरोलिरहेको उहाँको भनाइ छ । कहिलेकाहीँ त उहाँलाई लाग्छ, ‘बरु उति नै बेला मरेको भए आजसम्म घरकाले पनि बिर्सन्थे होलान् ।’

उपचारका लागि उहाँ पटक–पटक काठमाडौँ जानुपरेको थियो । उहाँको उपचारको क्रममा एउटा खुट्टा काटिएको छ । त्यतिबेला उपचार खर्च त सरकारले व्यहोरेको थियो तर काठमाडौँ आउजाउ, औषधि खर्च गर्दा रु पाँच लाखभन्दा बढी खर्च लागेको छ । विगत भुल्ने प्रयास गरे पनि ऋषिलाई भविष्यकै चिन्ता छ । उहाँलाई कुनै सीप सिकेर जीविकोपार्जन गर्न पाए हुन्थ्यो भन्ने लाग्दछ । काठमाडौँमा विभिन्न सङ्घसंस्थाले नि:शुल्क सीपमूलक तालिम दिने बताएका थिए तर ती संस्थाले सम्पर्क नै गरेनन्, कसैको आश गर्नुभन्दा स्वावलम्बी भएर बाँच्ने इच्छा छ ऋषिको ।

काठमाडौँमा भाडा तिरेर बस्ने र बिहान बेलुका खाने स्रोतसमेत जुटाउन नसकेर आफूजस्तै साथीहरुले सीपमूलक तालिम लिन नसकेको उहाँले बताउनुभयो । “खानेबस्ने व्यवस्था गरिदिए भूकम्पमा परेर अङ्गभङ्ग भएकाहरुले सीप सिकेर केही काम गरेर खान सक्ने थियौँ”, उहाँ भन्नुहुन्छ । सरकारले अपाङ्गहरुलाई केही गरेर भए पनि ढुक्कसँग जीवन जिउने वातावरण मिलाइदिनुपर्ने उहाँको माग छ ।

उहाँलाई कतैबाट सहयोग त आएन नै, सामान्य प्रक्रियाबाट पाइने अपाङ्ग परिचयपत्रसमेत उहाँले अहिलेसम्म पाउनुभएको छैन । “अपाङ्ग परिचयपत्र पनि पाउन नसक्ने हामी कति अभागी । ‘क’ वर्गको परिचयपत्र भए रु चार हजार मासिक त आउने थियो त्यही पनि छैन । कसले हेर्छ र हामीलाई ?सरकार र विभिन्न सङ्घसंस्थाले सहयोग गर्छ भनेर भन्छ, खै त हामीलाई सहयोग गरेको ?” आँखाभरि आँसु पार्दै उहाँले भन्नुभयोे ।

उहाँका दुई छोरा गाउँको बाल शिक्षा माध्यमिक विद्यालयमा पढ्छन् । जेठो छोरा कक्षा ४ मा र सानो छोरा बाल शिक्षा पढ्दैछन् । “मेरो बारेमा प्रचार सामग्री बनाएर धेरैले लाखौँ आम्दानी गरेका छन्”, आफ्नो दु:खकष्ट बेचेर धेरै जना लखपति भए पनि आफूलाई कसैले पनि सहयोग नगरेको ऋषिको गुनासो छ । उहाँले भन्नुभयो, “भेटेको बेला सबैले सहयोग गर्छौं भन्छन् तर कसैले गर्दैनन् । गाउँमा बसेको छु विदेश पनि जान सकिन । गोरखा भूकम्पले मेरो जीवन अधकल्चो पार्‍यो ।” रासस