१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु
फाईल फोटो
अ अ+ अ-

मनाङ । विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट सुरु गरिएको छ । यहाँका धेरै खर्कमा यार्सागुम्बा पाउने भए पनि खोज्न भने नासों गाउँपालिका–८ ताचैस्थित नाम्केबाट सङ्कलन थालिएको हो ।

यही वैशाख १० गतेदेखि नाम्के खर्कबाट करिब दुई सय जना यार्सागुम्बा सङ्कलनको अनुमति लिएर खर्कतर्फ गएका छन् । अनुमतिपत्रबिना औषधीय जडीबुटी सङ्कलन गर्न पाइँदैन । त्यसले गर्दा अनुमति लिएपछि मात्रै खर्कतर्फ जान दिइने गरिन्छ ।

संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष एवं नासों–८ का वडाध्यक्ष याद घलेले यार्सा पाइने नजिकको खर्कबाट वैशाख १० गतेबाट सङ्कलन सुरु हुने जानकारी दिनुभयो । उहाँका अनुसार मनाङमा यार्सागुम्बा सङ्कलन थालिने पहिलो गन्तव्य नाम्के खर्क हो । खर्कबाट यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिने निर्णय बमोजिम सङ्कलकलाई अनुमति दिइएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयको संयोजकत्वमा संरक्षण क्षेत्र व्यवस्थापन समितिले यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएपछि मात्रै खर्क जान पाउने प्रावधान रहेको छ, सोही अनुरुप यार्सागुम्बा सङ्कलनका निम्ति नाम्के खर्कमा स्थानीयका साथै बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई सङ्कलन अनुमति दिइएको छ ।”

मनाङमा वैशाखदेखि असार मसान्तसम्म यार्सागुम्बा सङ्कलन गर्ने उपयुक्त समयका रूपमा लिइन्छ । यार्सागुम्बा खोज्ने क्रममा विसं २०६६ मा नारस्थित नाम्ग्य खर्कमा गोरखाका सात जनाको स्थानीयले हत्या गरेका थिए । त्यसपछि सुरक्षा चुनौतीका कारण मनाङको साविकको नार र फुगाउँ विकास समितिमा यार्सागुम्बा सङ्कलन रोकिएको थियो । अहिले त्यस्ता घटना दोहोरिन नदिन अन्य जिल्लाका सङ्कलकलाई अनुमति दिइँदैन ।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले अहिले यार्सागुम्बा सङ्कलन गरिने भए पनि बाह्य जिल्लाका सङ्कलकलाई अनुमति नदिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षाको चुनौतीकै कारण बाह्य जिल्लाबाट आउने यार्सागुम्बा सङ्कलकलाई रोक लगाइएका छौँ, विगतमा भएको जस्तो घटना दोहोरिनु हुँदैन भनेर स्थानीयलाई मात्र सङ्कलनको अनुमति दिँदै आएका छौँ ।” यार्सागुम्बा सङ्कलनका लागि अनुमति लिन प्रतिव्यक्ति रु ३५ हजार शुल्क तोकिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले पहिले जस्तै नार र फुमा अन्य जिल्लाबाट आउने सङ्कलकलाई यार्सागुम्बा सङ्कलनमा रोक लगाइएको बताउनुभयो । उहाँका अनुसार नार्पाभूमिको नार र फु संरक्षित तथा निषेधित दुवै क्षेत्र भएकाले सुरक्षाको दृष्टिबाट पनि विगतको जस्तो अवस्था सिर्जना नहोस् भनी निर्णय गरिएको हो । जिल्लाका अन्य खर्कमा वैशाखबाट र नार्पाभूमिमा जेठबाट मात्रै यार्सागुम्बा सङ्कलन गरिन्छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि स्वीकृति दिएपछि मात्रै सङ्कलन गर्न खर्क पस्न पाउने हुन्छ । मनाङसँगै लमजुङ, गोरखा र धादिङका स्थानीय यार्सागुम्बा सङ्कलन गर्न मनाङका लेक पुग्छन् । नार घटनापछि एक्याप मनाङले यार्सागुम्बा सङ्कलनलाई व्यवस्थित बनाउँदै लगेको छ । सोही अनुरुप बाहिरी जिल्लाका सङ्कलकलाई अनुमति दिइँदैन ।

एक्यापका प्रमुख ढकबहादुर भुजेलले नार्पाभूमिका खर्कमा यार्सागुम्बा खोज्न बाह्य जिल्लाका सङ्कलकलाई अनुमति नदिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षाको चुनौतीलाई मध्यनजर गरी नार्पाभूमि, खाङ्सार र पिसाङमा पनि स्थानीयलाई मात्र यार्सागुम्बा खोजीका लागि अनुमति दिने निर्णय भएको छ ।”

सङ्कलकको सङ्ख्या कम गर्ने र कम नै सङ्कलन गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार जिल्लाका तीन स्थानका खर्कमा यार्सागुम्बा सङ्कलनमा बाह्य जिल्लाका व्यक्तिलाई रोक लगाइएको छ । स्थानीय मात्रै सङ्कलक हुँदा खर्कको सुरक्षामा सहज हुने अपेक्षा गरिएको एक्यापले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जिल्लाभित्र यार्सागुम्बा सङ्कलनको याम सुरु भएसँगै सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसलाई व्यवस्थित गर्ने कानुन भनेको यससँग सम्बन्धित निर्देशिकामा यार्सागुम्बा सङ्कलन व्यवस्थापन संरक्षण समितिले गर्ने उल्लेख छ, राज्यबाट शुल्क लिने, कर लगाउने भनेको कुरा त अधिकार प्राप्त निकायले गर्नुपर्ने हो, तर कानुनी रूपमा स्पष्ट नभएकाले यसलाई उपयुक्त फोरममा उठाउनुपर्छ, यो जल्दोबल्दो विषय भएकाले अहिलेलाई साविकमा जे भएको छ, त्यही किसिमले जान उपयुक्त हुन्छ होला हाम्रो बुझाइ छ ।”

जिल्ला समन्वय प्रमुख, पालिकाका अध्यक्षहरू, सुरक्षा निकायका प्रमुख र संरक्षण समितिका पदाधिकारी बैठकमा सहभागी हुनुहुन्थ्यो । बैठकमा संरक्षण समितिका पदाधिकारी सुरक्षाका सवालमा अग्रपङ्क्तिमा रही जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको थियो ।

प्रजिअ लामिछानेले भन्नुभयो, “सुरक्षाकर्मी छन् भनेर सोच्यो भने कहीँ पनि सुरक्षा हुँदैन, हाम्रो सुरक्षाकर्मी तपाईँको साथमा हुनुहुन्छ, ती सूचना समयमा दिने, आवश्यक सहयोग र समन्वय गर्ने कुरामा सहमति भएको छ ।” उहाँले अधिकारको उपयोग गर्नमा संरक्षण समितिका पदाधिकारी नै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

संयुक्त बैठकले निर्णय गरेबमोजिम पुर्जी काटेर सङ्कलन अनुमति दिइन्छ । पुर्जी काटिसकेपछि मात्रै स्थानीय तथा बाह्य जिल्लाबाट आउने सङ्कलकलाई सहज रूपमा खर्कतर्फ जान अनुमति संरक्षण व्यवस्थापन समितिले जनाएको छ । चार स्थानीय तह रहेको मनाङमा धारापानी र थोँचेबाहेक सबै लेकमा यार्सागुम्बा पाइन्छ । मनाङमा यार्सागुम्बा पाइने क्षेत्रमा सङ्कलन गर्न जाने सङ्कलकले १० वटा यार्सागुम्बा टिपिएकामध्ये एउटा सोही स्थानमा छाड्नुपर्ने प्रावधान निर्धारण गरिएको छ ।

मनाङको नाम्ग्य खर्क, किन्चो लेक, याक खर्क, पिसाङ लेक, फु लेकलगायतका खर्कमा यार्सागुम्बा बढी पाइने स्थान हुन् । यार्सागुम्बा सङ्कलन कार्य नाम्ग्य खर्कबाट सुरु भई नार, फु र माथिल्लो मनाङको खाङ्सार खर्कमा सकिने छ । असारको पहिलो सातासम्म यार्सागुम्बा सङ्कलन कार्य सकिन्छ । रासस