२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित



अ+ अ-

खजुरा । चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा ‘लू’ चल्ने गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका अनुसार केही दिनदेखि नेपालगञ्जको अधिकतम् तापक्रम बढेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालगञ्जलगायत आसपास क्षेत्रका विभिन्न भूभागमा पाँच दिनसम्म तातो हावा चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाका अनुसार वैशाख १० देखि १४ गतेसम्म पाँच दिनको समयमा तराईका भागका केही स्थानमा तातो हावाको सम्भावना रहेको छ । तातो हावाबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न विभिन्न उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

तातो हावाबाट बच्न गर्मी समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा सेवन गर्ने, स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न भेरी अस्पतालका फिजिसियन डा पारस श्रेष्ठले आग्रह गर्नुभयो ।

अत्यधिक गर्मी हुने नेपालगञ्जमा विगत केही दिनयता तापक्रममा उतारचढाव हुने गरेको छ । दिउँसोको समयमा चल्ने सुक्खा तातो हावाका कारण जनजीवन प्रभावित बन्दै गएको छ । चर्को गर्मी र तातो हावाका कारण दैनिक ज्याला मजदुरी गरेर हातमुख जोड्ने वर्गलाई धेरै प्रभाव परेको छ । दैनिक रूपमा ठेला चलाउने, रिक्सा चलाउने तथा अन्य ज्यालादारी गर्ने मजदुरलाई समस्या परेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले बताउनुभयो ।

चर्को गर्मी र तातो हावाका कारण सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ । अत्यावश्यक काम भएका सेवाग्राही मात्र कार्यालयमा आउने गरेका छन् । भेरी अस्पतालमा पनि बिरामीको चाप बढेको डा श्रेष्ठले बताउनुभयो ।

दिउँसोको समयमा सुनसानजस्तो देखिने नेपालगञ्ज बजार साँझको समयमा भने भीडभाड हुने गरेको छ । बजारका विभिन्न चोक तथा पसलमा काँक्रो, तरबुजा, खरबुजा, लस्सी, आइसक्रिम, कुल्फी तथा चिसो पेय पदार्थ सेवन गर्ने सर्वसाधारणको सङ्ख्या उल्लेख्य देखिन्छ । रासस