२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रङ्गशाला निर्माण सम्झौता भङ्ग गर्ने राखेपको निर्णयप्रति जनकपुरधाम उपमहानगरको विरोध



अ+ अ-

जनकपुरधाम । धनुषाको जनकपुरधामस्थित श्री रामजानकी बहुउद्देश्यीय रङ्गशाला निर्माणका लागि जग्गा बहालसम्बन्धी सम्झौता भङ्ग गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्णयप्रति जनकपुरधाम उपमहानगरपालिकाले विरोध जनाएको छ ।

उपमहानगरपालिकाले आज एक विज्ञप्ति जारी गरी राखेपले जनकपुरधाम–१४ मा रगङ्शाला निर्माण गर्ने भनी गुठी संस्थानसँग गरिएको जग्गा बहाल सम्झौता एकपक्षीय ढङ्गले भङ्ग गर्ने निर्णय गरेको भन्दै विरोध जनाएको हो । रङ्गशाला निर्माणमा प्रतिबद्ध रहेकै बेला उपमहानगरपालिका र नगरप्रमुखलाई जोडेर जानाजान रङ्गशालाको जग्गा भाडा सम्झौता भङ्ग गरिएको भ्रामक प्रचारप्रति उपमहानगरपालिकाको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

“रङ्गशाला निर्माणका लागि जनकपुरधाम उपमहानगरपालिकाको लाखौँ रकम लगानी भई प्रचारका लागि विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिसकेका छौँ । राखेपले उपमहानगरपालिकालाई कुनै जानकारी नदिइ एकपक्षीय तरिकाले भाडा सम्झौता भङ्ग गर्नु अत्यन्त गलत छ”, विज्ञप्तिमा भनिएको छ ।

रङ्गशाला निर्माणमा जनकपुरधाम उपमहानगरपालिकाको विशेष चासो रहेकाले राखेपले गुठी संस्थानसँगको सम्झौता भङ्ग गरिए पनि सोही जग्गामा रङ्गशाला निर्माण गरिछाड्ने र त्यसका लागि तीनै तहका सरकारसँग समन्वय गरी दीगो व्यवस्थापनमा जोड दिइने पनि उपमहानगरपालिकाको प्रतिबद्धता छ ।

त्यसैगरी खेलकुद परिषद्ले आर्थिक अभावलगायत कारण देखाएर सम्झौता भङ्ग गर्ने प्रक्रिया अगाडि बढाएकामा यस कार्यमा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख तथा अन्य कुनै पदाधिकरीको संलग्नता नरहेको उपमहानगरपालिकाले जनाएको छ ।

“राखेपको निर्णयमा उपमहानगरका प्रमुख र अन्य कुनै पनि पदाधिकारीको संलग्नता छैन । त्यसैले उपमहानगरलाई दोषारोपण गरी चरित्र हत्या गर्न सामाजिक सञ्जालको दुरुपयोग नगर्न पनि आग्रह गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

राखेपले विभिन्न कारण जनाई केही दिनअघि मात्रै जग्गा बहाल सम्झौता भङ्ग गर्न चाहेको भन्दै गुठी संस्थान केन्द्रीय कार्यालयलाई आवश्यक प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको जनाइएको छ । रासस