• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   भिरमा मह काढेको छायाङ्कन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा ★   सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज ★   राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री दाहालको भेट, के भयो कुरा ? ★   बेइजिङमा बुद्धजयन्ती मनाइयो ★   शीर्ष नेताहरुसँग परामर्शपछि संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित संयन्त्रको बैठक बस्दै ★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई दोस्रो पटक म्याद थप्न अदालत लगिँदै ★   संकटमा सञ्जुः हैदरावादविरुद्ध राजस्थानको टोली समस्यामा पर्न सक्ने ★   प्रतिपक्षीको अवरोधकैबीच प्रतिनिधि सभाबाट आज नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी ★   आईपीएल आजः फाइनल पुग्न राजस्थान र हैदरावादबीच भिडन्त ★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा

तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित



खजुरा । चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा ‘लू’ चल्ने गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका अनुसार केही दिनदेखि नेपालगञ्जको अधिकतम् तापक्रम बढेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालगञ्जलगायत आसपास क्षेत्रका विभिन्न भूभागमा पाँच दिनसम्म तातो हावा चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाका अनुसार वैशाख १० देखि १४ गतेसम्म पाँच दिनको समयमा तराईका भागका केही स्थानमा तातो हावाको सम्भावना रहेको छ । तातो हावाबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न विभिन्न उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

तातो हावाबाट बच्न गर्मी समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा सेवन गर्ने, स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न भेरी अस्पतालका फिजिसियन डा पारस श्रेष्ठले आग्रह गर्नुभयो ।

अत्यधिक गर्मी हुने नेपालगञ्जमा विगत केही दिनयता तापक्रममा उतारचढाव हुने गरेको छ । दिउँसोको समयमा चल्ने सुक्खा तातो हावाका कारण जनजीवन प्रभावित बन्दै गएको छ । चर्को गर्मी र तातो हावाका कारण दैनिक ज्याला मजदुरी गरेर हातमुख जोड्ने वर्गलाई धेरै प्रभाव परेको छ । दैनिक रूपमा ठेला चलाउने, रिक्सा चलाउने तथा अन्य ज्यालादारी गर्ने मजदुरलाई समस्या परेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले बताउनुभयो ।

चर्को गर्मी र तातो हावाका कारण सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ । अत्यावश्यक काम भएका सेवाग्राही मात्र कार्यालयमा आउने गरेका छन् । भेरी अस्पतालमा पनि बिरामीको चाप बढेको डा श्रेष्ठले बताउनुभयो ।

दिउँसोको समयमा सुनसानजस्तो देखिने नेपालगञ्ज बजार साँझको समयमा भने भीडभाड हुने गरेको छ । बजारका विभिन्न चोक तथा पसलमा काँक्रो, तरबुजा, खरबुजा, लस्सी, आइसक्रिम, कुल्फी तथा चिसो पेय पदार्थ सेवन गर्ने सर्वसाधारणको सङ्ख्या उल्लेख्य देखिन्छ । रासस